बच्चालाई फुल्याउन हल्लाउनु हुन्छ? सचेत हुनुहोस्

    बच्चा जन्माउनु आमाबाबु र अभिभावकका लागि खुसी र गर्वको कुरा हो। अर्को पाटोबाट हेर्दा आमाबाबु बन्नु खुसीको कुरासँगै अप्ठ्यारो र कठिन यात्रा पनि हो। यो पाटो भुल्नु हुन्न।

    बच्चा हुर्काउने, बढाउने, पढाउने र उसको भविष्य सुरक्षित सामर्थ्य जिम्मेवारी आमाबाबुकै हो।

    नवजात शिशु हुर्काउने क्रममा सबैजसोले गर्ने तर त्यसको दूरगामी असरबारे नसोचेको एउटा पक्षमाथि यहाँ थोरै विचार गरौं।

    कहिलेकाहीँ शिशुहरू ठूलो आवाज निकालेर रोएको वा चिच्याएको सुन्नुभएको होला। कुनै पीडाले नै शिशु अर्थात बच्चा चिच्याएको हुन्छ। यस बखत आमाबाबुको होस उड्छ। के भयो भनेर आत्तिन्छन्।

    शिशु रूने कारणहरू अनेक हुन सक्छन्। किन रोएको हो, किन चिच्याएको भन्ने कुरा आमाबाबु वा अभिभावकलाई कमै थाहा हुन्छ। यसको मनोविज्ञान थाहा नै नहुन सक्छ। यस्तो अवस्थामा उनीहरू आत्तिन्छन् वा आक्रोशित बन्न सक्छन्। बच्चालाई शान्त बनाउन अनेक उपायहरू अपनाउँछन्। यस्तै एउटा उपाय हो बच्चा हल्लाउनु।

    नेपाली समाजमा बच्चालाई कोक्रो वा झोलुंगोमा राखेर वा अन्य तरिकाले हल्लाउने चलन छ।

    TeachEsewanic
    सामान्यतया यसो गर्दा बच्चा शान्त हुन्छ। बच्चा जति बढी रून्छ वा कहालिन्छ उति नै धेरै हल्लाउने चलन छ। यसो गर्नु बच्चा फुल्याउने सबैभन्दा सजिलो तरिका हो। यसरी बच्चा हल्लाउनु कति ठिक हो, हल्लाउने तरिका कस्तो हो भन्ने चाहिँ कसैले पनि विचार गरेको हुँदैन।

    फुल्याउने उद्देश्यले बच्चा हल्लाउँदा जीवनभर पीडा हुने गरी दुर्घटनामा हुन सक्छ भन्ने कुरा थाहा पाउन आवश्यक छ। बच्चालाई धेरै हल्लाउँदा उसको मस्तिष्क पनि हल्लिन्छ। मस्तिष्क धेरै हल्लिँदा उसको क्षमता विकासमा नकारात्मक असर पर्छ।

    कहिलेकाहीँ त मस्तिष्कको क्षमता गुम्न पनि सक्छ। बच्चा धरै हल्लाउनु प्राणघातक पनि हुन सक्छ। धेरै हल्लाएको अवस्थामा बच्चामा ‘शेकन बेबी सिन्ड्रोम’ देखापर्छ। यो लेखमा बच्चा हल्लाउन नहुने कारण, शेकन बेबी सिन्ड्रोम र नवजात शिशु रूँदा उसलाई शान्त बनाउने केही उपायहरूका बारेमा चर्चा गरेको छु।

    नवजात शिशुले जन्मनेबित्तिकै रून सिकेको हुन्छ तर आँसु हुँदैन। उसको आँसु बनेकै हुँदैन। ऊ रूनु भनेको आमाबाबु र अभिभावकको ध्यानाकर्षणका लागि मात्र हो। उसले रोएर वा कराएर आफ्नो आवश्यकताको सूचना दिन्छ। उसको मनोविज्ञान बुझेर आवश्यकता पहिचान र परिपूर्ति गर्नु अभिभावकको जिम्मेवारी हुन्छ।

    अभिभावकले धैर्यका साथ शिशुका आवश्यकता पहिचान गर्नुपर्छ।

    नवजात शिशुको शरीर र उसका सबै अंगहरू कमजोर हुन्छन्। क्रमिक विकास हुने क्रममा हुन्छन्। उसको शरीर कोमल ढंगले सम्हाल्नु पर्छ। शिशुको मस्तिष्क धेरै संवेदनशील अंग हो। उसको मस्तिष्क जोगाउन आमाबाबु र अभिभावकहरू सचेत रहनुपर्छ।

    नवजात शिशुको टाउको शरीरको भागको तुलनामा बढी गहकिलो र ठूलो हुन्छ। घाँटीको भाग राम्ररी विकसित भएको हुँदैन। नवजात शिशुले शरीर र टाउको एकसाथ चलाउन सक्दैन। जन्मेको केही दिनमा टाउको यताउता फर्काउन सक्ने हुन्छ।

    मानिसको मस्तिष्क लामो समयसम्म विकासको क्रममा रहने अंग हो। मस्तिष्कको विकास भ्रूण अवस्थामै सुरू भएको हुन्छ। जन्मिने बेलासम्म मस्तिष्कमा करोडौं नसाहरू विकास भइसकेका हुन्छन्। सबैभन्दा बढी विकास हुने क्षमता सुनाइ हो। सुन्न सक्नु नवजात शिशुको पहिलो क्षमता हो। सुन्न सक्ने र आवाज चिन्न सक्ने क्षमता गर्भभित्रै विकास भएको हुन्छ। पूर्ण विकास भने क्रमैसँग हुन्छ।

    नवजात शिशुले आमाको आवाज सहजै पहिचान गर्छ। बाबुको आवाज सुन्न पाएको भए त्यो पनि पहिचान गर्न सक्छ। नवजात शिशुले आमाबाबु पहिचान गर्ने नै आवाजबाट हो। बासना लिने क्षमता पनि चाँडै विकास हुन्छ। शिशुले बासनाबाट पनि आमाबाबु पहिचान गर्छ।

    शिशुमा स्वाद थाहा पाउने क्षमता पनि चाँडै विकास हुन्छ। स्पर्श गरेर थाहा पाउने क्षमता पनि विकास भएको हुन्छ। नवजात शिशुले चिसो–तातो र नरम–कडा पनि महसुस गर्न सक्छ। आँखाको दृष्टि थोरै मात्र विकास भएको हुन्छ। नवजात शिशुले धेरै नजिकको मात्र देख्न सक्छ, त्यो पनि धमिलो छायाजस्तो मात्र।

    यी क्षमताको विकास, वृद्धि र सञ्चालन मस्तिष्कबाटै हुने भएकाले पनि मस्तिष्क विकास हुन लामो समय लाग्ने गरेको वैज्ञानिकहरूको अनुमान छ। शिशुको टाउकोभित्रको मस्तिष्क अस्थिर र कमजोर हुन्छ। टाउकाको बाहिरी भाग पनि कमजोर हुन्छ। शिशुलाई धेरै हल्लाउँदा टाउकोभित्र मस्तिष्कको भाग अघिपछि सर्न सक्छ।

    मस्तिष्क र मस्तिष्कका नसाहरू बलियो गरी थाम्न टाउकोको बहिरी भाग पनि मजबुत हुँदै जान्छ। यिनै कारणले शिशु र हुर्किँदै गरेका बालबालिकाको टाउको र मस्तिष्क संवेदनशील हुन्छ। अझ जन्मको पहिलो वर्ष अति संवेदनशील हुन्छ।

    यसकारण शिशुको टाउको र मस्तिष्कको सुरक्षा अति नै महत्वपूर्ण हुन्छ। बालबालिका १२–१३ वर्ष हुँदासम्म टाउकोको भाग जोगाउन ध्यान दिनुपर्छ। चोटपटक लाग्नबाट बचाउनुपर्छ।

    नवजात शिशुलाई धेरै हल्लाउँदा ‘शेकन बेबी सिन्ड्रोम’ अर्थात ‘बच्चा हल्लिएका लक्षण’ हरू देखा पर्छन्। यस्तो लक्षण लामो समय रहेमा खतरा हुन सक्छ। कसैकसैमा त यस्तो लक्षण जीवनभर पनि रहन सक्छ। बच्चालाई धेरै हल्लाउँदा मस्तिष्कभित्र रगत बग्न सक्छ। यस बेला बच्चाको आँखाको भित्री भागमा रगत बगेको र जमेको देख्न सकिन्छ।

    आँखामा रगत जमेको देखिने भए पनि मस्तिष्क भित्र के भएको छ भन्ने थाहा हुँदैन। सिटी स्क्यान, एमआरआइ गरेर मात्र थाहा पाउन सकिन्छ। केके लक्षण देखापर्छ भन्ने कुरा पनि मस्तिष्कको कुन भागमा रगत बगेको छ भन्नेमा भर पर्छ।

    धेरै हल्लाएर मस्तिष्कमा असर परेको छ भने बोल्ने, चल्ने र हेर्ने क्षमता ह्रास हुन्छ। आँखा हल्लिरहने, बोलाउँदा वा छुँदा वास्ता नगर्ने हुन्छ। बच्चामा यस किसिमको परिवर्तन देखिएमा तुरून्तै अस्पताल लैजानुपर्छ।

    म यहाँ उपचारभन्दा पनि बच्चा कराउनु वा चिच्याउनुको अर्थ थाहा पाउने र समाधान गर्ने तरिकाबारे संक्षेपमा उल्लेख गर्छु। विशेषतः बच्चा धेरै रोएको अवस्थामा उसलाई हल्लाएर फुल्याउने गरिन्छ। हल्लाउनु सजिलो भए पनि उचित उपाय होइन। हल्लाएर फकाउनु गलत तरिका हो।

    सबैभन्दा पहिला बच्चा किन रोएको हो, उसले के खोजेको हो भन्ने थाहा पाउनुपर्छ।

    जन्मेको एक वर्षसम्म शिशु रूनुमा निम्न कारणहरू मुख्य हुन सक्छन्–

    १. भोक लाग्नु,

    २. नजिकमा अभिभावक खोज्नु,

    ३. पिसाब फेर्नु वा दिसा गर्नु,

    ४. निदाउन चाहनु,

    ५. धेरै तातो वा चिसो हुनु,

    ६. ओछ्यान अप्ठ्यारो हुनु,

    ७. पेट दुख्नु वा बिरामी पर्नु,

    ८. वरिपरि धेरै हल्ला हुनु।

    बच्चा रोएको रोयै गरेमा के गर्ने त?

    समस्या थाहा भएमा समाधान गर्नासाथ बच्चा शान्त भइहाल्छ।

    भएन भने के गर्ने?

    यस अवस्थामा आमाबाबु वा अभिभावकको धैर्य महत्वपूर्ण हुन्छ। बच्चालाई आफ्नो शरीरमा टँसाएर हातले उसको शरीर थपथपाउनु राम्रो उपाय हो।

    सजिलोका लागि गाम्छा वा सलले बेरेर बोक्ने र थपथपाउँदै, बिस्तारै हिँड्दै गीत सुनाउने गरे पनि बच्चा शान्त हुन्छ। उसको सुत्ने बेला भएको छ भने कोठा अँध्यारो र शान्त पारेर गीत गुनगुनाउँदै, थपथपाउँदै सुताउनु पर्छ।

    सुत्ने बेला भएको छैन भने उसका लागि शान्त वातावरण बनाउनु पर्छ। बाहिरतिर घुमाउनु पर्छ। घुमाउन लैजाँदा वातावरणको अनुकूलता भने विचार गर्नुपर्छ। शीतल वातावरणले बच्चा शान्त बन्न सहयोग पुग्छ। केही जाडो भए पनि न्यानो कपडा लगाइदिएर शान्त वातावरणमा घुमाउन सकिन्छ।

    सबै उपायहरू अपनाउँदा पनि बच्चा शान्त भएन भने स्वास्थ्यकर्मीको परामर्श लिनु आवश्यक हुन्छ। बच्चाको स्वास्थ्य परीक्षण गराएर समाधानको बाटो पहिल्याउनु पर्छ। बच्चा जति नै रोए, कराए पनि हल्लाउने उपाय नरोज्नु नै उचित हुन्छ। बच्चा धेरै हल्लाउँदा उसमा कुनै किसिमको शारीरिक अशक्तता हुन सक्छ। कहिलेकाहीँ त प्राणघातक नै हुन सक्छ।

    आमाबुबा र अभिभावकहरूले यो पक्षमा ध्यान दिनुपर्छ। कोक्रोमा धेरैका मच्चाउँदै हल्लाएर फुल्याउने परम्परागत तरिका छोड्न आवश्यक छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *