सीमावर्ती बजारमा भारु १ सयमा नेरु १५० पनि साट्न मान्दैनन् व्यापारी

सीमावर्ती बजारमा भारु १ सयमा नेरु १५० पनि साट्न मान्दैनन् व्यापारी

सीमावर्ती बजारमा भारु नोट चल्न छाडेपछि कोशी प्रदेशको पर्यटन र होटल व्यवसाय प्रभावित भएको छ । यो प्रदेशको पर्यटन र होटल व्यवसाय भारतीय पर्यटकमा निर्भर छ । भारु नचल्ने अवस्थाकै कारण सीमावर्ती बजारको खरिद बिक्रीमा पनि प्रभाव परेको छ ।

भारु १ सयमाथिका नोट नेपालमा प्रतिबन्ध नै छ । भारु १ सयका नोट चलाउन पनि व्यवसायीले आनाकानी गर्छन् । भारु १ सयमा १० रुपैयाँ बट्टादर (डिस्काउन्ट) दिँदा पनि नेपालको सीमावर्ती बजारमा चल्न छाडेको छ । १ सय भारु बराबर १६० नेरु तोकिएको विनिमयदर हो । तर सीमावर्ती बजारमा तोकिएको दरमा कारोबार हुन छाडेको महिनाैं भइसक्यो । उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका पर्यटन संयोजक भविष श्रेष्ठले भारु नोट चल्नै छाडेपछि भारतीय नागरिक आउने क्रम पातलिएको र त्यसले पर्यटन तथा होटल व्यवसायमा ठूलो प्रभाव पारेको बताए ।

‘भारु नोट सहजै चल्दा जोगबनी, काँकडभिट्टा र पशुपतिनगर नाकाबाट दैनिक सरदर ३ सय भारतीय नम्बर प्लेटका गाडी भित्रिन्थे’ उनले भने ‘पछिल्लो समय भारु नोट चल्न छाडेपछि ती नाकाबाट आउने भारतीय पर्यटक निकै कम छन् ।’ भारु नोट चल्न छाडेपछि नै पर्यटकको संख्यामा कमी आएको उनको दाबी छ ।

कोशी प्रदेशमा पर्यटकस्तरीय र तारे गरेर एक हजार होटल छन् । भारतीय पर्यटकमा आधारित ती होटलमा ५० अर्ब भन्दा बढी लगानी रहेको क्षेत्रीय होटल संघका अध्यक्ष राजन श्रेष्ठ बताउँछन् । भारु नोट नचल्दा यतिबेला धेरै होटल खाली भएको उनले बताए । यसले नेपाल पढ्न आउने भारतीय विद्यार्थी र उपचारका लागि आउने बिरामी समेत प्रभावित भएका छन् । नोवेल शिक्षण अस्पतालमा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत भारतीय विद्यार्थी शंकर देवले भने ‘पकेट खर्च सबै भारुमै आउँछ, कुनैपनि पसलले लिन मान्दैनन् । १ सय भारुलाई नेरु १५० मा दिँदा पनि लिन मान्दैनन् ।’ कलेजलाई दिने शिक्षण शुल्क भने बैंक टु बैंक कारोबार हुने गरेको उनले बताए ।

भारतीय नोट नचल्दा विराटनगरसहित आसपासका सीमावर्ती बजारको चलपहपनि प्रभावित भएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालको भनाइ छ । ‘सीमावर्ती भारतीय बजार जोगवनीका व्यापारीले समेत भारु लिन छाडेपछि विराटनगर र आसपासका व्यापारीले पनि भारु नोट लिन छाडेका छन्’ रिजालले भने ‘भारु नोट नचल्दा बजारको खरिद बिक्री ४० प्रतिशतले घटेको छ ।’

कुनै बेला भारु लिन होडबाजी गर्ने व्यवसायी यतिबेला भारु लिन मान्दैनन् । पहिले सटही सेन्टरले १ सय भारुलाई नेरु १६५ रुपैयाँसम्म हालेर किन्थे । अहिले भने भारु कारोबारमा अवमूल्यन भएको छ । मजदूरीका लागि भारत पुगेर फर्कनेले पनि भारु बोकेर आउनु र कालोबजारीबाट भारु भित्रिँदा बजारमा भारुको भाउ घटेको स्थानीय व्यापारीको बुझाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *