स्वादिलो टोखाको चाकु : युरोप, अमेरिका र अष्ट्रेलियासम्म रुचाइयो


सविता नयाँजू

काठमाडौँ, १४ पुस । चाकु माघे संक्रान्ति अर्थात् जाडो याममा धेरै सेवन गरिने परम्परागत एवम् मौलिक परिकार हो । सामान्य रुपमा अन्य समयमा यसको प्रयोग भएता पनि माघे संक्रान्तिको बेला बढी खपत हुने गर्छ ।

काठमाडौँ उपत्यकाभित्र पनि टोखाको चाकु बढी लोकप्रिय छ । चाकु भन्नेबित्तिकै टोखा भन्ने बुझ्ने चलन छ । यद्यपि, टोखा चाकुको लागि प्रख्यात ठाउँ हो ।

टोखामा अहिले १४ वटा चाकु उद्योग सञ्चालनमा छन् । माघे संक्रान्तिमा बढी चाकुको माग हुने भएकाले तिहारलगत्तै चाकु बनाउने काम धमाधम भइरहेको छ । विगतमा दुई प्रकारको चाकु बनाए पनि अहिले माग अनुसार १६ किसिमका चाकु बनाउने गरिएको छ ।

टोखाले चार पुस्तादेखि ऐतिहासिक, पौराणिक र मौलिक चाकुको स्वादलाई अहिलेसम्म निरन्तरता दिइ रहेको टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चाकु व्यवसायले निरन्तर चार पुस्ता टेकेको छ । माघे संक्रान्तिमा चाकु खानुपर्छ भन्ने भाष्य समाजमा हरेकाले तिहारलगत्तै यो दुई महिना चाकुको अत्याधिक बजारमा पठाएका छौँ । चार पुस्तासम्म पेशामा निरन्तर लागि रहेका छौँ । पेशा मात्र नभएर ऐतिहासिक, पौराणिक र मौलिक स्वादलाई अहिलेसम्म निरन्तरता दिइरहेका छौँ ।’

चाकुले शरीरलाई तातो बनाउने र बलियो बनाउने हुँदा चिसो मौसममा यसको खपत बढी हुने गरेको उहाँले बताउनुभयो । चाकुको उत्पादन दुई महिना मात्र भए पनि दुई महिनाको आम्दानीले ६ महिनासम्म खान पुग्ने श्रेष्ठको भनाइ छ । उहाँले यो अवधिमा २५ देखि ३० जनालाई रोजगारी दिने गरेको पनि बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो समय राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रिय जगतमा पनि चाकु निर्यात गर्ने गरेको छ । अष्ट्रेलिया, जापान, कोरियालगायत बढी चिसो हुने देशहरुमा चाकु बढी मात्रामा जाने गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय स्तरमा मात्र नभइ अन्तर्राष्ट्रिय जगतमा पनि टोखाको चाकुको माग बढेको छ । वर्षमा कति उत्पादन हुन्छ भन्ने कुराको तथ्यांक छैन । यहाँ अफ सिजन हुँदा बाहिर देशमा सिजन हुन्छ । सोही अनुसार निर्यात गर्ने पनि गरेका छौँ । अष्ट्रेलिया, जर्मन, जापान, कोरिया जस्तो चिसो हुने देशमा चाकुको माग बढी हुन्छ ।’

उहाँले चाकुको प्रकार अनुसारको मूल्य फरक हुने गरेको उहाँले बताउनुभयो । चाकु व्यवसायले नेपालको अर्थतन्त्रलाई ठुलो सहयोग गर्ने गरेको भए पनि सरकारले त्यती ध्यान नदिएको पनि उहाँको गुनासो छ । उहाँले आफूहरुले दिएको करबाटै हामीलाई अनुदान दिएको भए पनि सहयोग गर्न असहज मान्ने गरेको उहाँले आक्रोश व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय सरकारले व्यवसायलाई हेरेको छ जस्तो लाग्दैन । हामीले तिरेको कर हामीलाई नै दिने हो । १० लाख माग गर्‍यौँ भने दुई लाख आउँछ । स्थानीय सरकारले चासो नै दिएको छैन । नेताहरुले भाषण मात्र गर्ने हो काम कसैले गर्दैन । अनुदानको नाममा हामीबाट चाकु नै लिएर जानुहुन्छ ।’

यसको साथै, बाहिर पठाउने चाकुको ल्याब टेस्ट पनि भारतमा गएर गर्नुपर्ने अवस्था रहेको भन्दै नेपालमा नै यसको व्यवस्था गर्नसके व्यवसायीहरुलाई सहज हुने श्रेष्ठको भनाय छ ।

-नेपाल न्यूज बैंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *