इँटा उद्योगका मजदुर भन्छन्- पारिश्रमिक थोरै भएपनि बाँच्नै परेको छ

काठमाडौँ, १४ पुस । काठमाडौँ उपत्याकाभित्रका इँटा उद्योगहरुमा इँटा निर्माणको काम सुरु भएको छ । यही माघ १ गतेदेखि भट्टाहरुमा इँटा पोल्ने काम सुरु हुने व्यवसायीहरुको भनाइ छ ।

इँटा बनाउका लागि नेपालका विभिन्न जिल्लाहरुबाट मजदुरहरु उपत्यका भित्रिरहेका छन् । तर, जोखिमपूर्ण मानिने इँटा बनाउने कामप्रति मजदुर त्यति खुसी छैनन् । जीवन गुजारा चलाउन उद्योगहरु राम्रो भए पनि पारिश्रमिका हिसाबले मजदुर सन्तुष्ट छैनन् ।

काभ्रेबाट आउनुभएका शिव बहादुर तामाङले ६ वर्षदेखि इटा बनाउँदै आए पनि पारिश्रमिकमा सन्तुष्ट हुन नसकेको बताउनुभयो । ‘मैले इँटा बनाउन थालेको ६ वर्ष भयो । पहिला र अहिले काममा धेरै भिन्नता आइसकेको छ । पहिला आफैँले माटो मुछेर काम गर्नुपर्ने थियो, धेरै दुःख हुन्थ्यो । अहिले मेसिनहरुका कारण केही सहज भएको छ,’उहाँले भन्नुभयो,‘तर इँटा बनाउन जति दुःख छ त्यति पारिश्रमिक छैन । हजारवटा इँटा बनाएको १२ सय ५० आउँछ । दिनमा दुई हजारदेखि २५ सय इँटा बनाउन सकिन्छ । बिहान २ बजेदेखि रातको ११ बजेसम्म खट्छु तर पारिश्रमिक दुःख गरेअनुसार छैन ।’

शिव बहादुरका अनुसार रासनपानी खानका लागि दश दिनलाई हप्ता मानेर दुई हजारदेखि चार हजारसम्म दिइएको हुन्छ । उहाँले भन्नुभयो,‘काम गरेको पूरै पैसा काम सकिएपछि वैशाखतिर मात्र आउँछ । जति धेरै इँटा बनायो, उत्ति पैसा आउँछ । डेढ लाख जति बनायो भने एकलाख ७५ हजार रुपैयाँ आउँछ । दुई लाख बनायो भने दुई लाख ५० हजार पैसा हुन्छ । दुःख गरे अनुसार यो पैसा थोरै नै हो ।’

अन्यन्त्र रोजगारी नभएका बेला इँटा बनाउने कामले आफूहरुलाई सन्तुष्टि दिएको मजदुरहरुको भनाइ छ । ‘अन्त काम छैन । सिजनका बेलामा अलिअलि भए पनि कमाइहुन्छ । बालबच्चा पाल्नुपर्‍यो । आफूले पनि खानैपर्‍यो । सिजनका बेला भट्टामा आउँछु । भट्टा सिजन सकिएपछि बाहिरतिर काम खोज्नुपर्छ,’ उहाँले भन्नुभयो ।

बजारमा पाकेको इँटाको १४ देखि १५ रुपैयाँ रहेको उहाँले सुनाउनुभयो । इँटा व्यवसायबाट साहुहरुलाई पनि समस्या नै भएको उहाँको भनाइ छ । ‘हुनतः साहूहरुलाई पनि धेरै गाह्रो होला । जग्गाको भाडा तिर्नुपर्‍यो, माटो किन्नुपर्‍यो, इँटा बनाउने र बोक्नेहरुलाई पैसा दिनैपर्‍यो,’ उहाँले भन्नुभयो,‘तर हाम्रो श्रम अनुसारको पारिश्रमिक न्यून हो । कम्तिमा एक हजार इँटा बनाएको १५ सय हुनुपर्ने हो तर १२ सय ५० मात्र पाएका छौँ । हामीलाई घाटा छ । एक बोरा चामलको २५ सय पर्छ । सबै खाद्य सामग्री महँगो छ ।’

यता, इँटा उद्योगीहरुका आफ्नैखाले समस्याहरु छन् । धेरैले रोजगारी पाएपनि व्यवसायमा धेरै समस्याहरु रहेको भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्वाको भनाइ छ ।

‘उद्योगका कारण मजदुरहरुको अवस्था सुधारिएको छ । शिक्षाको क्षेत्रबाट बञ्चित भएका, आर्थिक स्तर कमजोर भएकाहरुलाई इँटा उद्योगले रोजगारी दिलाएको छ । रोल्पा, रुकुम, सल्यानपूर्व तिरको विकट जिल्लातिरका मजदुरहरुका लागि उद्योगले आर्थिक स्तरमा सुधार ल्याएको छ,’ अध्यक्ष ह्योम्वाले भने,‘मजदुर मात्र होइन स्थानीय ठाउँकै आर्थिक स्तरमा वृद्धि भएको छ । ३० हजार कामदारले रोजगारी पाएका छन् । एक सिजनमा भक्तपुरमा मात्रै तीन करोड रुपैयाँसम्म मजदुरहरुलाई वितरण गरेको रेकर्ड छ ।’

जति संख्यामा इँटा बनाए उत्ति नै पारिश्रमिक दिने गरेको उहाँले बताउनुभयो । श्रीमान्–श्रीमती नै मजदुरी गर्नेहरुले दिनमै ३६ सय रुपैयाँसम्म वितरण गरेको उहाँले सुनाउनुभयो ।

इँटाको मूल्य निर्धारण इटाको गुणस्तर अनुसार हुने गरेको उहाँले बताउनुभयो । तर, इँटा स्टक बस्दा व्यवसायीहरु मारमा परेको उहाँको भनाइ छ । ‘इँटा चारपाँच वर्षदेखि नै स्टक बसिरहेको छ । तर, मजदुरलाई दिनुपर्ने सेवा सुविधा दिनैपर्छ । दुर्घटना बिमा भनेर ६ महिनाको एकमुष्ठ बिमा कम्पनीलाई पैसा बुझाएका छौँ । मजदुरका छोराछोरीलाई शिशु स्याहार खोलेका छौँ । मजदुरहरुलाई पहिलेको जस्तो छैन । धेरै परिवर्तनहरु आएको छ । अहिले माटो मुस्नु पर्दैन । खन्नु पर्दैन । पहिले माटो खनेर खाल्डोमा गएर कुल्चेर पानी हालेर माटो मुस्न पर्थ्यो । अहिले सबै ठिक बनाएर ल्याइदिन्छौँ । हिलो बनाएर इँटा पार्न ठिक्क पार्दिन्छौँ । त्यसलाई इँटा बनाउने मात्र काम हो,’ उहाँले भन्नुभयो,‘परिश्रमका हिसाबले मजदुरहरुको आर्थिक अवस्थामा पनि धेरै सुधार आएको छ ।’

अध्यक्ष ह्योम्वाले इँटा उद्योग सिजनल भएकाले ट्याक्समा आफूहरुलाई मार परेको बताउनुभयो । उद्योगी र सरकार मिलेर जानुपर्नेमा आफूहरु मारमा परेको उहाँले सुनाउनुभयो । तर, सरकारले उद्योगमा सहजीकरण गरे मजदुरहरुको समस्या समाधान गर्न कठिन नहुने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *