आँखा पाक्ने अर्थात् कन्जक्टिभाइटिस रोग के हो? कसरी बँच्ने ?

    आँखा पाक्ने अर्थात् कन्जक्टिभाइटिस रोग के हो? कसरी बँच्ने ?

    आजकाल नेपालका विभिन्न स्थानहरुमा मानिसमा आँखा पाक्ने समस्या देखिन थालेको छ । धेरै मानिसहरु यसको सिकार बन्न बाध्य भएका छन्।

    बोलिचालीको भाषामा आँखा पाक्ने रोग भने पनि यसलाई भाइरल कन्जक्टिभाइटिस पनि भनिन्छ । यो समस्या सबै उमेर समूहका मानिसमा देखा पर्छ।

    बालबालिकादेखि ज्येष्ठ नागरिकसम्ममा यो रोग देखा परेको छ । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्न सक्छ। आँखा पाक्ने समस्या देखा परेमा आत्तिन नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक(दुई हप्तामा आफैँ निको हुने पनि प्रस्ट पारेको छ । स्वास्थ्यकर्मीको सल्लाहबिना जथाभावी औषधि प्रयोग नगर्न सुझाव दिएको छ।

    आँखा पाक्ने समस्या देखा परेपछि मुख्यगरि आँखा रातो हुने र चिलाउने लक्षण देखा पर्छ। आँसु बगिरहने, कचेरा वा चिप्रा लाग्ने गर्छ। आँखाको ढकनी रातो र सुन्निने गर्छ। आँखा बिझाउने र दुख्ने गर्छ । घाम वा उज्यालोमा हेर्न गाह्रो हुने गर्छ।

    यसबाट सुरक्षित रहन संक्रमित व्यक्तिको नजिक नजाने र संक्रमित भीडभाड भएको ठाउँमा जान हुँदैन । संक्रमित व्यक्तिले प्रयोग गरेको सामग्री टावेल, रुमाल र साबुन प्रयोग गर्नु हुँदैन। जथाभावी आँखा छुन हुँदैन । आँखा छुनु परेमा छुनु वा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने गर्नुपर्छ । व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ।

    घरमा आफैँ होशियारीसाथ स्याहार गरेमा एक(दुई सातामा यो रोग निको हुने गर्छ । बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने गर्नुपर्छ । आँखा नमिच्ने र पानी नछयाप्ने । आँखा छोइसकेपछि साबुन पानीले राम्रोसँग हात धुनुपर्छ । प्रशस्त मात्रामा पोषिलो खाना र पानी पिउने गर्नुपर्छ । बाहिर घाममा निस्कदा कालो चस्मा प्रयोग गर्नुपर्छ। संक्रमित व्यक्तिले प्रयोग गरेको टावेल, तन्ना र सिरानी अन्य सामग्री हरेक दिन धोएर सफा गर्नुपर्छ । संक्रमित व्यक्तिले प्रयोग गरेको सामग्री अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *