भक्तपुरका व्यवसायीलाई जुजु धौको माग धान्ने चटारो

भादगाउँ । मानो रोपेर मुरी फलाउन रोपाइँमा व्यस्त हुनुपर्ने असार महिना । हिलो माटोमा पौंठेजोरी खेल्दै लडिबुडी गर्दा हुने थकानमा पनि बेग्लै खालको आनन्दको अनुभूति हुने बेला हो असार । यही असारको मध्य अर्थात् असार १५ रोपाइँ गर्दै हर्षोल्लासका साथ खुसी साटासाट गरी दही चिउरा खाएर रोपाइँ महोत्सव मनाउने दिन पनि हो ।

सरकारले राष्ट्रिय ‘धान दिवस’को रुपमा समेत मनाउन थालेपछि असार १५ को महत्वले अझ बढी व्यापकता पाएको छ । धानबाली नेपालको प्रमुख बाली हो । धानलाई मात्र अन्न मान्ने परम्परासमेत रहेको नेपालमा रोपाइँलाई एउटा पर्वकै रुपमा लिने गर्दछ । त्यसैले रोपाइँमा बाजागाजासहित गीत गाउने रोपाइँ सकेपछि भोज गर्ने प्रचलनसमेत रहेको छ ।

गाउँका मुखिया, काजी र ठूलाबडाले रोपाइँलाई ठूलो पर्वको रुपमा मनाउने नेपाली समाजमा अन्य साना किसानले समेत रोपाइँलाई पर्वको रुपमा मनाउन असार १५ मा दही चिउरा खाने परम्पराको विकास भएको संस्कृतिकर्मीहरुको भनाइ छ । त्यसैले असार १५ मा दहीको माग अत्याधिक हुने गर्दछ ।

असार १५ को यही मागलाई धान्न भक्तपुरका दही व्यवसायीलाई अहिले चटारो परेको छ । भक्तपुरको दही उपत्यका मात्र नभएर मुलुक बाहिरसमेत प्रख्यात छ । यहाँ उत्पादन हुने मौलिक र परम्परागत जुजु धौको स्वाद र गुणस्तरका कारण यो अत्याधिक लोकप्रिय रहेको छ । एक पटक यसको स्वाद चाखेको व्यक्तिले हत्तपत्त अन्य दही खान मन नपराउने भएकाले यसको माग उच्च छ ।

असार १५ कै लागि साविकको तुलनामा चार गुणा बढी जुजु धौ उत्पादन गर्नु परेको व्यवसायीहरु बताउँछन् । भक्तपुर नगरपालिका–२ ब्यासीस्थित आर.एस.जुजु धौ सप्लार्यसका रिना सुवालले असार १५ का लागि कम्तीमा पनि सात हजार लिटरको दही उत्पादन गरेको बताइन् । उनले अन्य दिन बढीमा दुई हजार लिटर दूधको जुजु धौ उत्पादन गर्दै आएको बताइन् ।

भक्तपुर नगरपालिका–३ वंशगोपालस्थित श्री बाराही जुजु धौ भण्डारका व्यवसायी राधेश्याम कर्माचार्यले असार १५ का लागि तीन दिन अघिदेखी जुजु धौ तयारी गरिरहेको बताए । असार १५ का लागि एक साता अघिदेखि जुजु धौको अर्डर आउने गरेको बताउँदै एक साता अघिदेखि दूध सङ्कलन र आवश्यक भाँडाको जोहो गर्न समस्या भएको बताए । उनका अनुसार जुजु धौका लागि कम्तीमा ५/६ प्रतिशत फ्याट भएको दूध आवश्यक हुन्छ तर बजारमा त्यति गुणस्तरको दूध पाउन मुस्किल हुने गर्दछ ।

भक्तपुरमा जुजु धौ व्यवसायी करिव डेढ सयका हाराहारीमा छन् । ती व्यवसायीले औसतमा दैनिक २५÷३० हजार लिटर दूधको जुजु धौ उत्पादन गर्दै आइरहेको छ । असार १५ मा जुजु धौको माग उच्च हुने गरेकाले कम्तीमा एक लाख लिटर दूध आवश्यक पर्ने भक्तपुर जुजु धौ व्यवसायी सङ्घका अध्यक्ष कृष्ण गोपाल सैंजुले बताए ।

जुजु धौ व्यवसायीले पहिले पहिले भक्तपुरका ग्रामीण भेग र आसपासका काठ क्षेत्रबाट दूध सङ्कलन गरी दही उत्पादन गर्दै आएका थिए । पछिल्लो सयम बढ्दो सहरीकरणले भैँसी पालन व्यवसाय लोप हुँदै गएपछि जुजु धौ व्यवसायीहरुले अहिले धुलिखेल, कुशादेवी, चितवन, नारायणघाट, झापा, बुटवल र नेपालगञ्जसम्म पुगेर दूध सङ्कलन गरी ल्याउने गरेको सैंजुले जानकारी दिए ।

जुजु धौ बनाउन डेरीको सामान्य दही बनाउनेभन्दा धेरै समय, परिश्रम र लगानी आवश्यक पर्छ । जुजु धौ बनाउन दूधलाई बाक्लो हुने गरी राम्रोसँग चलाउँदैं कराइमा उमाल्नुपर्छ । दूध उमाल्दा एक क्यान बराबर चार केजी चिनी हालेर नडढ्ने गरी चलाउँदै राम्रोसँग उमाल्नुपर्छ । उमाल्न पुगेपछि भुसमाथि राखेको माटोको कटौरामा पहिले कटौराको आधा भाग मात्र दुध राख्नु पर्दछ ।

उक्त दूध सेलाएर ४० डिग्री तापक्रममा पुगेपछि बाँकी आधा भागमा दूध भरी हालेर धौ पुसा (दहीको बीउ/जोरन) राखिन्छ । त्यसपछि दही जमाएको कटौरामाथि अर्को कटौराले छोपेर त्यसको माथि न्यानो हुनेगरी सिरक र जुटको बोराले छोपेर राख्नु पर्दछ । यसरी छोपेर राखेको ५ घण्टामा जुजु धौ तयार हुन्छ । त्यसपछि चिसो पार्न फ्रिजमा राखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *