महिला खेलाडीको ओठमा चुम्बन गरेपछि विवादमा तानिए स्पेनिस फुटबलका अध्यक्ष

    अस्ट्रेलिया र न्युजिल्यान्डमा सम्पन्न महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि स्पेनले जित्यो । प्रतियोगिताको फाइनल खेल आइतबार स्पेन र इङ्ल्यान्डबीच खेलिएको थियो । उक्त खेलमा स्पेनले इङ्ल्यान्डलाई १—० गोलले हरायो ।

    त्यो खेल हेर्न स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबिलेस पनि अस्ट्रेलियाको सिड्नीस्थित रंगशालामा उपस्थित थिए । खेलको २९ औं मिनेटमा कप्तान ओल्गा कार्मोना गार्सियाले गरेको गोलको मद्दतमा स्पेनले पहिलो पटक महिला विश्वकपको उपाधि उचाल्यो ।

    खेल सकिएपछि उपाधि जितेको खुसीयाली मनाउन स्पेनिस फुटबलका पदाधिकारीहरु पनि खेलाडीसँग मिसिएका थिए । त्यसमा स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस पनि थिए । तर, खेलाडीहरुसँग खुसीयाली मनाउने क्रममा अध्यक्ष लुइसले देखाएको ब्यवहारका कारण उनी यतिबेला विवादमा तानिएका छन् ।

    अध्यक्ष लुइसले गरेको अप्रिय ब्यवहारका लागि उनको ब्यापक आलोचना पनि भइरहेको छ । खासमा उनले महिला खेलाडीसँग खुसी साटासाट गर्ने क्रममा स्पेनिस टोलीकी अनुभवी मिडफिल्डर जेनिफर हर्मोसोलाई चुम्बन गरेका थिए । जेनिफरको अनुमति बिना नै उनको ओठमा चुम्बन गरेपछि अध्यक्ष लुइस विवादमा तानिएका हुन् ।

    त्यतिबेला स्पेनिस टोलीले खुसीयाली मनाइरहेको क्षणको विश्वभर प्रत्यक्ष प्रशारण भइरहेको थियो । पछि सञ्चारकर्मीहरुले मिडफिल्डर जेनीलाई उक्त घटनाको विषयमा प्रश्न गरेका थिए । त्यसको जवाफ जेनिफरले हाँसेर दिएकी छन् । ३३ वर्षीया जेनिफरले भनेकी छन्, ‘ए त्यो १ तर, मलाई मन परेन ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *