आमाले खाएको खानाबाट गर्भमा रहेको भ्रूणले पनि स्वाद लिने गरेको वैज्ञानिकहरुको निष्कर्ष

    आमाले खाएको खानाबाट गर्भमा रहेका भ्रूणले पनि स्वाद लिने गरेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।बेलायतको डरम युनिभर्सिटीको द नियोनेटल रिसर्च ल्याबले भ्रूणले विभिन्न स्वादमा प्रतिक्रिया व्यक्त गरेको प्रत्यक्ष प्रमाण पहिलो पटक अभिलेखीकरण गरेको बीबीसीले जनाएको छ ।साइकोलजिकल साइन्स जर्नलमा प्रकाशित विवरणमा आमाले गाँजर खाँदा गर्भमा रहेको भ्रूण प्रशन्न भएको र आमाले केलको साग खाँदा ठुस्स परेको उल्लेख छ ।

    एक सय जना गर्भवतीमा गरिएको परीक्षणमा आमाले खानेकुरा खाएको २० मिनेटपछि भ्रूणको प्रतिक्रिया देखिएको छ । केही नखाएका आमाको गर्भमा रहेका भ्रूणले भने प्रतिक्रिया नजनाएका रिपोर्टमा उल्लेख छ । आमाले खाएका खानाका कारण गर्भमा भ्रूणहरु वरिपरि हुने तरल पदार्थमा विभिन्न स्वाद हुने भएकाले त्यसो हुनसक्ने विज्ञहरुले बताएका छन् ।

    आमाले खाने खानाबाट भ्रूणले कस्तो पोषण पाउँछ र बच्चाको स्वास्थ्य विकासका लागि यो निकै आवश्यक छ भन्ने कुरा यसअघिका अनुसन्धानहरूबाट थाहा पाएको भए पनि स्वाद लिने कुरा पहिलोपटक थाहा भएको अनुसन्धान टोलीकी प्रमुख नादिया राइस्लान्डलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    शिशुहरुले सामान्यतया १४ हप्तापछि स्वाद थाहा पाउने उहाँले बताउनुभयो । यो अध्ययन जन्मने बच्चामा खानेकुराको बानी पार्नको लागि महत्त्वपूर्ण हुने वैज्ञानिकहरुको भनाइ छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *