एसिया कपमा हेर्न लायक ६ खेलाडीमा गुल्सन झा पनि

    एसिया कपमा हेर्न लायक ६ खेलाडीमा गुल्सन झा पनि

    १२ भदौ, काठमाडौं । बुधबारदेखि सुरुमा हुने एसिया कप २०२३ नेपालको लागि बहुप्रतिक्षित बनेको छ ।

    मुल्तान क्रिकेट स्टेडियममा हुने एसिया कपको उद्घाटन खेलमै नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्नेछ । पाकिस्तानको खेलबाटै नेपालले एसिया कपमा डेब्यु गर्दैछ । एसिया कप सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले प्रतियोगिता हेर्न लायक ६ खेलाडीको सूची तयार पारेको छ । जसमा एसिया कप खेल्ने ६ वटै देशको एक-एक खेलाडीलाई समावेश गरेको छ ।

    बाबर आजम, जसप्रित बुमराह, रासिद खान जस्ता विश्व चर्चित खेलाडी समावेश सुचीमा नेपालबाट फास्ट बलिङ अलराउण्डर गुल्सन झाको नाम समावेश छ । गुल्सन ओडीआईको अलराउण्डर वरीयतामा १०५औं स्थानमा छन् ।

    १७ वर्षीय गुल्सनले आईसीसी क्रिकेट विश्वकप क्वालिफायरमा ब्याट र बल दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

    त्यसैले आईसीसीले मुख्य प्रतियोगितामा गुल्सनलाई कमजोर आँक्न नहुने उल्लेख गरेको छ । गुल्सनको प्राकृतिक गेम भनेको अट्याकिङ खेल्नु हो ।

    विश्वकप छनोटको अन्तिम खेलमा उनले आयरल्याण्ड विरुद्ध छिटो अर्धशतक प्रहार गरेका थिए । जसले उनले लोअर अर्डरमा पनि रन बनाउन सक्छन् भन्ने प्रमाणित गरेको थियो ।

    गुल्सनलाई विपक्षी इनिङ्सको मिडल ओभरमा रनरेट कम गर्नका लागि प्रयोग गरिनेछ । दायाँ हाते फास्टर बलर गुल्सनले प्राय खेलमा एक वा दुई विकेट लिइरहेका हुन्छन् र एसिया कपमा चम्कन सक्ने ठूलो प्रतिभा भएको खेलाडीको रुपमा हेरिएको छ ।

    नेपाल रहेको समूह ए बाट भारतका जसप्रित बुमराह र पाकिस्तानका कप्तान बाबर अजामलाई हेर्न लायक खेलाडीको रुपमा राखिएको छ ।

    ओडीआई वरीयताको नम्बर वान ब्याटर २८ वर्षीय बाबर अहिले उत्कृष्ट लयमा छन् ।

    उनले ओडीआईमा १८ शतक प्रहार गरिसकेका छन् र त्यसमा अझ थपेमा कुनै आश्चर्य नमान्दा हुन्छ । अफगानिस्तान विरुद्ध पछिल्लो दुई खेलमा उनले अर्धशतक प्रहार गरेका थिए ।

    ओडीआई बलरको ३२औं वरीयतामा रहेका बुमराह चोटबाट रिकभर हुँदै केही समयअघि मैदान फर्किएका थिए । उनले आयरल्याण्ड विरुद्ध टी२० सिरिजमा भारतको कप्तानी गरेका थिए ।

    २९ वर्षीय बुमराहबाट एसिया कपमा ठूलो अपेक्षा गरिएको छ ।

    अर्को समूहमा रहेका मध्ये अफगानिस्तानबाट रासिद खान, श्रीलंकाबाट महिश थिक्सना र बंगलादेशबाट तस्किन अहमेद हेर्न लायक खेलाडीमा छन् ।

    ओडीआईमा विश्व नम्बर चार वरीयतामा रहेका रासिद खान विश्वमै उत्कृष्ट स्पीनरको रुपमा छन् । एसिया कपमा अफगानिस्तानको प्रदर्शन धेरै हदसम्म रासिदमै निर्भर हुन सक्छ ।

    ओडीआई बलरमा २०औं वरीयतामा रहेका श्रीलंकन थिक्सनाले विश्वकप छनोटमा २१ विकेट लिएका थिए । स्टार स्पीनर वानिन्दु हसरंगाको फिटनेस चिन्ता रहेकोले २३ वर्षीय थिक्सनामा अझ दबाब थपिन सक्छ ।

    बंगलादेशी फास्ट बलर तस्किन अहमद ओडीआई वरीयतामा ४४औं स्थानमा छन् ।

    एबादोत हुसेन चोटका कारण एसिया कपबाट बाहिरिएपछि फास्ट बलिङको जिम्मेवारी तस्किनको काँधमा छ ।

    पछिल्लो लयका आधारमा तस्किनले बंगलादेशका लागि आवश्यक परेका बेला चुनौतीलाई पूरा गर्ने सक्छन् भन्ने विश्वास छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *