साबधान l जंकफुडले बालबालिकामा क्यान्सरको जोखिम बढाउँछ

    बालबालिकामा देखिने मुख्य क्यान्सर के के हुन् ?

    सामान्यतया बालबालिकामा देखिने क्यान्सर भनेको ‘ल्युकेमिया’ रक्त क्यान्सर हो । १० जना क्यान्सरको समस्या भएका बालबालिकामध्ये आठ जनामा रक्त क्यान्सर हुने गर्छ । साथै ब्रेन ट्युमर, लिम्फोमा, १० वर्षमाथिका बालबालिकामा ‘सार्कोमा’ हड्डीको क्यान्सर, मिर्गौला र कलेजो लगायत विभिन्न क्यान्सर पनि देखिन्छ ।

    ठूला व्यक्तिमा जस्तो स्तन क्यान्सर, पाठेघरको क्यान्सर र फोक्सोको क्यान्सर भने बालबालिकामा देखिंदैन ।

    लक्षणहरू के के देखिन्छन् ?

    क्यान्सर समयमा पत्ता लाग्यो भने उपचारमा पनि सहज हुने भएकाले लक्षणहरू याद गर्नु एकदमै महत्त्वपूर्ण छ । संक्रमणको लक्षण र क्यान्सरको लक्षण लगभग उस्तै हुन्छन्, त्यसैले यी दुईको फरक छुट्याउनुपर्छ । साथै सबै बालबालिकामा एकै प्रकारको लक्षण देखिंदैन फरक-फरक देखिन्छ ।

    एक हप्ताभन्दा बढी ज्वरो आउने, हातखुट्टाको जोर्नी दुख्ने, रगतको कमी हुने, हेमोग्लोबिनको कमी भएर शरीर सेतो हुँदै जाने, शरीरमा प्लेटलेटको कमीले निलो डाम वा रातो छिर्का देखा पर्ने, खाना खान मन नगर्ने र आलस्य देखिने जस्ता लक्षणहरू देखा पर्छन् । यी लक्षण अन्य संक्रमणको हो कि क्यान्सर हो भनेर रगत परीक्षणबाट नै पनि पत्ता लगाउन सकिन्छ ।

    प्राय: क्यान्सर पत्ता नै ढिलो लाग्ने गर्छ, समयमा पत्ता नलगाउनुको कारण के हुन सक्छ ?

    जनचेतनाको अभावले क्यान्सर ढिलो पत्ता लाग्छ । अभिभावकहरू बच्चालाई लिएर चिकित्सककहाँ नै ढिला पुग्ने गर्छन् । पहिले रोग पत्ता लगाउने प्रक्रिया ढिलो थियो तर अहिले रोग पत्ता लगाउने प्रक्रिया ढिलो छैन ।

    धेरै अभिभावकलाई मेरो बच्चालाई क्यान्सरको समस्या भएको हो भन्ने कुरा स्वीकार गर्न नै गाह्रो हुन्छ । जसले गर्दा उपचारमा नै ढिलो आइपुग्छन् । काठमाडौंबाहिरका जिल्लाहरूमा जाँच गर्न व्यवस्था नहुने भएकाले पनि काठमाडौंसम्म आइपुग्दा ढिलो हुन्छ ।

    बालबालिकामा क्यान्सरको समस्या देखिनुका कारण के हुन सक्छ ?

    बालबालिकामा यही कारणले क्यान्सर हुन्छ भन्ने कुरा संसारभर कसैले पनि ठोकुवा गरेर भन्न सकेका छैनन् र सकिंदैनन् पनि । हाम्रो विकासोन्मुख देशमा मात्र होइन, विकसित देशहरूले पनि बच्चाको क्यान्सरको कारण पत्ता लगाएका छैनन् । तैपनि केही कुराले जोखिम भने बढाउन सक्छ ।

    प्याकेट फुड, जंकफुड जस्ता खानेकुरा बच्चाहरूले धेरै खान्छन् । यस्ता खानेकुरा खानेबित्तिकै आजको भोलि नै त असर गर्दैन । तर लामो समयको सेवनले कालान्तरमा क्यान्सरको जोखिम भने बढाउन सक्छ ।

    गर्भावस्थामा यदि आमाले चिकित्सकको सल्लाहबिना जथाभावी औषधि सेवन गर्छिन् भने पनि बच्चामा जोखिम हुन्छ । यदि कोही गर्भवती महिला कुनै केमिकल फ्याक्ट्रीमा काम गर्छिन् वा विकिरण आउने ठाउँमा काम गर्छिन् भने पनि बच्चालाई जोखिम हुन्छ ।

    धुम्रपान पर्ने व्यक्तिको नजिक बालबालिका बस्छन् भने पनि त्यसको असर बालबालिकामा पर्छ । सहरी क्षेत्रमा हामी विषादीयुक्त खाना खान बाध्य छौं, त्यसले पनि केही न केही असर त गर्छ नै । कतिपय क्यान्सरहरू भने वंशाणुगत पनि हुन्छन् ।

    उपचार के छ ?

    क्यान्सरको उपचार तीन विधिबाट हुन्छ, अप्रेसन, केमोथेरापी र रेडियोथेरापी । बालबालिकामा बढी मात्रामा देखिने रक्त क्यान्सरको उपचार किमोथरापी मात्र हो ।

    क्यान्सरको उपचार साह्रै महंगो छ भन्ने गरिन्छ । तर उपचार महंगो भन्दा पनि उपचार पद्धति समय लामो भएको कारण उपचार खर्च महंगो पर्न गएको हो । बालिकाहरूको रक्त क्यान्सर उपचार दुई वर्ष तीन महिना हुन्छ भने बालकको तीन वर्ष तीन महिना हुन्छ ।

    क्यान्सरको कोष बालकको अण्डकोषमा पनि बसेको हुन सक्ने भएकाले नदोहोरियोस् भनेर उपचार बालिकाको तुलनामा लामो भएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *