सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको लर्को

बाँकेको नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको चहलपहल सुरु भएको छ । साउनमा सामूहिक रुपमा सन्तानेश्वर मन्दिर पुगेर पूजाआजा गर्नेको यतिबेला दैनिक रुपमा लर्को लाग्ने गरेको छ । सोमबारको दिनमा टाढा टाढाबाट भक्तजन सन्तानेश्वर मन्दिर पुग्ने गरेको नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले जानकारी दिनुभयो ।

नेपालगञ्जदेखि करिब ३० किलोमिटर टाढा पर्ने सन्तानेश्वर मन्दिर पुग्न करिब आठ किलोमिटर पहाड जङ्गलको कच्ची बाटोमा पैदलयात्रा गर्नुपर्दछ । नेपालगञ्जबाट २२ किलोमिटर टाढा पर्ने नरैनापुर गाउँपालिकाको कोहलाबाट उत्तरतर्फ आठ किलोमिटर उकालो पहाड हिँडेपछि सन्तानेश्वर मन्दिर पुगिने यादवले बताउनुभयो ।

उहाँका अनुसार सन्तानेश्वर मन्दिरमा नेपालगञ्जलगायत जिल्लाका विभिन्न स्थानबाट भक्तजनहरुको भीड लाग्ने गरेको छ । पर्यटनको राम्रो सम्भावना बोकेको सन्तानेश्वर मन्दिरमा जाने बाटो बनिसकेको छैन । अप्ठ्यारो बाटो भए पनि भक्तजन मन्दिरमा पुग्ने गरेका छन् ।

सहरभन्दा टाढा जङ्गलको बीचमा पहाडको टाकुरामा मन्दिर रहेकोले त्यहाँको प्राकृतिक मनोरम सौन्दर्यता अवलोकन र पैदल यात्राका लागि नेपालगञ्जबाट समूह बनाएर भक्तजन पुग्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *