८ वर्षपछि मानव आवतजावतका लागि खुल्दै तातोपानी नाका

८ वर्षपछि मानव आवतजावतका लागि खुल्दै तातोपानी नाका

महाभूकम्प २०७२ पछि पहिलो पटक मानव आवतजावतका लागि तातोपानी नाका खुला हुने भएको छ । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासकाअनुसार चिनियाँ अधिकारीहरुसँगको बैठकले ८ वर्षपछि सो नाका भएर मानव आवतजावत खुला गर्ने निर्णय गरेको हो ।
शुक्रबार (१ सेप्टेम्बर)देखि सो नाका सञ्चालनमा ल्याउन समझदारी भएको महावाणिज्यदूत नवराज ढकालले जानकारी दिए ।

समझादारीमा नाकाबाट यात्रुहरुको आवतजावत खुला गर्ने भनिए पनि तत्कालका लागि भने स्थानीयका लागि मात्रै नाका खुल्ने छ ।

तातोपानीको पारिपट्टीको चिनियाँ बजारसम्म पुग्नका लागि तातोपानी स्थिर अध्यगमन कार्यालयले पास वितरण सुरु गरेको छ । अध्यागमनले जारी गरेको एकवर्षे अवधिको पास पाएकाहरुले शुक्रबारदेखि चीनतर्फ प्रवेश पाउने कार्यालयले जनाएको छ ।

तातोपानी भन्सारकार्यालयका अनुसार चीनतर्फ प्रवेशका लागि शुक्रबारदेखि नाका खुलाको तयारी सकिएको छ ।

‘अहिले खासा बजारसम्म पनि जान नदिने भन्ने छ । चिनियाँ बजारसम्म पुग्नेगरी पास जारी भइरहेको छ,’ भन्सार प्रमुख दयानन्द केसीले अनलाइनखबरसँग भने, ‘२०७२ सालको भूकम्पछि पहिलो पटक मानव आवतजावतका लागि यो नाका खुला हुँदैछ ।’

भोटेकोशी गाउँपालिका-२ का वडाध्यक्ष कुमार श्रेष्ठले पनि मानव आवतजावतका लागि ८ वर्ष पछि नाका खुला हुन लागेको बताए ।

‘कोभिड-१९ पछि श्रमिकहरु सामान लोड गर्न गएका थिए, त्यो एकतर्फी थियो’ वडाध्यक्ष श्रेष्ठले भने, ‘तर, शुक्रबारदेखि अनुमति नै जारी गरेर मानव आवतजावत खुल्ला हुँदैछ ।’

२०७२ सालको महाभूकम्प पछि तातोपानी नाका पूर्ण रुपमा ४ वर्ष बन्द भएको थियो । दुवै देशले भूकम्पले क्षति पुगेको संरचना पुनर्निर्माण गरेपछि १४ जेठ २०७६ मा यो नाका वस्तु आयात निर्यातका लागि सञ्चालनमा आएको थियो । तर, कोरोनाभाइरस महामारी विश्वभर फैलिए पछि ११ चैत २०७६ मा नाका पुनः बन्द भएको थियो ।

कोभिड-१९ पछि नाका खुल्ने र बन्द हुने पटक-पटक भएपनि यात्रु आवतजावतका लागि नाका सञ्चालनमा आएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *