झापामा जङ्गली हात्तीका कारण ६१ जनाले ज्यान गुमाइसकेका छन् । जसमा ६ जना भुटानी शरणार्थी बेलडाँगी दमक र एक जना भारतीय रहेका छन् । बर्षेनी करोड बढी धनजनको क्षति हुँदै आएको छ । यस्तै १७ वटा हात्ती मरेका छन् । २०६२ साल यता २०८० असार सम्मकोे तथ्याङ्कले यस्तो देखाएको छ । झापामा हाल १५ ओटा रैथाने जङ्गली हात्ती रहेको अनुमान गरिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
बर्षेनी जङ्गली हात्तीले झापामा जनधनको ठूलो क्षति पुर्याउँदै आएको छ । नियन्त्रणका लागि दीर्घकालीन ठोस योजना तथा नीति पारित नहुँदा आएको बजेट उपलब्धिमुलक नभएको पाइएको हो । हात्तीको आक्रमणबाट आर्थिक वर्ष २०६८। ०६९मा ९ जनाले ज्यान गुमाएका थिए । सो वर्ष २३ जना पीडितगरी १८ लाख ३० हजार १ सय ६० रुपैयाँ राहत वितरण गरिएको थियो ।
त्यसैगरी हात्तीको आक्रमणबाट ०६९/७० मा ८ जनाले ज्यान गुमाएका थिए । सो वर्ष गाइ गोठ अन्नबाली र घाइते गरी ७८ जना पीडितलाई राहतस्वरुप २५ लाख ४ हजार २ सय २२ रुपैयाँ वितरण गरिएको थियो । त्यस्तै ०७०/७१ मा ३ जनाले अकालमा ज्यान गुमाएका थिए । भने अन्य भौतिक क्षति गरी ८१ जना प्रभावित भएका थिए । सरकारले उनीहरूलाई १८ लाख ५३ हजार ७ सय रुपैयाँ बराबरको राहत रकम प्रदान गरेको थियो ।
त्यसैगरी ०७१/७२ मा १ जनाको ज्यान गएको थियो भने अन्य क्षतिमा २ सय ८४ गरी ३७ लाख ४ हजार ९ सय २७ राहत रकम वितरण गरिएको थियो । ०७२/७३ मा ४ जनाको मृत्यु भएको थियो भने ९ सय १९ परिवार पीडित बनेका थिए । सो वर्ष ९५ लाख ९६ हजार २ सय १० रुपैयाँ पीडितलाई वितरण गरिएको थियो ।
त्यसैगरी ०७३/७४ मा ७ जनाले ज्यान गुमाएका थिए । हात्तीका कारण ७१ परिवारमा क्षति पुगेको थियो । सो वर्षमा ३९ लाख ९४ हजार २ सय ५ रुपैयाँ राहत वितरण गरिएको थियो । त्यस्तै ०७४/७५ मा ५ जनाको मृत्यु भएको थियो भने पीडित बनेका २६९ परिवारलाइ ८० लाख ८९ हजार १ सय ९० रुपैयाँ राहत पाएका थिए । त्यसैगरी ०७५/७६ मा हात्तीका कारण १ जनाको ज्यान गएको पाइएको छ भने अन्य क्षति भने ५ सय ४६ परिवारमा पुर्याएको छ । सरकारले सो वर्षमा ६५ लाख १४ हजार २ सय ३१ रुपैयाँ बराबरको राहत रकम वितरण गरेको थियो ।
२०७६/७७ मा दुईजनाको ज्यान गएको थियो भने पीडित बनेका ४८५ परिवारलाइ ६२ लाख १२ हजार ३ सय ९५ रुपैयाँ बराबरको रकम राहत स्वरुप वितरण गरिएको थियो । त्यसैगरी २०७७/७८ मा तीनजनाको मृत्यु भएको थियो । सो वर्ष २१२ परिवार पीडित बनेका थिए । सरकारले उनीहरुलाइ ३५ लाख ६१ हजार ८ सय रुपैयाँ राहत रकम वितरण गरिएको थियो ।
२०७८/०७९ मा पाँचजना हात्तीका कारण मारिएका थिए भने ४ सय ४० परिवार पीडित बनेका थिए । सो वर्ष पीडितले १ करोड २६ लाख ४८ हजार ९ सय ७६ रुपैयाँ राहत पाएका थिए । २०७९/ ८० मा ६ जनाले ज्यान गुमाएको डिभिजन वन कार्यालयका सुचना अधिकारी अञ्जना पुरीले जानकारी दिनुभयो । सो वर्षमा ५१४ जना पीडितले राहत पाएको उहाँले बताउनुभयो । हात्तीको आक्रमणबाट घाइते, मृत्यु भएका, सम्पत्ति, चौपाया र अन्नबालीमा क्षति पुर्याएकोले क्षतिपूर्तिबापत उनीहरुले एक करोड ११ लाख ३७ हजार ७०३ रूपैयाँ राहत प्राप्त गरेको उहाँले जनाउँनुभयो । सरकारले मृतकका लागि ५० लाख, घाइतेको उपचारका लागि नौ लाख १८ हजार २२५, चौपाया र अन्नबालीमा क्षति बापत ५२ लाख १९ हजार ४७५ रूपैयाँ राहत रकम उपलब्ध गराइएको उहाँको भनाइ छ । हालसम्म १७ वटा हात्तीसमेत मरेको उहाँले बताउनुभयो ।
