भगवान शिवको उत्पति बारेको प्रसंगहरु हेर्नुहोस ?

    भगवान शिवको उत्पति

    भगवान शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ । तर पुराणहरुमा भगवान शिवको उत्पत्ति बारेको प्रसंगहरु पाइन्छ ।

    हिन्दू धर्मग्रन्थ विष्णु पुराणका अनुसार भगवान ब्रह्मा, भगवान विष्णुको नाभि(नाइटो) कमलबाट उत्पत्ति भएका हुन् भने भगवान शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् ।

    विष्णु पुराणका अनुसार शिरको तेजबाट उत्पन्न भएका कारण शिव सधै योगमुद्रामा रहन्छन् ।

    श्रीमद् भागवतका अनुसार एक पटक जब भगवान विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान शिव प्रकट भएका थिए ।

    विष्णु पुराणमा वर्णन गरिए अनुसार शिवलाई आफ्नो जन्मबारे आफैंलाई मात्र थाहा छ ।

    तर यसमा एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको जरुरत थियो । यसका लागि उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए ।

    रुँदै गरेका बालकलाई भगवान ब्रह्माले रुनुको कारणबारे सोधे । तब त्यो बालकले आफ्नो नाम नभएका कारण रुनुपरेको बताए ।

    त्यसपछि भगवान शिवले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । शिव त्यसपछि पनि चुप लागेनन् । यसपछि ब्रह्माले फेरि अर्को नाम दिए तर पनि शिव भगवान रुन छोडेनन् । आजित भएका ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव यी ८ नाम बह्माले राखे । शिव पुराणका अनुसार यो नाम पृथ्वीमा लेखिएको थियो ।

    शिवले ब्रह्माको पुत्रको रुपमा जन्म लिनुको पछाडि पनि विष्णु पुराणमा एक पौराणिक कथा छ । जसका अनुसार जब धरती, आकाश, पाताल समेत पूरा ब्रह्माण्ड जलमग्न थियो तब ब्रह्मा, विष्णु र शिव वाहेक अरु कोही पनि देव या प्राणी थिएनन् । तब केवल विष्णु मात्र जलको सतहमा आफ्नो शेषनागमा बसेका हुन्थे । तब उनको नाइटो(नाभी)बाट कमलको डाठमा ब्रह्मा जी प्रकट भए । ब्रह्मा–विष्णु जब सृष्टिको सम्बन्धमा कुरा गरिरहेका थिए तब शिव प्रकट भए । ब्रह्माले उनलाई चिन्न इन्कार गरे । तब शिव रिसाउने डरले विष्णुले ब्रह्मालाई दिव्य दृष्टि दिएर शिवबारे याद दिलाए ।

    ब्रह्माले आफ्नो गल्ती महसुस गर्दै शिवसँग क्षमा माग्न थाले र शिवसँग पुत्रको रुपमा जन्म लिने आशिर्वाद माग्न थाले । जब ब्रह्माले सृष्टिको रचना शुरु गर्न थाले तब उनलाई एक बच्चाको जरुरत पर्यो तब उनले भगवान शिवले दिएको आशिर्वाद सम्झिए । त्यसपछि ब्रह्माले तपस्याको माध्यमबाट बालक शिवलाई बच्चाको रुपमा आफ्नो काखमा पाए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *