२४ सै घण्टा नेपाली गीतहरू सुन्नुहोस ।

बच्चाहरुले किन ओछ्यानमा पिसाब फेर्छन् ? कसरी रोकथाम गर्ने ? जान्नुहोस

सामान्यतया: मानिस सुतेको बेला दिमागबाट पिसाबको थैलीलाई अबरोधात्मक संकेत जाने गर्छ, जसको कारण सुतेको बेला प्राय: पिसाब लाग्दैन। बालबालिकाले सुतेको बेला पिसाब नियन्त्रण गर्न नसक्दा पिसाब स्वस्फुर्त चुहिने गर्छ, जसलाई ओछ्यान भिजाउने समस्या अर्थात् नक्चर्नल एनुरेसिस भनिन्छ।
यस्तो समस्या हुने लगभग ५० प्रतिशत बच्चाहरुमा राति सुतिरहेको बेला स्वस्फुर्त पिसाब चुहिने समस्या मात्र देखिन्छ। तर केही बच्चामा भने पिसाब सम्बन्धी अरु लक्षणहरु पनि मिसिएर देखा पर्ने गर्छन्। यी दुई प्रकारका हुन्छन्;

१. प्राइमरी बेड वेटिङ: पाँच वर्षभन्दा माथिका बच्चा, जसमा सुतिरहेको बेला ओछ्यान नभिजेको कुनै रात हुँदैन।

२. सेकेण्डरी बेड वेटिङ: कुनै बच्चा जसमा कम्तीमा ६ महिनासम्म सुतिरहेको बेला ओछ्यान भिज्ने समस्या नदेखिएको र पछि पुनः उक्त समस्या देखा परेको छ भने त्यस्तो अवस्थालाई सेकेण्डरी बेड वेटिङ भनिन्छ।

पाँच वर्षसम्मका १५ प्रतिशत बालबालिकामा यो समस्या देखिएको छ। ७ वर्षको उमेरमा लगभग १० प्रतिशत बच्चामा यो समस्या यथावत् रहिरहेको देखिन्छ भने १५ वर्षको उमेरमा जम्मा १-३ प्रतिशतमा देखिएको तथ्यांक छ। यो समस्या केटा बच्चामा बढी देखिएको छ। वर्षेनी १५ प्रतिशतको दरले आफसेआफ निको हुँदै गएको प्रमाण पनि छ। यो समस्या 0.५ प्रतिशत बयस्क व्यक्तिहरुमा देखिएको भन्ने तथ्यांक विभिन्न खोज तथा अनुसन्धानले देखाएको छ।

बेड वेटिङका प्रमुख कारणहरु केके हुन् ?

बच्चा अल्छी हुनु अथवा उनमा पिसाब फेर्ने इच्छाशक्ति नआउनु एकदम बिरलै यसको कारण हुन सक्छ। तसर्थ बच्चालाई गाली गरेर दोष लगाउनु हुँदैन। यसका अनेकौं कारण हुन सक्छन;
१. परिवारमा कसैलाई बेड वेटिङको समस्या हुनु,
२. पिसाब थैलीमाथि मस्तिष्कको नियन्त्रण प्रक्रिया ढिला विकास हुनु,
३. पिसाब थैली सानो क्षमताको हुनु,
४. सुतिरहेको बेला सामान्यभन्दा बढी पिसाब बन्नु,
५. निद्रा समस्या (गहिरो निद्रा),
६. कब्जियत,
७. तनाव,
८. पिसाबमा संक्रमण हुनु (युटीआई),
९. निदाउने र बिउँझिने प्रक्रिया बिग्रिनु,
१०. मस्तिस्कबाट एडीएच नामक हर्मोनको उत्पादनमा कमी आउनु।

ओछ्यान भिजाउने समस्या (बेड वेटिङ) कसरी निदान गरिन्छ ?

यदि तपाईंको बच्चा सात वर्षभन्दा माथिको छ र प्राय: भिजेको ओछ्यानमा उठ्छ भने उसलाई बेड वेटिङको समस्या हुन सक्छ। यस्तो समस्या आफ्नो बच्चामा देखिनासाथ आमाबाबु आत्तिने र डाक्टरकोमा दौडिहाल्ने देखिन्छ।सर्वप्रथम तपाईंको बच्चा के कारणले गर्दा ओछ्यान भिजाइरहेको छ, त्यो जान्न जरुरी हुन्छ। यस्तो समस्या देखिएको खण्डमा आफ्नो बच्चाको पानी /तरल पदार्थ खाने तरिका, पिसाब फेर्ने बानीब्यहोरा, दिसा गर्ने बानीब्यहोरा र निदाउने बिउझिने प्रक्रियालाई राम्ररी अवलोकन गर्न जरुरी हुन्छ। सकिन्छ भने माथि उल्लेखित सबै गतिविधिहरुलाई एउटा पानामा नोट गरेर मात्र चिकित्सककहाँ जानु बुद्धिमानी देखिन्छ, जसले चिकित्सकलाई रोग निदान गर्न र राम्रो उपचार गर्न सहज हुन्छ। डाक्टरले चाहेको खण्डमा थप जाँचहरु, जस्तै: पिसाबको जाँच, रगतको जाँच र पेटको भिडियो एक्सरे गर्न सक्नुहुन्छ।

ओछ्यान भिजाउने समस्या (बेड वेटिङ) कसरी उपचार गरिन्छ ?

सबभन्दा पहिलो कुरा, ओछ्यान भिजाउनु तपाईंको बच्चाको गल्ती होइन, यो एउटा रोग हो। त्यसैले बच्चाहरु भिजेको खण्डमा उनीहरुलाई सजाय दिनु वा जिस्क्याउनु हुँदैन। यसका अनेकौं उपचार पद्धतिहरु छन्।

केही विकल्प यस प्रकार छन्:

• बाल मुत्ररोग विशेषज्ञसँग सल्लाह गरेर बेड वेटिङ अलार्म प्रयोग गर्नुहोस्,
• सुत्नुभन्दा दुई घण्टाअघि तरल पदार्थको सेवन सीमित गर्नुहोस्,
• पिसाब थैलीलाई जलन गराउने पेय पदार्थ (क्याफिन, कार्बोनेटेड ड्रिंक्स, कृत्रिम रङ तथा उच्च चिनीयुक्त पेय पदार्थ) सीमित गर्नुहोस्,
• तपाईंको बच्चालाई सकेसम्म दिउँसोको समयमा पानी तथा तरल पदार्थ सेवन गराउने प्रयास गर्नुहोस्।
• बच्चा ब्युँझिरहेको बेला हरेक दुईदेखि तीन घण्टामा पिसाब गर्ने योजना बनाउनुहोस्,

• नियोजित पिसाब गराउने बानी: तपाईंले आफ्नो बच्चालाई दिनको समयमा धेरै पटक बाथरूम जान सुझाव दिन सक्नुहुन्छ। कम्तीमा पनि दिनको समयमा पाँच पटक पिसाब फेर्न लगाउनुहोस्। राति सुत्न जानु ठिक अगाडि जहिले पनि बच्चालाई पिसाब फेर्ने बानी बसाल्नु पर्छ।
• दैनिक दिसा गराउने बानी: बच्चाले दिनको कम्तीमा एक पटक दिसा गर्नु पर्छ। तपाईंले आफ्नो बच्चाको दिसा अवलोकन गर्न जरुरी हुन्छ। यसले डाक्टरकहाँ उपचारको लागि जाँदा सरसल्लाह गर्न मद्दत पुग्छ। सामान्यतया: बच्चाको दिसा नरम हुनु पर्छ।
• ओछ्यानको उचित व्यस्थापन: बच्चा सुत्ने ओछ्यानमाथि पानीले नभिज्ने बेडसिट ओछ्याउनु पर्छ। ओछ्यान सजिलै धुन मिल्ने र सुकाउन मिल्ने हुनु पर्छ। बच्चाले ओछ्यान भिजाएको थाहा पाउनासाथ बेडसिट र मेट्रेस फेर्नुहोस्, बच्चालाई सुक्खा पार्नुहोस्। छालाको घाउ हुनबाट जोगाउनुहोस्।
• बाल मुत्ररोग विशेषज्ञले सल्लाह दिएको औषधि प्रयोग गर्नुहोस्।
• उपचार सम्बन्धी रेकर्ड राख्नुहोस्: बाल मुत्ररोग विशेषज्ञले दिएको उपचारले कसरी काम गरिरहेको छ भनेर रेकर्ड राख्नको निम्ति क्यालेन्डर अथवा डायरी नोट प्रयोग गर्नुहोस्।

You might also like