अर्घाखाँचीको भगवती माध्यमिक विद्यालयलाई २२ लाख रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क-२ शंखेटारीमा रहेको भगवती माध्यमिक विद्यालयलाई प्रविधि मैत्री बनाउन सामाग्री हस्तान्तरण गरिएको छ ।

विद्यालयका पूर्व विद्यार्थीहरुको पहलमा सूर्य नेपाल नामक संस्थाले कम्प्युटर, ल्यापटप, प्रोजेक्टर लगायतका २२ लाख रुपैयाँ बराबरका सामाग्री विद्यालयलाई हस्तान्तरण गरेकाे हाे ।
सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन तथा समयसापेक्ष शिक्षा प्रदान गर्नका लागि विद्यालयका पूर्व विद्यार्थी तथा नेपाल सरकारका सहसचिव बाबुराम गौतम, कानुन उपसचिव हरिहर पौडेल, पूर्व विद्यार्थी नारायण गौतम, अनिल भुसाल लगायतको पहलमा ती सामाग्रीहरु विद्यालयलाई प्रदान गरिएको थियो ।
आफूले पढेको विद्यालयमा केही सहयोग गर्नु पर्छ भन्ने मान्यताका साथ र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण वृद्धि सामाग्री हस्तान्तरण गरिएको विद्यालयका पूर्व विद्यार्थी तथा सामाग्री ल्याउन पहल गरेका बाबुराम गौतमले बताए।
फ्लाक्स बोर्ड, क्यामेरा, डेक्सटप कम्प्युटर पाँच थान, प्रिन्टर चार थान, ल्यापटप चार वटा, टीभी दुई वटा, इन्भर्टर र ब्याट्रीलगायतका सामाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसाल र विद्यालयका प्रधनाध्यापक ध्रुव केसीलाई हस्तान्तरण गरिएको छ ।
पूर्व विद्यार्थीहरुको पहलमा विद्यालयमा अत्यावश्यक सामाग्री प्राप्त भएको र यसले विद्यालयको पठनपाठनमा धेरै सजिलो हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसालले बताएका छन् ।
२०१७ सालमा स्थापना भएको यस विद्यालयमा पूर्वप्राथमिक तहदेखि कक्षा १२ सम्म झण्डै सात सय विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *