यो प्राचीन कालदेखि चलिआएको आठ प्रकारका विवाह शैली l

    यो प्राचीन कालदेखि चलिआएको एउटा संस्कार हो । विश्वकै पहिलो लिखित ग्रन्थ मानिने ऋग्वेदमा सूर्य र सूर्याको प्रसङ्गमा विवाह संस्कारका सबै वैदिक मन्त्र उल्लेख गरिएका छन् ।

    आठ प्रकारका विवाह:

    शास्त्रीय परम्पराअनुसार विवाह आठ प्रकारका हुन्छन् ।

    ती हुन्-ब्राह्म, दैव, आर्ष, प्राजापत्य, गन्धर्व, आसुरी, राक्षसी तथा पैशाच विवाह ।

    यी आठ विवाहमध्ये ब्राह्म विवाह नै श्रेष्ठ एवं मान्यताप्राप्त बताइएको छ भने अरू विवाह कुनै मध्यम एवं कुनै निकृष्ट कोटिमा पर्छन् । यी परम्परागत विवाहलाई नेपाली समाजले मागी विवाह, भागी विवाह, चोरी विवाह, जारी विवाह, प्रेम विवाह आदि नाम दिने गरेको पाइन्छ । परम्परागत रूपमा मागी विवाहको सर्वव्यापकता थियो । कतिपय जातजातिहरूमा चोरी विवाह र मागी विवाह पनि प्रचलित थिए । हाल सबै शिक्षित समाजमा प्रेम विवाह फस्टाउँदै गएको छ ।

    एक प्रकारले यो मान्य भइसकेको छ । जारी विवाहको प्रचलन हराउँदै गएको छ । गाउँघरमा दुईचारजना गएर सामान्य किसिमले विवाह सम्पन्न गरी केटी लिएर आउने विवाहलाई कुम्ले विवाह र निकै ठूलो तयारी गरी बाजा र जन्ती लिएर गई केटी लिएर आउने विवाहलाई वरियाती भन्ने चलन छ । प्राचीन कालको कुरा गर्दा हिन्दू समाजमा विवाह भोगविलासको साधन नभई धार्मिक संस्कार हो । हिन्दूहरूले पालना एवं अनुशरण गर्नुपर्ने सोर्‍ह संस्कारमध्ये विवाह पनि एक हो । संस्कारहरू शुद्ध जीवनशैली व्यतीत गर्ने उद्देश्यले बनाइएका नियम हुन् । संस्कारले अन्तस्करण शुद्ध बनाउँछ, संस्कारजनित विवाहबाट सुखद दाम्पत्य जीवन व्यतीत गर्न सकिन्छ । संस्कारभित्र पर्ने विवाह ब्रह्म विवाह हो ।

    ब्राह्म विवाहः दुवै पक्षको सहमतिमा समान वर्ग एवं मिल्दो उमेरका सुयोग्य वरसँग कन्याको सहमतिमा निश्चित गरिने विवाह ब्रह्म विवाह हो । यो विवाहमा वैदिक रीतिरिवाज एवं नियमको पालना गरिन्छ । आभूषण, वस्त्र आदिबाट अलङ्कृत गरेर कन्यादान गरिन्छ । विवाह नै उत्तम विवाह हो । यस विवाहमा दुवै पक्षको सहमतिबाट समान वर र कन्याको विवाह निश्चित गरिने भएकाले अहिलेको मागी विवाहलाई यस खालको विवाह मान्न सकिन्छ ।

    दैव विवाहः यस विवाहमा कुनै तपस्वीलाई कन्यादान गरिन्छ । कन्या दानमा दिइन्छ । यसमा कुनै सेवा कार्यको मूल्यको रूपमा, धार्मिक कार्य वा उद्देश्यले कन्याको सहमतिमै विधिवत् विवाह हुन्छ । पतिपत्नी दुवैले एकसाथ धर्माचरणको व्रत लिने यस किसिमको विवाहलाई मध्यम मानिन्छ ।

    प्राजापत्य विवाहः यस्तो विवाहमा कन्यासँग अनुमति लिइँदैन । अभिभावकले योग्य वर हेरेर कन्याको विवाह गरिदिन्छन् । विशेषगरी यस्तो विवाहमा आमाबाबुले कुनै धनीमानी एवं प्रतिष्ठित व्यक्तिसँग कन्याको सहमतिबेगर नै विवाह गरिदिन्छन् ।

    आर्ष विवाहः यस विवाहमा कन्यापक्षलाई कन्याको मूल्यका रूपमा वर पक्षबाट विशेषगरी कन्याको आमाबाबुलाई गाई वा जोडी गोरु दिने चलन हुन्छ ।

    गान्धर्व विवाहः यस विवाहमा परिवारको सहमति हुँदैन । कुनै रीतिरिवाज अपनाइँदैन । विवाहको उमेर पुगेका युवायुवतीले एकअर्कालाई मन पराएपछि अभिभावकको सहमति नलिई गरिने विवाह गान्धर्व विवाह हो ।

    आसुरी विवाहः यस्तो विवाहमा वरपक्षद्वारा शुल्क दिएर कन्या ग्रहण गरिन्छ । कन्याका आफन्तलाई धन या प्रलोभन देखाएर स्वेच्छाले कन्या प्राप्त गरिन्छ ।

    राक्षसी विवाहः यस्तो विवाहमा कन्याको सहमति हुँदैन । उसलाई अपहरण गरेर जबर्जस्ती विवाह गरिन्छ । नेपालमा कुनै-कुनै जातिमा केही समय पहिलासम्म विभिन्न जमघट हुने ठाउँबाट आफूलाई मन परेकी कन्यालाई जबर्जस्ती उठाएर लैजाने चलन थियो । यस्तो चलन अहिले धेरै कम भएको छ । त्यस्ती कन्यालाई घरमा फिर्ता लगिँदैन । अपहरण गरेकै पुरुषलाई कन्यापक्षले स्वीकार गर्छ ।

    पैशाच विवाहः सुतेको अथवा नशामा उन्मत्त कन्यालाई एकान्तमा बलात्कार गरी जबर्जस्ती ग्रहण गर्नुलाई पैशाच विवाह भनिन्छ । माथिका अन्तिम चारवटा विवाहलाई शास्त्रले मर्यादाविपरीत मानेको छ । चाणक्य भन्छन्- ‘कन्याको बुबाको इच्छाअनुसार गरिने विवाह धर्मसम्मत हुन्छन् । अन्य चार विवाह धर्म मर्यादाअनुकूल छैनन् । यी विवाह कन्याको बलात्कार हो । सबैको प्रसन्नता हुने विवाह नै सर्वोत्तम हो । यसबाट सबैको सुख वृद्धि हुन्छ ।’ माथि चर्चा गरिएका आठ प्रकारका विवाहप्रथा उल्लेख हुनुले त्यसबेला त्यस्ता प्रथा प्रचलित थिए भनेर अनुमान गर्न सकिन्छ । भनिन्छ, पुरातनकालमा विभिन्न जातिहरूको प्रचलित वैवाहिक चलन हेरेर मनु, पराशर आदि स्मृतिकारहरूले यी विवाहलाई मान्यता दिएका थिए । मनुले सुरुका चार विवाह ब्राहृमण वर्गका लागि, राक्षसी र गन्धर्व विवाह क्षत्रियका लागि र आसुरी विवाह वैश्य र शुऽ वर्गका लागि भनेर छुट्याएका थिए । पैशाच विवाह आर्यहरूको कुनै वर्गका लागि उचित मानिँदैन थियो ।

    परिवर्तित विवाह: वर्तमानमा विवाहका प्रचलन पनि समयानुकूल परिमार्जन भएका छन् । पुर्खाले विवाहको जुन परम्परा बसाले, ठाउँ-अवस्था-जाति एवं प्रकृतिअनुसार तिनले त्यसलाई टिप्दै आˆनो जीवनको अंग बनाएको पाइन्छ । विवाह समाजको सबैभन्दा सशक्त परम्पराका रूपमा स्थापित भएको छ तर समयसँगै विवाहको शैली, वैवाहिक जीवनजस्ता कुरामा निकै ठूलो परिवर्तन देख्न सकिन्छ । हिन्दू धर्मअनुसार विवाह त्यस्तो संस्कार हो जसलाई निकै सोचविचार गरी पूरा गर्नुपर्छ । टाढा टाढासम्मको रक्तसम्बन्धको छानबिन गर्नु आवश्यक छ । यसबाट दुवै पक्ष सन्तुष्ट भएपछि कामकुरो अघि बढ्छ । शुभ मुहूर्त वा लग्न निकालिन्छ । वैदिक पण्डितद्वारा कर्मकाण्ड पद्धतिअनुसार विवाह गराइन्छ । मानिसमाथि देवऋण, ऋषिऋण एवं पितृऋण गरी तीन प्रकारका ऋण हुन्छन् । यज्ञयागादि कार्यद्वारा देवऋण, स्वाध्यायबाट ऋषिऋण तथा उचित तरिकाले ब्राह्म विवाह गरी पितृहरूका लागि श्राद्धतर्पण गर्नयोग्य धार्मिक एवं सदाचारी छोरो जन्माएपछि पितृऋणबाट मुक्त हुन सकिन्छ । यसरी पितृहरूको सेवा तथा सद्धर्म पालनको परम्परा सुरक्षित बनाइराख्नका लागि सन्तान उत्पन्न गर्नु नै विवाहको परम उद्देश्य हो । यसै कारण ब्रह विवाह पवित्र संस्कारको रूपमा हिन्दू समाजमा स्थापित एवं मान्यताप्राप्त छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *