मुटु स्वस्थ राख्न के खाने, के नखाने ?

    हामीले स्वस्थ्य रहनका लागि खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । शरीरलाई आवश्यक क्यालोरी मिलाएर खाएको खण्डमा अनेक खालको रोगका समस्यालाई कम गर्न सकिन्छ । त्यसकालागि खानपानमा विशेष ध्यान दिन जरुरी छ ।

    खानालाई सन्तुलित गर्न सकियो र नियमित रुपमा व्यायाम गर्न सकिएको खण्डमा धेरै किसिमका रोगहरूबाट मुक्ति पाउन सकिन्छ । हार्ट-अट्याक, सुगर लगायतका समस्या समाधानमा खानपानको समेत विशेष भूमिका रहेको हुन्छ ।

    बिहान–बेलुकाको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ । दैनिक कम्तीमा एकपटक फलफूल खानुपर्छ ।

    बेलुकाको खानामा दुईदेखि तीनवटा सुक्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ । बेलुका ८ बजेभित्र खाना खाइ सक्नुपर्छ । बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ ।

    धेरै शारीरिक श्रम गर्नेले धेरै र थोरै गर्नेले थोरै नै खानुपर्छ । बेलुकाको खाना खाएपछि तुरुन्त सुत्नु हुँदैन । कम्तीमा दुई घण्टापछि मात्र सुत्नुपर्छ ।

    शाकाहारी हुनु मुटुका लागि फाइदाजनक छ । तर नियन्त्रित रूपमा माछा–मासु खाए पनि हानी भने हुँदैन । माछा र कुखुराको मासुले कोलेस्ट्रोल कम बढाउँछ । माछा–मासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ । बेलुका माछा नखानु उत्तम हुन्छ ।

    घ्यू, तेल तथा अन्य चिल्लो मात्रा जति सक्यो कम प्रयोग गर्नुपर्छ । खाना पकाउन शुद्ध तोरीको तेल नै सबैभन्दा उत्तम हुन्छ ।

    दैनिक तीनदेखि पाँच ग्रामभन्दा बढी नुन प्रयोग गर्नु हुँदैन । नुन थपेर खाने बानी छोड्नुपर्छ ।

    फाइबरयुक्त खानाहरू गहुँ गेडागुडी, हरियो सागपात खानुपर्छ । गेडागुडीलाई अङ्कुरित रूपमा खानु अझ बढी लाभदायी हुन्छ । फापर, कोदो, जौ, मकै आदिले पनि मुटुलाई फाइदा गर्छ ।

    बेलुकाको खानामा काँचो लसुन खाँदा राम्रो हुन्छ । यसले रगतको कोलेस्ट्रोल घटाउँछ, साथै एस्पिरिनले जस्तै रगतलाई पातलो पार्दछ । मधुमेह रोग भएकाहरूले गुलियो खानु हुँदैन ।

    खाना थोरै–थोरै तर धेरैपटक खानु उचित हुन्छ । दुई छाक खाने, पेट कसेर खाने, खानेबित्तिकै सुत्ने काम मुटुका लागि अत्यन्तै खतरनाक हुन्छ । थोरै खाने, धेरैपटक खाने र उचित खाना खाने बानी बसाल्नुपर्छ

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *