न्यून रक्तचाप हुनु किन जोखिमपूर्ण, कसरी समाधान गर्ने?

न्यून रक्तचाप हुनु किन जोखिमपूर्ण, कसरी समाधान गर्ने?

उच्च रक्तचाप वा न्यून रक्तचाप हुनु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिंदैन । रक्तचाप अनियन्त्रित भएर हुने यो समस्या बढिरहेको छ ।

यी दुई समस्यामा पनि उच्च रक्तचापलाई लिएर मात्रै धेरै मानिस चिन्तित रहेको पाइन्छ । तर धेरैलाई हेक्का नहुन सक्छ, न्यून रक्तचाप हुनु पनि स्वास्थ्यका लागि जोखिमपूर्ण छ । न्यून रक्तचापलाई नियन्त्रणमा ढिलाइ भए स्वास्थ्यमा जटिलता समेत निम्त्याउँछ ।

स्वस्थ व्यक्तिमा रक्तचाप स्तर १२०/८० एमएमएचजी वा त्यस वरपर हुनुपर्छ । यदि रक्तचाप ९०/६० एमएमएचजी भन्दा कम छ भने यसलाई न्यून रक्तचाप वा लो बीपी मानिन्छ । न्यून रक्तचाप हुनु धेरै कारण हुन्छन् । जस्तै, पानी कम भएर डिहाइड्रेसन हुनु, अत्यधिक तनाव, लामो समयसम्म भोकै बस्नु, अस्वस्थ जीवनशैली, भिटामिन र पोषक तत्वको कमी, मुटुको समस्या हुनु, केही औषधिको साइड इफेक्टका कारण, गर्भावस्थाको समयमा शरीर परिवर्तन पर्छन् ।

यद्यपि, कहिलेकाहीं न्यून रक्तचापको कारण पत्ता लगाउन धेरै गाह्रो हुन्छ । जसकारण सुरुको अवस्थामा पत्ता लगाउन मुस्किल हुन सक्छ ।

लक्षण

न्यून रक्तचाप हुँदा धेरैजसो अवस्थामा लक्षण नै देखिंदैन । तर कहिलेकाहीं भने केही यस्ता लक्षण देखिन्छन्, जसले न्यून रक्तचाप भएको संकेत गर्छ ।

-चक्कर आउनु

-आँखा धमिलो हुनु

-हातखुट्टा चिसो हुनु

-धेरै कमजोर वा थकित महसुस हुनु

यी लक्षण देखिएमा घरमै गर्न सक्ने उपाय पनि छन् । ढल्केर वा सुतेर केहीबेर आराम गर्न सकिन्छ । यसले अवरोध भइरहेको रक्तसञ्चारलाई सुचारु गरी शरीरको सम्पूर्ण अंगमा रक्त प्रवाह गराउँछ । नुन, चिनी र पानीको मिश्रण वा जीवनजल खान सकिन्छ ।

कस्तो बेला अस्पताल जाने ?

आराम गरेर वा नुनपानी पिउँदा पनि ठीक नभएमा, एक्कासि बेहोस भएमा र सहनै नसक्ने गरेर अप्ठ्यारो महसुस भएमा तुरुन्त अस्पताल जानुपर्छ । न्यून रक्तचाप उच्च रक्तचाप जस्तै खतरनाक छ । त्यसैले रक्तचाप लामो समयसम्म सामान्य स्तरभन्दा तल रहन थाल्छ भने सतर्क हुन आवश्यक छ । रक्तचाप कम हुँदा शरीरका अंगहरूमा रगत राम्ररी पुग्दैन । यस्तो अवस्थामा हृदयघात, स्ट्रोक र अन्य गम्भीर समस्या आउन सक्छ ।

रक्तचापको स्तरलाई व्यवस्थित राख्न सकिन्छ

-स्वस्थकर खानपान र चुस्त दुरुस्त जीवनशैलीले रक्तचापलाई ठीकसँग नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

-रक्तचापको स्तर ठीक राख्न नुन धेरै महत्त्वपूर्ण छ । यदि रक्तचाप कम रहन्छ भने खानामा सोडियमको मात्रा बढाउनुपर्छ ।

-शरीरलाई हाइड्रेटेड राख्न दैनिक कम्तीमा ७-८ गिलास पानी पिउनुपर्छ ।

-दैनिक खाने आहारमा क्याफिनयुक्त चीजहरू समावेश गर्नुहुँदैन । यसले तत्कालै रक्तचाप बढाउँछ ।

-मौसमी फलफूल र तरकारी पर्याप्त खानुपर्छ ।

-धेरैबेर उभिएर काम नगर्ने र प्रायः रक्तचाप परीक्षण गराउँदा कम छ भने चिकित्सकको सल्लाह लिनुपर्छ ।

-योग र व्यायामले पनि शरीरमा रक्तचापलाई सन्तुलनमा राख्न मद्दत गर्छ । तर पहिले नै न्यून रक्तचापको बिरामी हुनुहुन्छ भने कुनै पनि योग वा व्यायाम गर्नुअघि चिकित्सक र विशेषज्ञको सल्लाह लिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *