अनुहार र छालामा कोठी आउनु सामान्य हो ?

    कोठी के हो ?

    मानिसको छालामा आउने काला वा अन्य रंगका दानालाई कोठी भनिन्छ । हामीले बुझ्ने भाषामा कोठी भनेको छालालाई रंग प्रदान गर्ने कोषिका एकै ठाउँमा गुँड जस्तो भएको हुन्छ । सामान्यतया शरीरको देखिने वा नदेखिने जुनसुकै भागमा कोठी आउन सक्छ ।

    हाम्रो छालालाई रंग उत्पादन गर्न मेलानोसाइट भन्ने कोष चाहिन्छ । यो हाम्रो छालाको माथिल्लो पत्रमा रहन्छ र एउटा रंग बनाउने कोषले पाँचदेखि आठवटासम्म साधारण छालाको कोषलाई रंग दिन्छ । कुनै–कुनै अवस्थामा यी कोषहरू धेरै संख्यामा एकै ठाउँमा जम्मा भएर कालो दाग वा ठूलो दानाका रूपमा देखिन्छन् । यसलाई हामी कोठी भन्छौं ।

    यो कति प्रकारका हुन्छन् ?

    कोठीहरु धेरै प्रकारका हुन्छ । समान्यतया वंशाणुगत कोठी, कुनै पछि मात्र आउने कोठी हुन्छ, कुनै माथिल्लो सतहमा देखिने कोठी कुनै भित्री भागमा गएर बाहिर रौं पलाउने कोठी हुन्छ । कुनै युवावस्थामा घाँटीको वरिपरि र छातीको माथिल्लो भागमा देखिने कोठी हुन्छ, जुन युवकहरुमा बढी देखिन्छ ।

    त्यस्तै रातो कोठी हुन्छ जुन उमेर ढल्केपछि शरीर तथा अनुहारमा देखिन थाल्छ । शरीरमा आउने कोठी एउटै हुन्छन् ।

    कोठी कुनै समस्या हो ?

    कोठी पनि एक प्रकारको समस्या हो । धेरै कोठी आएको छ, ठूलो–ठूलो कोठी छ, जन्मेदेखि आएको कोठी छ भने त्यो पछि गएर क्यान्सर हुने सम्भावना हुन्छ । त्यसको लागि जाँच गराउनुपर्छ । कोठी जति गाढा र ठूलो हुन्छ त्यति नै बढी क्यान्सर हुने सम्भावना हुन्छ ।

    यसको उपचार के हो ?

    धेरै कोठी भएको वा आएको खण्डमा सावधानी अपनाउनुपर्छ । जस्तै, घाममा धेरै हिंड्नु भएन । एसबीएफ ५० वा त्योभन्दा माथिको सन्सक्रिन नियमित रुपमा लगाउनुपर्ने हुन्छ । कोठीमा चिलाउने, ठूलो भएर आउने, दुख्न थाल्ने लक्षण देखिए तुरुन्त डाक्टरको परामर्श लिनुपर्छ । परमर्शअनुसार उपचार सुरु गरिहाल्नुपर्छ । धेरै कोठी भएका मानिसहरुले वर्षेपिच्छे कोठी विशेषज्ञ तथा छाला रोग विशेषज्ञसंग परामर्श लिइरहनुपर्छ ।

    कोठीको जाँच कसरी गरिन्छ ?

    डर्मस्कोप मेसिन प्रयोग गरेर कोठीको अवस्था जाँच गरिन्छ । यसले टेलिस्कोपको जसरी काम गर्छ । यसले कोठीको अवस्था कस्तो छ भनेर सहजै देखाउँछ । यसको सहयोगबाट नै कोठीको कसरी उपचार गर्ने निष्कर्षमा पुगेको हुन्छ ।

    कोठी आउन नदिन केही उपाय छ ?

    वंशाणुगत तथा जन्मजात भएको कोठीलाई त हामी रोक्न सक्दैनौं । तर नयाँ आउने कोठीलाई कम गर्न घाममा कम हिंड्ने सन्सक्रिन लगाउने र समय–समयमा चेक गराउनुपर्छ । उपचारको क्रममा डर्मस्कोप मेसिनले हेरेर त्यो कोठी कसरी कुन तरिकाले निकाल्न मिल्छ त्यसले निर्धारण गर्छ ।

    गाढा छ, रौंहरु आएको छ भने त्यसलाई काटेर सिलाउनु नै राम्रो हुन्छ । शंकास्पद कोठीलाई बायोस्पी पठाउनुपर्ने हुन्छ । एकदम ठूलो कोठीलाई चाहिं प्लास्टिक सर्जरी गरेर निकाल्नुपर्ने हुन्छ । क्यान्सर भएपछि फैलिएपछि चाहिं त्यो अरु ठाउँमा पनि फैलिने हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *