भारतमा उत्पादित अर्को एक ‘कफ सिरप’ पनि खान अयोग्य

    भारतमा उत्पादित अर्को एक ‘कफ सिरप’ पनि खान अयोग्य

    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतीय कम्पनीबाट उत्पादित अर्को एक कफ सिरप (रुघा खोकीको औषधि) दूषित पाइएको जनाएको छ ।

    डब्ल्यूएचओका अनुसार भारतको पन्जाबस्थित क्यूपी फर्माकेम लिमिटेडले उत्पादन गरेको गुइफेनेसिन टिजी सिरपमा कैफियत पाइएको हो ।

    ल्याब परीक्षण गर्दा उक्त सिरपमा डायथिलिन ग्लाइकोल र एथिलिन ग्लाइकोलको मात्रा आवश्यकताभन्दा बढी पाइएको डब्ल्यूएचओले जनाएको छ ।

    यी दुवै कम्पाउण्ड मानिसलाई विष समान हुने र अधिक मात्रामा सेवन गरेमा ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    डब्ल्यूएचओले यो दूषित कफ सिरफ मार्शल इग्ल्याण्ड र माइक्रोनेशियामा पाइएको जनाएको छ । यद्यपि संगठनले यो सिरपबाट कोही विरामी भए/नभएको वा कसैको ज्यान गए/नगएको भन्नेबारे केही खुलाएको छैन ।

    क्युपी फार्माकेमका प्रबन्ध निर्देशक सुधीर पाठकले नियामक निकायको अनुमति पाएपछि आफूहरुले १८ हजार ३४६ बोतल औषधि कम्बोडियामा पठाएको तर प्रशान्त क्षेत्रका मार्शल इग्ल्याण्ड र माइक्रोनेशियामा कसरी पुग्यो भन्ने थाहा नभएको बताएका छन् ।

    उनले बीबीसीसँग भनेका छन्, ‘हामीले यो औषधि प्रशान्त क्षेत्रमा पठाएका थिएनौं । यो औषधि त्यहाँ प्रयोग गर्नका लागि प्रमाणित पनि थिएन । तर कसरी मार्शल द्वीप र माइक्रोनेशिया पुग्यो भन्ने हामीलाई थाहा छैन ।’

    यसअघि डब्ल्युएचओले भारतकै मेरियन बायोटेकले उत्पादन गरेको ‘डक-१ म्याक्स’ नामको कफ सिरप सेवन गर्दा उज्वेकिस्तानमा २० बालबालिकाको मृत्यु भएको जनाएको थियो ।

    यसैगरी मेइडन फर्मास्युटिकल्सले उत्पादन गरेका कोफेक्सम्यालिन बेबी कफ सिरप, मेकफ बेबी कफ सिरप र म्याग्रिप एन कोल्ड सिरप पनि दूषित रहेको भन्दै प्रयोगमा प्रतिबन्ध लगाएको थियो । डब्ल्यूएचओका अनुसार बच्चाले सेवन गर्ने यी औषधिबाट पश्चिम अफ्रिकी मुलुक गाम्बियामा ६६ बालबालिकाको मृत्यु भएको थियो ।

    बीबीसीका अनुसार भारतले विश्वको एक तिहाइ औषधि उत्पादन गर्दछ । त्यसैले भारतलाई ‘विश्वको औषधि पसल’ पनि भनिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *