स्वस्थकर दीर्घ जीवनका लागि धेरै कुरामा ध्यान दिनु अनिवार्य छ । तर हामीले साना–ठूला गल्तीहरु गरिरहेका हुन्छौं । हामीले दैनिक जीवनमा गर्ने यस्ता गल्तीले हाम्रो जीवनलाई अस्तव्यस्त र अस्वस्थ बनाउन सक्छ । जीवनचर्याका लागि हामीले यस्ता गल्तीहरुमा सुधार्न अति आवश्यक छ । यहाँ तपाईं–हामीले सुधार्नुपर्ने गल्तीहरुका बारेमा चर्चा गर्न लागेको छु ।
गल्ती १: एउटा नपच्दै अर्को खाना खाने, चाहिनेभन्दा बढी खाने
हामी खानपानमा आपूmले आपैंmलाई सम्हाल्न सक्दैनौं । एउटा खाना पच्न नपाउँदै पुनः खान थालिहालेका हुन्छौं । घरमा पटक–पटक खाइरहने बानी धेरैको हुन्छ । अझ कैयौँले जंक पूmड पनि बारम्बार खाने गर्छन् । खानाको लगत्तै चिसो पेय वा चिया–कफी पिउने बानी पनि कैयौंको रहेको हुन्छ । कतिपय अवस्थामा नाइँ भन्नै नपाउने वा नमिल्ने अवस्था पनि हुँदो रहेछ ।
म मेरै अनुभव राख्न चाहन्छु, धेरै पहिलेको कुरा हो, म भर्खरै बिहे गरेको समयमा श्रीमतीको माइततिरका आफन्तहरुको घरमा भेटघाटका क्रममा जाँदा एकै दिन धेरै जनाको घरमा जानुपर्ने भयो । यसरी घर–घरमा पुग्ने क्रममा कसैले कोल्ड ड्रिंक्स, फान्टा, स्प्राइट, कोक त कसैले चिया, कसैले सर्बत, कसैले दूध आदिले स्वागत गरे । साथमा मिठाई, निम्की, बिस्कुट आदि पनि । नयाँ ज्वाइँ, सोझो बन्दा नाइँ भन्न सकिएन । कर गरेर खुवाउँदा उक्त राति पेट खराब भएर निकै नै सास्ती भोग्नुपरेको थियो र कैयौँ दिनसम्म पनि पेट गडबडीको समस्या भैरह्यो । तर त्यसपछि म यस विषयमा सतर्क हुने गरेको छु ।
चाहे घरमा होस् वा बाहिर, एउटा खाना पचेपछि मात्र अर्को खाना खानुपर्छ । अन्यथा अपच, ग्यास्टिक, मोटोपन, मधुमेह, मुटुरोग हुन सक्छ । यस विषयमा मेरो जस्तो यस्तै समस्या अरुलाई पनि परेको हुन सक्छ । हामीले अहिलेका भोजभतेर वा पार्टीमा पनि यस्तै देख्छौं । पहिले चिसो (कोल्ड ड्रिंक्स, जुस आदि) वा तातो पेय (चिया, कफी, सूप आदि) को व्यवस्था हुन्छ ।
तत्पश्चात स्टार्टर वा स्न्याक्सको नाममा विभिन्न प्रकारका तारेभुटेका साकाहारी र मांसाहारी खानपानहरुका साथमा फेरि चिसो पेय, बियर, वाइन, रक्सी आदि वितरण गरिन्छ । यसरी नै पानीपुरी, आलुटिकिया, चटपटे, डोसा, बर्गर आदि विभिन्न खालका खानेकुरासमेत राखिएको देखिन्छ ।
यसपछि मेन कोर्स वा डिनर–लन्चका नाममा मुख्य खाना खुवाइन्छ । यस्ता खानपानमा पनि धेरै प्रकारका परिकारहरु राख्ने होडबाजी छ । मुख्य खानापछि पुनः अन्त्यमा डेजर्टको नाममा दही, मिठाई (जलेबी, रसवरी, लालमोहन, हलुवा, पेडा आदि) तथा आइसक्रिमसमेत खुवाउने व्यवस्था हुन्छ । यतिमात्र नभएर कतिपय ठाउँमा अन्तिममा मीठा पान पनि राखेको भेटिन्छ । बिचरा पेटले कति थामोस्, नियन्त्रण गरेर खान नजान्ने वा नसक्नेले एकै दिन वा लगातारको भोजका कारण स्वास्थ्यमा गम्भीर समस्या भोग्ने निश्चित हुन्छ ।
गल्ती २: कहिले बढी व्यायाम गर्ने त कहिले गर्दै नगर्ने
व्यायाम शरीरको लागि अति नै आवश्यक छ । तर व्यायाम गर्न नजान्दा, शरीरको आवश्यकता वा क्षमता अनुसार नगर्दा हानि पुग्छ भन्ने जान्नुपर्छ । त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा कहिले व्यायाम धेरै गर्ने तर कहिले कत्ति पनि नगर्ने बानी पनि निकै हानिकारक हुन्छ । शरीरको आवश्यकता, क्षमता, अवस्था, उमेर आदिलाई ध्यान नदिँदा पनि व्यायाम घातक बन्न सक्छ । व्यायाम गर्ने बानी परेका व्यक्तिहरुमा पनि यी सबैमा विचार नगरेका कारण व्यायाम गर्दागर्दै वा व्यायाम गरेकै कारणले हृदयघात, मस्तिष्कघात आदि भई खतरापूर्ण अवस्थामा पुग्न सक्छन् ।
बेलाबखतमा हामी यस्ता घटनाहरु देख्न-सुन्न सक्छौं । केही समयअघि छिमेकी मुलुक भारतमा व्यायाम गरेकै कारणले दुईजना चर्चित कलाकारहरु बेहोस भई ढल्न पुगेका थिए, जसको मृत्यु नै भएको थियो । नेपालमा पनि कैयौँ व्यक्तिले ब्याडमिन्टन, टेनिस आदि खेल्दाखेल्दै, जिम गर्दागर्दै वा ट्रेडमिलमा व्यायाम गर्दागर्दै तथा नाच्दानाच्दै हृदयघात तथा अन्य समस्याहरु उत्पन्न भई गम्भीर समस्यामा पर्ने गरेको वा ज्यान नै गुमाउनुपरेको पाउन सकिन्छ ।
आफुखुशी व्यायाम नगरी प्रशिक्षक वा गुरुको रेखदेखमा व्यायाम गर्नुपर्छ । रोग भएकाहरुले वा शरीरको असामान्य वा विशेष अवस्थामा चिकित्सकसँग परामर्श गरी अभ्यास गर्नुपर्छ । अंगअंग चलाउने सूक्ष्म वा सरल खालका व्यायामहरुको अभ्यास स्वयं पनि गर्न सकिन्छ तर थाक्ने खालका व्यायामहरु गर्दा सतर्क हुनु अनिवार्य छ । ठिक्क मात्रामा व्यायाम गर्नुपर्छ । व्यायाम अनियमित हुन नदिन बिहान नभ्याएमा अरु समयमा पनि गर्न सकिन्छ ।
कमसेकम बीस मिनेटदेखि एक–डेढ घण्टासम्म शरीरमा चाहिने खालका व्यायाम गर्नुपर्छ । डेढ–दुई महिनाजति बानी हुँदै गएपछि थाक्ने र पसिना आउने गरी व्यायाम गर्न सकिन्छ । कतिपय व्यक्तिले भुँडी घटाउन वा शरीरको तौल घटाउन निकै हतार गरेको देखिन्छ, तर याद गर्नुपर्छ कि त्यसरी भुँडी बढ्न वा तौल बढ्नमा पनि निकै समय लागेको छ, घटाउनमा पनि धैर्यता चाहिन्छ ।
गल्ती ३: शरीरलाई चाहिने मात्रामा हावापानी नपिउने
हामीले शरीरलाई स्वस्थ राख्न चाहन्छौं भने उचित मात्रामा हावा र पानी पिउनु जरुरी छ । यहाँ हावा पिउनेको अर्थ हो– लामो–गहिरो श्वासप्रश्वासका माध्यमले शरीरमा अक्सिजनको मात्रा बढाउनु र रक्तशुद्धि गर्नु । कछुवा प्रत्येक क्षण लामो–गहिरो श्वासप्रश्वास अर्थात् प्रतिमिनेट सरदर ५ पटक श्वास फेरेकै कारण करिब ३०० वर्षभन्दा पनि बढी बाँच्ने तथ्य छ ।
हामीले पनि नियमित दिनहुँ हरेक क्षण (एकछिन् प्राणायाम गर्दा मात्र हैन) नियमित श्वास लामो बनाउने गर्नुपर्छ । बिहान एकछिन् तीव्ररुपमा, बलपूर्वक, गहिरो श्वासप्रश्वाससमेत लिन सकिन्छ । दिनभर र राति पनि श्वासलाई सूक्ष्म र दीर्घ बनाउने प्रयास जारी राख्नुपर्छ । यसबाट शरीरको शुद्धि हुने मात्र हैन, मन पनि निकै शान्त र तनावरहित बन्न पुग्छ । श्वासप्रश्वासबाट मात्र हैन, बेलाबखत शरीरमा हावाको झोका पनि पार्नुपर्छ, वायुस्नान पनि लाभदायक हुन्छ ।
यसरी नै शरीरमा पानीको निकै महत्त्व छ । उमेर, शरीरको उचाइ, मौसम, कामको प्रकृति र शरीरको अवस्था आदिका आधारमा समेत एक व्यक्तिलाई पानी कति आवश्यक पर्छ भन्ने निर्धारण गर्न सकिन्छ । एक वयष्क व्यक्तिका लागि दैनिक करिब तीन लिटर पानी आवश्यक छ ।
पानी पिउँदा रगत सफा हुने, शरीरको विकार निस्कने, पिसाब सफा हुने र कैयौँ रोगहरुमा औषधिकै रुपमा काम गर्ने हुन्छ । त्यसैले कमसेकम दैनिक अढाई–तीन लिटर पानी पिउने बानी गर्नुपर्छ । पसिनाको मात्रा बढी निस्केको समयमा र घाम वा चर्को गर्मीमा काम गर्ने बेलामा यसको मात्रा सोही अनुरुप अझै बढाउनुपर्छ । बिहान उठ्नासाथ करिब दुई–तीन गिलास (आधा–एक लिटर) पानी पिउने र अरु बेला पटक–पटक पानी पिइरहनुपर्छ ।
जीउ सुन्निएको अवस्था, मृगौलाको गम्भीर समस्याका बेला कम पानी पिउनुपर्छ वा चिकित्सकको सल्लाह अनुसार गर्नुपर्छ । कहिले बढी पानी पिउने, कहिले अति थोरै पानी पिउने गर्न पनि हुँदैन । पिसाब पहेँलो हुने, पोल्ने, मुत्रमार्गको संक्रमण, मृगौला वा मुत्रमार्गमा पत्थरी हुने, मुत्राम्ल, ग्याष्टिक, कब्जियत, पाइल्स जस्ता समस्याहरुमा सामान्य बेला भन्दा एकदुई लिटर पानीको मात्रा बढाउनु पर्छ ।
गल्ती नं. ४: रिस, राग, घमण्ड, ईष्र्या र नकारात्मकताले ग्रस्त हुने
जबसम्म मानिसमा सकारात्मक भाव हुँदैन तबसम्म शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो हुँदैन । अनावश्यक लोभ, मोह, आशक्तिले समस्या सृजना गर्न सक्छ भने रिस, घमण्ड, ईश्र्या र नकारात्मक सोच आदिले मानसिक रोग मात्र हैन कडा शारीरिक तथा अनेक मनोशारीरिक समस्याहरुसमेत जन्माउन सक्छ ।
सकारात्मक भावले सकारात्मक सोच र सकारात्मक सोच वा विचारले सकारात्मक व्यवहार वा कर्मको जन्म दिन्छ । तसर्थ करुणा, प्रेम, सद्भाव, आत्मीयता, शान्ति, आनन्द, सुख, मैत्री आदि भावहरुको वृद्धि गर्ने खालका क्रियाकलापहरुको प्रयोग गर्न आवश्यक छ । नकारात्कम भाव, सोच र व्यवहारले स्वास्थ्य मात्र हैन जीवनलाई नै दुर्गतितर्फ लैजान्छ । त्यसैले सकारात्मक हुने अभ्यास गर्नु अति आवश्यक छ ।
यसका लागि उपयुक्त व्यक्तिहरुको संगत, हरेक परिस्थितिप्रति सहजता, लक्ष्यहरुप्रति निरन्तरता, म सक्षम छु भन्ने आत्मविश्वास, कर्महरुमा निष्ठावान्, उचित मेहनतजस्ता उपायहरुको समेत अवलम्बन गर्नुपर्छ । नकारात्मकता भनेको चित्तको अशुद्धि वा विकार हो । हाम्रा पूर्वीय दर्शनले अन्तष्करण चतुष्टय (मन, बुद्धि, चित्त र अहंकार) लाई शुद्ध, प्रकाशवान् र सन्तुलित पारी चित्तवृत्ति निरोध गर्न (चित्तमा आएका विचारका तरंगहरुलाई रोक्न) विभिन्न उपायहरुको व्यवस्था गरेको छ । योग यसको एक विज्ञान हो । यसको नियमित अभ्यासले समग्र सोचलाई व्यवस्थित गर्न सहयोग गर्छ । यसरी नै सकारात्मकताका विधिहरुको तालिम, प्रयोग र साधना गर्न अवश्यक छ ।
गल्ती ५: समय व्यवस्थापन गर्नै नजान्ने
समय सबैभन्दा बलवान् छ । समय अति महत्त्वपूर्ण भएर पनि यसको उचित व्यवस्थापन गर्न नजान्नाले जीवनका हरेक क्षेत्रमा पछि पर्ने सम्भावना रहन्छ । स्वास्थ्य, बौद्धिक, आर्थिक, ज्ञानविज्ञान, शिक्षा, कृषि आदि क्षेत्रमा समयको सही व्यवस्थापन गर्न नसक्दा नै अनेक समस्या आइपर्छ । त्यसैले यसप्रति अत्यन्त जागरुक हुनुपर्छ । उठ्ने, उषापान गर्ने, शौच, सरसफाइ तथा स्नानादि गर्ने, योग अभ्यास, प्रातः भ्रमण, व्यायाम गर्नेजस्ता बिहानै गर्ने कामहरुलाई समय छुट्याउनुपर्छ ।
यसरी नै घरायसी वा अफिसको कामलाई अझ राम्ररी गर्ने योजना तथा कार्यान्वयनका लागि समय छुट्याउनुपर्छ । व्यक्तिगत विकास, पारिवारिक सन्तुलन तथा आत्मीयता सद्भाव एवं मनोरञ्जनका लागि समेत समयको व्यवस्था गर्नु जरुरी छ । समाजसेवा, साथीभाइ, आध्यात्मिक क्रियाकलाप, संस्कार, नातागोता आदिका लागि समेत समय दिनुपर्छ । समयमा काम गर्न नसक्दा, समयमा आप्mनो शारीरिक जाँच गर्न नसक्दा, समयमै अरुसँग प्रतिस्पर्धा गर्न नसक्दा, समयमा आफूलाई अपग्रेड गर्न नसक्दा जीवन निकै पछाडि धकेलिन्छ वा अनेक जटिलताहरु आउन सक्छन् । समयमा सही निर्णय गर्न नजान्दा त्यसबाट निकै पश्चात्ताप गर्ने अवस्था आउन सक्छ । जीवनका हरेक क्रियाकलाप तथा आयामहरुमा समय व्यवस्थापन गर्न सकेमा जीवन रमाइलो र व्यवस्थित हुन्छ ।
समय व्यवस्थापनका लागि बिहान उठेदेखि सुत्ने बेलासम्मको काम वा क्रियाकलापहरुको दैनिक रुटिन बनाएर आँखा पर्ने ठाउँमा टाँसेर राख्नुुपर्छ । यसरी नै साप्ताहिक, मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक योजना, लक्ष्य, कार्यान्वयन गर्ने प्रक्रिया आदिका बारेमा समेत लेखेर राख्नुपर्छ । यसबाट समय व्यवस्थापनमा ध्यान जान्छ । आप्mनो काम, पेसा, गतिविधि र प्राथमिकताका आधारमा समय छुट्याउनुपर्छ । विनायोजना काम गर्नु, उपलब्धिहीन क्रियाकलापमा समय दिनु बेकार छ । तसर्थ समयको सदुपयोगले जीवनलाई सहज बनाउँछ ।
गल्ती ६: हानि गर्छ भन्ने जान्दाजान्दै पुनः त्यही प्रयोग गर्ने
हामीमध्ये धेरै लापरबाही गर्ने गर्छाैं । जानी–जानी स्वयंलाई हानि गर्ने खालका काम गर्न हामी संकोच मान्दैनौं । मद्यपान, धूमपान आदिले नराम्रो गर्छ भन्ने हामीलाई थाहा छ तथापि प्रयोग गरिरहने संख्या पनि कम छैन । यसरी नै जंक फूड, कोल्ड ड्रिंक्स, बढी नुनिलो, बढी चिल्लो, अप्राकृतिक, विशेष रुपले प्रशोधित आदि खानपान पनि हानिकारक हुन्छ भन्ने प्रायः सबैलाई थाहा छ । तर हामी यस्ता कुराहरु नै प्रयोग गर्छौं । खासगरी रोग भएको अवस्थामा हामीले रोगलाई बढाउने खालका खानपान गरेका हुन्छौं । डाक्टरले यो प्रयोग गर्न हुँदैन भनेपछि कैयौँ बिरामीले स्वादकै लागि भए पनि खान पछि पर्दैनन् ।
खानपान मात्र हैन, हाम्रा कैयौँ बानीहरु नराम्रा भए पनि त्यसैलाई दोहो-याइरहेका हुन्छौं । हाम्रा दिनचर्या, रात्रिचर्या, ऋतुचर्या आदि अनुरुप के गर्नुपर्छ भन्ने पनि हामीलाई थाहा छ तर पनि गडबडी गरिरहेका हुन्छौं । स्वस्थ र अस्वस्थ जीवनशैलीका धेरै कुराहरु हामीले जानेबुझेका छौं तर सो ज्ञानलाई व्यवहारमा उतारेका हुन्नौं । जबसम्म हामीले मनदेखि संकल्प गर्दैनौं, यस्ता गल्तीहरु दोहो-याइरहन्छौं । अनि यही गल्तीले हामीलाई समस्याग्रस्त बनाइरहन्छ ।
गल्ती ७: आफूलाई सुधार्न चाहने तर प्रयासै नगर्ने
तपाईं आफूलाई स्वस्थ, सफल, राम्रो र असल भएको हेर्न चाहनुहुन्छ । मूर्खले मात्र आपूm बिग्रन चाहला । प्रायः सबै व्यक्ति स्वस्थ, धनी, सफल, अरुभन्दा भिन्न, अब्बल, शिक्षित, सचेत, सुखी आदि भएको हेर्न चाहन्छन् । बिरामी निको हुन चाहन्छन् तर रोग अनुरुपको नियमको पालना गर्दैनन् भने उनका लागि त्यो केवल सपना वा कोरा कल्पनामात्र हुन्छ ।
विद्यार्थी राम्रो श्रेणीमा उत्तीर्ण हुन चाहन्छ तर लेखपढमा मेहनत गर्दैन भने ऊ त्यसमा सफल हुँदैन । हरेक विषयमा त्यही हो । आपूm रुपान्तरित हुन चाहनेले सोही अनुरुपको कर्म गर्नै पर्छ । त्यसैले यदि तपाईंले कुनै उद्देश्य वा लक्ष्य लिनु भएको छ भने त्यसको परिपूर्ति वा प्राप्तिका लागि निरन्तर अर्जुन दृष्टिका साथ तनमनले सक्दो प्रयास गर्नुपर्छ । जीवनका हरेक पक्षमा यो नियम लागू हुन्छ । निरन्तर प्रयासका साथ आपूmलाई समय, परिस्थिति, आवश्यकता र क्षमता अनुरुप परिमार्जन गर्न सक्नुपर्छ । यसमा लगनशीलताको निकै महत्त्व छ ।
गल्ती ८: तन्दुरुस्तीका लागि उचित अभ्यास नगर्ने
शरीरलाई स्वस्थ, आकर्षक र तन्दुरुस्त भएको हेर्न नचाहने को होला ? शरीर फूर्तिलो, तगडा, हेर्दा सलक्क मिलेको, न दुब्लो न मोटो, तन्दुरुस्त जीउडाल सबैको इच्छा हुन्छ । शारीरिक मात्र हैन मानसिक रुपले पनि सबल भएको उत्साही, जाँगरिलो, तनावरहित, सदैव फिट भएको हेर्ने मन जो–कोहीलाई पनि हुन्छ । तर मनमा पालेर मात्र भएन, तन्दुरुस्त तनमनका लागि यससम्बन्धी नियमहरुको पालना गर्नु आवश्यक छ । यसका लागि अनेक उपायहरु छन् । शारीरिक तथा मानसिक दुवै तन्दुरुस्तीका लागि योगका विभिन्न अभ्यासहरु उपयोगी छन् । व्यायाम, नृत्य, साइक्लिङ, पौडी, विभिन्न खेलहरु, प्रातः भ्रमण, शारीरिक शोधनको प्राकृतिक चिकित्सा, निर्विषीकरणका उपायहरु, आहारशुद्धि आदि यस्ता विधिहरु हुन् जसले शरीरलाई विकाररहित र निर्मल बनाउँछ । तर यस्ता विषयहरु शतप्रतिशत प्रयोगात्मक र व्यावहारिक पक्ष भएकोले नियमित अपनाउनै पर्छ ।
गल्ती ९: सुत्ने–उठ्नेमा गडबडी गर्ने
बिहान ब्रह्ममुहूर्तमा उठ्ने र राति छिट्टै सुत्ने बानी गर्नुपर्ने हुन्छ । बिहान उठेर नित्यकर्म (शौच, योग अभ्यासलगायत अन्य व्यक्तिगत कार्यहरु) घाम नझुल्कँदै सक्ने बानी गर्न सके समयमै काम भ्याइन्छ र समयको बचत पनि हुन्छ । धेरै व्यक्तिहरु निद्रालाई बेवास्ता गर्दछन्, मध्यरातसम्म पनि ब्युँझेर सामाजिक सञ्जाल, टिभी, मोबाइल, कम्प्युटर आदिको प्रयोग गरी निद्रा बिथोलेको पाइन्छ । पहिले जानी–जानी लामो अवधिसम्म निद्रा बिथोल्ने गर्छन् तर पछि सुत्छु भन्दा पनि निद्रा नलाग्ने समस्या शुरु हुन्छ ।
समयमै अर्थात् ९ देखि ११ बजेसम्म सुतिसक्ने र बिहान ४ देखि ६ बजेसम्ममा उठिहाल्ने बानीले तपाईंमा काम गर्ने जोश–जाँगर बढ्न, तनाव हट्न, काममा सफलता मिल्न र स्वस्थ हुन सघाउँछ ।
गल्ती नं. १०: अप्राकृतिक खानपानको बढी प्रयोग गर्ने
जति हामी प्रकृतिको निकट रहन्छौं, त्यति नै हाम्रो स्वास्थ्य राम्रो हुन्छ । स्वस्थकर प्राकृतिक खानपानले प्रतिरोधक एवं जीवनी शक्ति बढाउँछ । अप्राकृतिक, तयारी पत्रु खाना, प्रशोधन गरिएका खानपान, सेतो विष (नुन, चिनी, मैदा, अजिनोमोटो आदि) को बढ्दो प्रयोगको कारणले प्राकृतिक जीवनलाई भताभुंग गर्दछ ।
खाद्यान्नमा मिसावट र तरकारी तथा फलफूलमा विषादिको प्रयोगले स्वास्थ्यलाई हानि गर्दछ । यसरी नै कृत्रिम रुपमा तयार हुने खानपानमा प्रयोग गरिने खालका रंग, बासना, लामो समय टिकाउने रसायन प्रिजर्भेटिभको मिसावटजस्ता अप्राकृतिक तत्वयुक्त खानपानले हाम्रो शरीरमा अनेक समस्या आउने हुन्छ । तैपनि अप्राकृतिक खानपानको प्रयोग बढ्दो छ । त्यसैले चाउचाउ, बर्गर, बिस्कुट, पास्ता आदिलाई विस्थापित गरी प्राकृतिक रुपमै रहेका अन्नबाट प्रशोधन नगरी बनाइएका खाजा र खानाहरुको प्रयोगमा ल्याउने बानी बसाल्नुपर्दछ । अप्राकृतिक खानपानको प्रयोगलाई परिवारमा निरुत्साहित गर्नुपर्छ ।
प्राकृतिक खानपानको प्रयोगका लागि माटोको सुरक्षा, उत्पादन र भान्सा हुँदै भुँडीसम्म नपुगुन्जेलसम्मको अवस्थामा ध्यान दिनु आवश्यक छ । रासायनिक मलको सट्टा प्रांगारिक मलको प्रयोग, विषादीको सट्टा प्राकृतिक तत्वहरुको मिश्रणबाटै बनाइएको कीटनाशक, बारीमा उत्पादन भएदेखिको अर्गानिक वस्तु भान्सासम्म पुग्दा पनि हानिकारक तत्वको प्रयोग नभएको ग्यारेन्टी र पकाएर खाँदासम्म पनि प्राकृतिक पोषण नष्ट नहुने गरी बनाइएको र खाइएको अवस्था सबैमा ध्यान दिनु जरुरी छ । यसका लागि एकजनाले मात्र ध्यान दिने होइन, सरकारदेखि हरेक समाज र व्यक्तिले आलिदेखि थालीसम्मको खाद्य सुरक्षामा सजगता अपनाउन जरुरी छ ।