मृत्यु हुने मानिस अधिकांश किसान मजदुर वर्गका रहेका छन् । जसले आफ्नै घर–खेतमा हात्तीेले आक्रमण परेर ज्यान गुमाउनु परेको पाइएको छ । हात्तीका कारण ज्यान गुमाउने गैर नेपालीले राहत रकम पाउने व्यवस्था छैन भने नेपाली नागरिकले राहत रकम पाउने गरेका छन् ।
२०४१ सालपछि झापाको प्रमुख समस्या बन्दै गएको हात्ती–मानव द्वन्द्व नियन्त्रणको पटक –पटक गरिएको प्रयास अहिलेसम्म सफल हुन सकेको छैन । यसको व्यवस्थापन हुन नसक्दा जनधनको क्षति र हात्ती मारिने क्रम रोकिएको छैन । वन कार्यालयले उपलब्ध गराएको विवरण अनुसार हात्तीका कारण बढी क्षति हुने स्थानहरुमा साबिक दुवागढी, चन्द्रगढी, गरामनी, पृथ्वीनगर, जलथल, बालुबाडी, घेराबारी, केचना , शान्तिनगर, बुधबारे, बाहुण्डाँगी, खुदुनावारीका स्थानहरु रहेका छन् । आर्थिक वर्ष २०७० । ०७१ सम्म बाहुनडाँगीमा हात्तीको उपद्रो धेरै थियो ।
हात्ती नियन्त्रणमा प्रकृति संरक्षण कोषबाट झापाको जलथल हुँदै मागुरमाडी सम्म १ सय ४५ किलो मिटर क्षेत्रमा जैविक मार्ग सोलार फेनसिङका लागि काम शुरु भइसकेको डिभिजन वन कार्यालयको तथ्याङ्कमा देखिएको छ । बाहुनडाँगी छोएर बग्ने मेची नदीको किनारमा निर्माण गरिएको १८ किलोमिटर लामो विद्युतीय तारबारका कारण हात्तीको उपद्रो दक्षिण तर्फ सरेको स्थानीयको बुझाई छ ।
भारतको आसामबाट हात्तीको बथान बाहुनडाँगी नाकाबाट नेपाल प्रवेश गरी खेतीबाली पाक्ने समयमा ठूलो क्षति गर्ने गर्थे तर तारबार लगाएपछि हात्तीको त्यस्तो ठूलो समूह नेपाल प्रवेश गर्न सकेको छैन । साना साना झुण्ड बनाएर मेची नदी किनारबाट दक्षिण पूर्वी ज्यामिरगढी हुँदै दुवागढी र चन्द्रगढी वन क्षेत्र तथा चारआली जङ्गलमा आश्रय बनाएका हुन्छन् । हात्तीको बासस्थानका लागि चारकोशे झाडीको सवैभन्दा ठूलो अवशेषका रुपमा रहेको दक्षिणी झापाको जलथल जङ्गल रोजाइमा पर्ने गरेको छ ।
यो जङ्गल तराइको उष्ण प्रदेशीय हावा पानी भएको सदावाहार जङ्गल भएकाले यस जङ्गलमा हात्ती रमाएर बस्ने गरेको जानकार बताउँछन् । यही जङ्गलको आडमा बस्ने हात्तीले आसपासका क्षेत्रमा जनधनको क्षति गर्ने क्रम बढेको घटनाक्रमले देखाएको छ ।
कहाँ – कहाँ मरे १७ वटा हात्ती
०६२ सालमा सताक्षीधाममा,०६६ असार २८ मा वाहुनडाँगीमा , ०६८ साउन ११ मा मागुरमाडी सामुदायिक वन,०६९ जेठ ३० मा वाहुनडाँगी , असार २२ शान्तीनगर र असोज २० मा जुकेखाडी सामुदायिक वनमा मरेका थिए ।
त्यसैगरी ०७२ जेठ २१ वाहुनडाँगीमा ,०७४ असार २८ मा कचनकवलमा मरेको थियो त्यसैगरी ०७५ साउन २ मा पाँच पोखरी सामुदायिक वन ,भदौ २१ मा मेचीनगरपालिका र ०७६ असार १४ मा रणकाली सामुदायिक, ७६ माघ १३ अभिमुत्तेश्वर सामुदायिक वन , ७७ कात्तिक १४ मा पाँचपोखरी वनमा , ०७९ असार १७ बुद्धशान्ति ,असार २२ अर्जुनधारा ४ दहिझोडा खोला किनार,०७९ कात्तिक ३० मा कचनकवल र ८० जेठ ८ मा बुद्धशान्तिमा हात्तीको ज्यान गएको थियो ।
हात्ती डेढ वर्ष देखी ५५ वर्ष उमेरसम्मका मरेका छन् । जसमा १४ भाले ,लिङ्ग नछुटिएको २ र एक पोथी रहेको तथ्याङ्कमा उल्लेख छ ।