केदारनाथको शिर पत्ता लागेको दिन भक्तजनको ओइरो

    केदारनाथको शिर पत्ता लागी विधिवत् घोषणा भएको दिन बुधबार भक्तपुरको सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरपरिसरमा भिड लागेको छ। २०६६ साल भदौ ६ गते भारतको उत्तराञ्चलस्थित केदार वैराग्य पीठाधीश्वर श्रीश्रीश्री १००८ श्री भीमाशंकर लिंग शिवाचार्यले डोलेश्वरलाई केदारनाथको शिर भएको घोषणा गर्दै पूजा तथा रुद्राभिषेक गरेका थिए।

    डोलेश्वरलाई केदारनाथको शिरोभाग घोषणा गरिएको दिन भदौ ६ गते भएकाले केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मन्दिरको चारै ढोका खुला राखी भक्तजनललाई सो शिला छोएर पूजा गर्न सकिने व्यवस्था मिलाएको थियो। समितिले डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते मन्दिरका चारै ढोका खुला राख्नुका साथै भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गर्दै आएको छ।

    यही अवसरमा यस क्षेत्रमा पर्ने सूर्यविनायक नगरपालिकाले बुधबार नगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिएको थियो। सो क्षेत्र सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा पर्दछ। घोषणाको अवसरमा नगरपालिकाले सरकारी कार्यालय, स्कुल, कलेज सबै बन्द गराएको थियो।

    यसैबीच डोलेश्वर महादेव मन्दिरमा गत साउन १ गतेदेखि सञ्चालित श्रावणी मेला समापन भएको छ। साउन १ गतेदेखि सुरु ३८ दिने मेला बुधबार समापन भएको हो। यसकारण यहाँ यसबीच पनि उत्तिकै श्रद्धालु भक्तजन आएका थिए। साथसाथै डोलेश्वरलाई केदारनाथको शिर भएको घोषणा गरिएपछि मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनको संख्यामा उल्लेख्य वृद्धि हुँदै आएको छ।

    मन्दिरका पुजारी बच्चुराम जंगमका अनुसार शिवको बार पर्ने सोमबार र शनिबार दैनिक एक हजारभन्दा बढी भक्तजन डोलेश्वर महादेव मन्दिर पुग्छन्। अन्य दिन पनि सोही संख्यामा भक्तजन आउने बताउँदै उनले मन्दिरको प्रचारप्रसार व्यापक हुँदै गएपछि मन्दिर आउने भक्तजनको संख्यासँगै भेटी तथा आम्दानीमा पनि वृद्धि भएको जानकारी दिए।

    परापूर्वकालमा डोलेश्वर महादेवको दर्शन गर्न महाभारतकालीन पाण्डवहरू आएका थिए भन्ने कथन छ। यस सम्बन्धमा लोकबोलीका अनेक कथा पनि प्रचलनमा रहेका छन्। धार्मिक दृष्टिकोणले निकै पवित्र र महŒवपूर्ण तीर्थस्थलको रूपमा डोलेश्वर महादेव रहे पनि राष्ट्रिय प्रचारप्रसारको अभावले गर्दा राजधानीबाट नजिकै रहेर पनि यसअघि त्यति चर्चा पाउन सकेको थिएन। तर अहिले डोलेश्वर महादेवको दर्शन गर्न नेपालीसँगै भारतीय पनि उत्तिकै बढी आउने गरेको पुजारीले बताए। गुरुयोजना बनाई निरन्तर मन्दिर परिसरलाई आकर्षक रूपमा भौतिक संरचना निर्माण पनि निरन्तर जारी छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *