यस्ता लक्षण देखिँदा सर्पले टोकेको हुन सक्छ, ख्याल गरौँ

गर्मीमा शीतल खोज्दै हामी बस्ने ठाउँ नजिकै सर्प आएर बस्न सक्छन् । त्यस्तो अवस्थामा मानिस र सर्पको जम्का भेट हुन्छ र खतराको महसुस गरेर आत्मरक्षाको लागि सर्पले टोक्ने गर्छन् ।

सर्प दिनमा भन्दा रातको बेला बढी सक्रिय हुन्छन् । आफ्नाे आहार खोज्दै कहिलेकाहीँ हामी बस्ने घरभित्र पस्ने गर्छन् । कुनैबेला हामीले नदेख्ने ठाउँमा लुकेको हुन सक्छ । त्यसैले राति सुतेको बेला हातखुट्टा चलाउँदा आत्मरक्षाको रूपमा सर्पले टोक्न सक्छ । नेपालमा पनि सर्पदंशको घटना दिनमा भन्दा रातमा धेरै भएका छन् ।

सबै सर्पले टोक्दा लक्षण नदेखिन सक्छ

सामान्यतया सर्पले टोकेको ठाउँमा दाँतको दाग देखिने, रगत बग्ने, सुन्निने, रातो हुने, दुख्ने भएकाले सर्पले टोकेको अनुमान लगाउन सकिन्छ । तर सबै सर्पले टोक्दा यस्ता लक्षण नदेखिन पनि सक्छन् ।

कुनै सर्पले टोक्दा टोकेको ठाउँमा दुख्ने गर्छ । कुनै सर्पले टोक्दा दुखाइको महसुस नहुन सक्छ । सुन्निने, झमझमाउने लगायतका सर्पदंशका अरु लक्षणहरू टोकेपछि तुरुन्तै देखिँदैन ।

विषालु सर्पले टोकेको भए शरीरमा विष फैलिन र शरीरले प्रतिक्रिया दिन केही समय लाग्न सक्छ । सर्पले टोकेको समयमा सर्प नदेखिए, धेरैलाई सर्पले टोकेको होइन कि जस्तो लाग्छ । यसले बिरामीलाई अस्पताल लैजाने समय घर्किँदै जान्छ र अनावश्यक समस्या थपिन सक्छ ।

सर्पले टोकेको कसरी थाहा पाउने ?

सर्पदंशबाट हुन सक्ने जोखिमपूर्ण अवस्थाको मूल्याङ्कन आफैँले गर्नु पर्ने हुन्छ । विशेषगरी राति भुइँमा सुतेको बेला वा वन जङ्गलमा हिँड्दा अचानक वान्ता आउने, पेट दुख्ने, वाकवाकी हुने, चक्कर आउने, कमजोरी महसुस हुने, शरीरको कुनै ठाउँ लाटो हुने वा झमझमाउने जस्ता समस्या देखिनेबित्तिकै सर्पदंश हो कि भनेर जानकारी राख्नु एकदमै महत्त्वपूर्ण हुन्छ ।

विषालु सर्पले टोकेको २ घण्टादेखि १२ घण्टा भित्रमा लक्षण देखिन थाल्छ । राति कसैलाई सर्पले टोकेको भए त्यसको असर दिउँसो देखिन सक्छ । त्यसैले सर्प नदेखिए पनि सर्पले टोक्यो कि भनेर बुझ्नु पर्छ ।

विषालु सर्पहरूले टोक्दा टोकेको ठाउँमा निलो दाग देखिन सक्छ । त्यस्तै, विषालु सर्पले टोकेमा वान्ता हुने, घाँटी अड्याउन नमिल्ने, मुटुको गति बढ्ने, सास फेर्न गाह्रो हुने, हेर्न गाह्रो हुने वा दृष्टि कमजोर हुँदै जाने, जिब्रो बाहिर निकाल्न वा मुख खोल्न गाह्रो हुने, पसिना आउने, मुखमा धेरै र्‍याल आउने, जस्ता समस्या देखिन्छन् ।

सर्पले टोकेको शङ्का लागे के गर्ने ?

सबै सर्पको टोकाइ हेरेर पहिचान गर्न गाह्रो हुन सक्छ । त्यसैले सर्पले डस्यो भने, यो विषालु होस् वा नहोस्, तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गइहाल्नु पर्छ ।

सर्पले टोकेको शङ्का लागे पहिलो कुरा त न आत्तिन हुँदैन । नजिकै को छ, उसको सहयोग माग्नुपर्छ । शङ्का लागेको भागलाई हलचल गराउनु हुँदैन । नजिकै रहेका स्वास्थ्यकर्मीलाई बोलाउनुपर्छ । सम्भव भए नजिकै जुन साधन छ त्यसमै चढेर स्वास्थ्यकर्मी भएको ठाउँसम्म पुग्नुपर्छ ।

स्वास्थ्यकर्मीले श्वासप्रश्वासको सहायता गर्न सके बिरामीको स्वास्थ्य थप एक घण्टाको लागि सामान्य रहन सक्छ । यो समय भित्र नजिकैको स्वास्थ्य संस्था पुग्नु पर्छ । स्वास्थ्य संस्था पुगेपछि बिरामीलाई अक्सिजनको व्यवस्था गर्न सके अर्को ३, ४ घण्टाको लागि स्वास्थ्यमा जटिलता आउन पाउँदैन । यसरी बिरामीको स्वास्थ्यमा थम जटिलता आउनुभन्दा पहिले नै उपचार गर्न सकिन्छ । बेलैमा उपचार पाएर एन्टीस्नेक भेनम दिएपछि बिरामी १, २ घण्टामै ठिक हुन्छन् । एन्टीस्नेक भेनमले सर्पको विषको प्रभावलाई कम गर्छ । साथै उत्पन्न हुन सक्ने अरु कुनै पनि जटिलताहरू व्यवस्थापन गर्न सक्छन् ।

यदि सर्पको टोकाइपछि स्वास्थ्य संस्था पुर्‍याउन ढिला भयो भने यसले गम्भीर परिणामहरू निम्त्याउन सक्छ । सर्पदंशको पहिचान नभए विष शरीरमा फैलिन्छ, जसले महत्त्वपूर्ण अङ्कहरूलाई असर गर्छ । श्वासप्रश्वास वा हृदयसम्बन्धी जटिलताहरू निम्तिन सक्छ । सर्पको टोकाइलाई पहिचान गरी उचित उपचार गरिएन भने यसले स्नायुमा क्षति, वा हातखुट्टाको क्षति जस्ता दीर्घकालीन जटिलतासँगै बिरामीको ज्यान समेत जान सक्छ ।

सर्लाही, सिन्धुली, दाङ, सुनसरी, महोत्तरी, कञ्चनपुर, उदयपुर धनुषा, मोरङ लगायत ३१ जिल्लाका विभिन्न अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, हेल्थपोस्ट र सर्पदंश उपचार केन्द्र गरी कुल १ सय ३ स्वास्थ्य संस्थामा सर्पदंशको उपचार हुन्छ ।

के नगर्ने ?

सर्पले टोकेको ठाउँमा काट्ने, पोल्ने, चुस्ने वा विष निकाल्ने प्रयास नगर्ने । यसले शरीरमा झन् चाँडै विष फैलिन सक्छ ।

टोकेको ठाउँ वरपर डोरी वा कपडाले नबाँध्ने । यसले गर्दा रगतको प्रवाह नहुन सक्छ र पछि बाँधेको अङ्ग नै काट्नु पर्ने अवस्था आउनु सक्छ । सर्पले टोकेको ठाउँमा, गाई गोरुको गोबर, पिसाब, माटो, सिन्दुर लगायत परम्परागत वा घरेलु उपचारका तरिका प्रयोग नगर्ने । यसले थप दीर्घकालीन असर निम्त्याउन सक्छ ।

कसरी बच्ने ?

सबैभन्दा पहिले सतर्क रहने । भुइँमा नसुत्ने, सुत्दा झुलको प्रयोग गर्ने, सुत्नुभन्दा पहिले सबै ठाउँ एकचोटी हेर्ने । जुत्ता लगाउँदा एकचोटी हेरेर लगाउने ।

वन, जङ्गल, घाँसे मैदान र ढुङ्गा भएको ठाउँमा जाँदा लट्ठीलेे ले हिर्काउँदै हिँड्ने । जसले गर्दा सर्प भाग्न सक्छ ।

खेतबारीमा काम गर्दा, घाँस काट्दा जुत्ता, गमबुट, पञ्जा, हात खुट्टा ढाक्ने गरी पूरा लुगा लगाउने । रातमा हिँड्दा टर्चलाइटको प्रयोग गर्ने सर्पलाई जिस्काउने काम नगर्ने ।

घरका प्वालहरु टाल्ने, आफू बस्ने ठाउँहरू सफा राख्ने, काठ र घाँस भए हटाउने । खोला, ताल वा पोखरीमा पौडी खेल्दा, माछा मार्दा वा किनारमा हिँड्दा सतर्क रहने ।

सर्पबारे केटाकेटी, ज्येष्ठ नागरिक, छरछिमेक, टोल समुदायमा सबैलाई शिक्षा दिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *