गर्मीमा ‘लू’ बाट कसरी बच्‍ने ?

नेपालमा विगत केही दिनदेखि तापक्रम वृद्धि भइरहेको छ । मौसम पूर्वानुमान महाशाखा जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन तापक्रम वृद्धि हुने जनाएको छ । विभागकाअनुसार आगामी चार दिन जेठ ३० गतेदेखि असार १ गतेसम्म तातो हावा तथा ‘लू’ को सम्भावना यथावत् रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

फिजिसियन डा. पुष्पमणि खराल अत्यधिक गर्मी भएपछि शरीरमा तापक्रम धेरै बढ्ने जसले गर्दा शरीरबाट पसिना धेरै आउनाले गर्दा नुनको मात्रा घट्दै जाने बताउँछन् । उनी भन्छन्, ‘धेरै नै गर्मी भयो भने मुटुको चालमा परिवर्तन आउन सक्छ । रक्तचापमा पनि त्यसले समस्या गर्छ ।’ उनले विशेषत यो मौसममा बालबालिकाहरु र ज्येष्ठ नागरिकहरुलाई ख्याल गर्नुपर्ने बताउँछन् ।

भन्छन्, ‘बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई बढी असर गर्न सक्छ किनकि उनीहरुमा शरीरको तापक्रम सन्तुलन गर्ने प्रक्रिया अलि कमजोर हुन्छ ।’ उनी अत्यधिक तातो हावाबाट बच्न पानी प्रशस्त पिउने, धेरै घाममा नहिँड्ने, घाममा हिँड्दा छाता ओड्न सुझाउँछन् । भन्छन्, ‘चिसो पेयपदार्थ भन्दा पानी नै खानु राम्रो हुन्छ । त्यस्तो पेयपदार्थमा चिनीको मात्रा बढी हुन्छ जसले अप्रत्यक्ष रुपमा डिहाइड्रेसन हुन सक्छ । जीवनजल खानु राम्रो हुन्छ । अत्यधिक तापक्रम भयो भने मानिसहरु बेहोस पनि हुन सक्छन् । दिमाग पनि सुनिन्न सक्छ ।सिकिस्त अवस्थामा अस्पताल लानुपर्छ,’ उनले भने ।

‘लू’ बाट जोगिन के गर्ने ?

– धेरै पानी पिउने,

– बाहिर निस्किनै परे छाता ओड्ने वा पातलो कपडाले टाउको छोप्ने,

– हल्का खालको कपडा वा सुतीको कपडा लगाउने,

– खेतबारीमा कामकाज बिहान वा बेलुका गर्ने,

– चिसो पानीले नुहाउने,

– कागती पानी, नरिवल पानी तथा फलफूलको रस पिउने,

– फलफूल, काँक्रालगायत घरमा बनाएको ताजा खाना खाने,

के नगर्ने ?

– दिउँसो सकभर घर बाहिर ननिस्कने

– भान्सामा धेरै समय नबस्ने

– मदिरा सेवन नगर्ने

– क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने

के –के असरहरु हुन सक्छन् ?

– हृदयको गति तीव्र हुने,

– श्वासप्रश्वासमा समस्या हुने,

– शरीरबाट पसिना ननिस्कने,

– रक्तचाप कम हुने

– अचेत हुने

– शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने

– छाला सुख्खा, रातो र तातो हुने

२ वर्षभन्दा मुनिका बालबालिकालाई लू बाट कसरी जोगाउने?

– स्तनपान गराइरहेका बालबालिकाका लागि नियमित स्तनपान गराइरहने

– ठोस खानेकुराका अलावा झोलकुरा प्रशस्त खुवाउने

– घरमै बनाएको स्वस्थयकर खानेकुरा खुवाउने

– पसिना सोस्ने खालका सुतीका नरम कपडा खुकुलो हुने गरी लगाइदिने

– घाममा नराख्ने वा घाम लागेको बेला बाहिर ननिस्कने, नहिँड्ने

– शीतलमा बस्ने

– मौसमी तथा ताजा फलफूल राम्ररी धोइ पखाली गरी खुवाउने

यदि बालबालिकामा ज्वरो आएमा पानी प्रशस्त खुवाउने तथा कुनै असामान्य लक्षणजस्तै रिंगटा लागेजस्तो, अलसतलस भएमा, वान्ता गरेमा, सास फेर्न गाह्रो भए जस्तो देखिएमा वा बच्चा बेहोस भएमा तत्कालै नजिकैकाे स्वास्थ्य संस्था लान चिकित्सकहरुको सुझाव छ । हृदयको गति तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने , हनहनी ज्वरो आउनेजस्ता समस्यादेखि तुरुन्त अस्पताल पुग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *