बजारमा फर्सी जत्रा भारतीय अम्बा, मुस्ताङको भन्दै बिक्री

    काठमाडौं, पोखरा, विराटनगर, बुटवल, इटहरी लगायतका शहरमा यो अम्बा पछिल्लो एक महिनादेखि बिक्री भइरहेको नेपाल फलफूल थोक व्यवसायी संघले जनाएको छ ।

    नेपालमा उत्पादन हुने अम्बाको मुख्य सिजन सकिएसँगै यी अम्बा बजारमा आउन थालेको व्यवसायीहरुले बताएका छन् । संघकाअनुसार १० जना व्यापारीले यो अम्बा नेपालमा आयात गरिरहेका छन् । नेपाली बजारमा अहिले सो अम्बा प्रतिकिलो २ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

    बजारमा विभिन्न नेपाली ठाउँको नाम लिंदै महँगोमा यस्तो अम्बाको बिक्री भएको हुनसक्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिले यस्तो अम्बाको थोक न्यूनतम् मूल्य प्रतिकिलो १४० र अधिकतम् १६० रुपैयाँ तोकेको छ ।

    नेपाली बजार र उपभोक्ताका लागि खास आवश्यक नरहेको यस्तो अम्बाको आयात भने भन्सार विभागको विवरणमा स्पष्ट छैन । विभागकाअनुसार साउनदेखि मंसिर मसान्तसम्म नेपालमा अम्बा र आँप गरेर कुल २० करोड २५ लाख ८० हजार रुपैयाँको ४३ लाख ४७ हजार ८८७ किलो फलफूल नेपाल भित्रिएको छ । सो आयातबाट सरकारले ३ करोड ८१ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
    राष्ट्रिय फलफूल विकास केन्द्रकाअनुसार नेपालमा अम्बाको हालसम्म व्यावसायिक खेती भएको छैन । नेपाली सिजनको अम्बा सकिए पछि व्यापारीहरुले आफूखुसी अम्बा आयात गरेको र त्यो बजारको मागअनुसार भएको केन्द्रकी वरिष्ठ बागबनी विकास अधिकृत यमकुमारी श्रेष्ठले बताइन् । ‘बजारमा स्वस्फूर्त रुपमा यस्ता अम्बा आउँछन्,’ श्रेष्ठले भनिन्, ‘यसको नियमन गर्न हामीले मिल्दैन । गुणस्तरमा हामीले हेर्ने होइन ।’

    गुणस्तरमा प्रश्न ?

    ट्वीटर प्रयोगकर्ता तेजेन्द्र काफ्लेले बजारमा पाइएको यस्तो अम्बा खाएको १० मिनेटमै पखाला चलेको भन्दै सो अम्बा प्रयोग नगर्न भन्दै ट्वीट लेखेका छन् । उनको ट्वीटमा प्रतिक्रिया दिन आएका कतिपयले यस्तो अम्बा बजारमा जताततै पाइएको बताएका छन् ।

    विषादी अवेशेष द्रुत विश्लेषण प्रयोगशाला कालीमाटीकाअनुसार काठमाडौं आइपुगेका यस्ता अम्बाको विषादी परीक्षण भएको छैन । ‘बजारमा अम्बा देखिएका छन् । हामीलाई गुणस्तरमा कुनै कम्प्लेन आएको छैन । आवश्यकपरे विषादी परीक्षण हुन्छ ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *