आफू मरिसकेको हल्ला सुनेपछि…

आफू मरिसकेको हल्ला सुनेपछि…

समय सधैं एकनासले कहाँ चल्दो रहेछ र ! २८ फागुन २०७६ मा ममाथि ठूलो बज्रपात पर्‍यो । विराटनगरस्थित लाइफ गार्ड अस्पतालका चिकित्सकहरूले मेरो रगतको रिपोर्ट हेरे । मुखामुख गरे । दुई जना डाक्टरहरूको हाउभाउले प्रष्ट भयो ममाथि कुनै अनिष्ट आइलागेको छ ।

‘तपाईं ढिलो नगरी भोलि बिहानै भरतपुर जानुहोस् ।’ वरिष्ठ चिकित्सक कैलाशकुमार श्रेष्ठको आवाज कानमा गुञ्जियो । भरतपुर ! म छाँगाबाट खसे जस्तो भएँ । के मलाई ब्लड क्यान्सर भएको हो ? लक्षण त्यस्तै छ, चिकित्सकको भनाइबाट म अवाक् भएँ ।

म कुनाको सोफामा थचक्क बसें । चिट्चिट् पसिना आयो । एकाएक सन्नाटा । आँखा धमिला भए । गला अवरुद्ध भयो । लाग्थ्यो, मृत्यु आँखै अगाडि उभिएको छ  । सबैतिर अन्धकारै अन्धकार । जसोतसो लर्बराउँदै घर पुगें ।

हतास मन लिएर भोलिपल्टै काठमाडौं उडियो । रक्त क्यान्सर रोग विशेषज्ञ डा. विशेष पौडेलसँगको भेटपछि उहाँले भनेको सम्भिmन्छु एक महिनाभित्र तपाईंलाई जे पनि हुनसक्छ । जे भए पनि मैले सरकारी अस्पताल भएकाले सिभिल रोजेको थिएँ । म अस्पताल भर्ना भएँ ।

भर्ना भएको १ महिना १० दिन अर्थात् १० चैत २०७६ देखि लकडाउन सुरु भयो । बाँच्ने कुनै सुनिश्चितता छैन । मेरो जस्तो रोग लागेकाहरूमध्ये अधिकांशले यमलोकको यात्रा तय गर्दैछन् । त्यसमा पनि स-साना बालबालिका थिए । लक्का जवान पनि त्यसरी नै एकपछि अर्को गर्दै आँखै अगाडि गए । धेरैजसो पहिलो ७ दिन ७ रातको केमुको कहर थेक्न नसकेर गए । बाँकी त्यसपछिको हाइडोजको केमुमा ।

जेहोस् सास रहुन्जेल आश हुन्छ । बाँच्ने जिजीविषा बाँकी नै हुँदोरहेछ । असाध्यै कडा केमुको कहर झेल्दै कडा लकडाउन र कोभिडको जोखिमबीच ५ महिना निरन्तर अस्पताल बसियो । उपचार सकिएको ९ महिनामै रोग दोहोरियो । अबको एक मात्र विकल्प बोनम्यारो प्रत्यारोपण थियो ।

त्यसको पनि विश्वमै सफलता दर धेरै छैन । बाँच्ने नबाँच्ने पनि टुंगो हुँदैन । ८० प्रतिशत त्यो बेलाको कडा किमोको कहर झेल्न नसकेर जान्छन् । मलाई पनि चिकित्सकले बोनम्यारो प्रत्यारोपण सफल भएन भने । डाक्टरी भाषामा जीवीएचडी भयो भने ।

यो भनेको सामान्य भाषामा होस्टको मोनम्यारोले डोनरको बोनम्यारो खायो भनेको हो । तैपनि मरी त हालिंदैन होला नि जस्तो लाग्यो । तर कताकता मृत्युको भय त थियो नै । तर त्यो परिस्थितिमा के नै पो गर्न सकिन्थ्यो र ! तर बेला नपुगी कहाँ गइँदो रहेछ र ! कडा खाले रक्त क्यान्सर, तीन चोटि कोभिड, पाँच पटक निमोनियाले पनि मलाई लगेन । गलायो मात्रै । म थाकेको अवश्य थिएँ तर हरेश कहिल्यै खाइनँ ।

साँच्चै हृदयको गहिराइबाटै उबेला मलाई बचाउन तन, मन र धन दिएर सहयोग गर्ने ती सबै सहयोगी मनहरूलाई ठूलो स्वरमा, खुशीले चिच्याएर कटुवाल कराए झैं विशेष धन्यवाद दिन मन छ
आज मलाई त्यस्तो भएको २ वर्ष पूरा भएर ३ वर्ष लाग्दैछ । अब तपाईं बच्चा हो- चिकित्सकहरू भन्छन् । बोनम्यारोले ब्लड उत्पादन गर्ने हो । मेरो पुरानो बोनम्यारोमा क्यान्सरका सेलहरू प्रशस्तै थिए । त्यसलाई प्रतिस्थापन गरेर डोनरको बोनम्यारो प्रत्यारोपण गरेको हो । त्यो पनि आफ्नै छोराको ।

मेरो बोनम्यारो प्रत्यारोपण भएको हिसाबले चिकित्सकहरूले मेरो पुनर्जन्म भएको मान्छन् । आजकै दिन अर्थात् ७ साउन २०७८ मा मेरो बोनम्यारो प्रत्यारोपण भएको थियो । मेरा शरीरका रक्तकोषहरू सबै नयाँ बने । त्यो भएर मैले एक वर्षको बीचमा बच्चालाई लगाउने सबै भ्याक्सिन लगाइसकें । पोलियो, डीपीटी, बीसीजी, दादुरा इत्यादि… ।

म धेरै पटक मरेर बाँचेको मान्छे हुँ । गाउँतिर मरिसक्यो भनेर हल्ला पनि चलेछ । आम बुझाइ के छ भने यस्तो हल्लाले आयु झनै बढ्छ । हुन त सबैको जीवनमा मृत्यु सँगसँगै हिंडिरहेको हुन्छ, अझ भनौं त्यो जीवनको निकै नजिक भएर हिंडिरहेको हुन्छ । जीवनलाई टिपुँटिपुँ गर्दै हिंडिरहेको हुन्छ । फूलबारीको फूल टिपुँटिपुँ लागे झैं ।

मृत्युले कहिले नजिकैबाट झम्टिएको भान दिन्छ, तर त्यसले जितिसकेको हुँदैन । तर, पटक-पटक झम्टिरहेको हुन्छ । किनकि, मर्नलाई कुनै योजना बनाउनुपर्दैन । मर्नु भनेको कहिल्यै नबिउँझिने गरी निदाउनु हो । मेरो जिन्दगीमा धेरै पटक यस्तो घटना भएको छ । कैयौं पटक मृत्यु मेरो नजिकैबाट गुजि्रसकेको छ । त्यसले मलाई धेरै पटक जबर्जस्ती घिच्याएर आफूसँगै लैजान पनि नखोजेको होइन । तर सकेन ।

मान्छेको जीवनमा जसरी प्रेम र पश्चात्ताप छ, क्रोध र करुणा छ, सम्बन्ध, संस्कार र संस्कृति छ, परिवार, समाज र जीवन छ त्यस्तै मृत्यु पनि छ । डरपोकहरू मृत्युको कुरा गर्न सक्दैनन् । र, त्यस्ता मानिसहरू मृत्युले समाउन खोजेका बेला उम्कन पनि सक्दैनन् ।

सुखको शिखरबाट देखिने जीवन र दुःखको सागरबाट देखिने जीवन पृथक् पृथक् हुन्छन् । जीवनको परिभाषा भोगाइसँग जोडिन्छ । जतिजति भोगाइ खोतल्दै जान्छौं, जीवनको गहिराइ पनि त्यतित्यति बढ्दै जान्छ । प्रायः मान्छेहरू जीवनलाई लम्बाइ र चौडाइमा नाप्छन् तर जीवनको खास रहस्य गहिराइमा भेटिन्छ । म अहिले त्यही गहिराइ खोतल्दैछु ।

जीवनसँग जोडिने अर्को अपरिहार्य पाटो हो- मृत्यु । हामी जति जीवनको चर्चा गर्ने गर्छौं, त्यति नै डराउँछौं मृत्युदेखि । तर, जीवनले मृत्यु पनि सँगै बोकेर हिंड्दैछ भन्ने बुझ्दैनौं । स्वीकार गरौं या नगरौं, जीवनको अन्त्य निश्चित छ । मैले जीवनमा एक दर्जनभन्दा बढी पटक मृत्युलाई नजिकैबाट नियालेको छु, साक्षात्कार गरेको छु ।

उच्च मनोबल, परिवारको साथ र शुभेच्छुकहरूको भुलिनसक्नु साथबाट अहिले म करिब करिब पहिलेकै अवस्थामा आइपुगेको छु । पुरानै लयमा फर्किएको छु ।

सक्रिय पत्रकारितामा फर्किएको छु । साँच्चै हृदयको गहिराइबाटै उबेला मलाई बचाउन तन, मन र धन दिएर सहयोग गर्ने ती सबै सहयोगी मनहरूलाई ठूलो स्वरमा, खुशीले चिच्याएर कटुवाल कराए झैं विशेष धन्यवाद दिन मन छ । धन्यवाद !

(लेखक पौडेल ब्लड क्यान्सर सर्भाइभर हुन् ।)
onlinekhabar.com बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *