प्रतिनिधि सभा सदस्यमा रिक्त रहेका तीन वटा क्षेत्रमा उपनिर्वाचन जारी छ।
बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा मतदान भइरहेको छ।
बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार दिउँसो २ बजेसम्म चितवनमा ४६ प्रतिशत मत खसेको छ।
यस्तै बारामा ३८ प्रतिशत र तनहुँमा ४५ प्रतिशत मत खसेको हो।
अहिले उपनिर्वाचन भइरहेकोमध्ये चितवनको भरतपुर-११ नयाँ किरण माविमा रहेको मतदान केन्द्रमा मतदान स्थगित भएको छ। उक्त केन्द्रमा मतदान स्थगित भएपनि मतदान गर्ने समय भने नलम्बिने अर्यालले बताए।
‘मतदानको समय ५ बजेसम्म मात्रै हो। मतदान केन्द्र भित्र प्रवेश गरिसकेकाहरू लाइनमा भए उनीहरूलाई पनि हाल्न दिइन्छ, तर समय थप हुँदैन,’ उनले भने।
मतदान सकेसँगै मतगणना पनि केही बेरमै सुरू गर्ने आयोगको तयारी छ।
आयोगले मतगणना भोलि वा पर्सी साँझसम्म सकाउने तयारी गरेको सहायक प्रवक्ता अर्यालले बताए।
‘एउटामात्रै मतपत्र भएकोले पनि यसपालि छिट्टै मतगणना सकिन्छ। सम्भवत: भोलि वा पर्सीसम्म सकिन्छ,’ उनले भने।