मानिसको स्वभाव धेरै खालको हुन्छ । कोही हरेक कुरामा आत्मविश्वासी हुन्छन् भने कोही सामान्य कुरामा पनि आँट गर्न सक्दैनन् । कोही ठूलो भीडलाई आफूतिर आकर्षित गर्न सक्छन् भने कसैलाई दुई-चार जना मानिसको अगाडि बोल्दा पनि असिनपसिन हुन्छन् ।
यो सबैमा आत्मविश्वास जोडिन्छ । आफूलाई कमजोर ठान्ने व्यक्तिले जीवनमा सोचेजस्तो प्रगति गर्न सक्दैन । आत्मविश्वासी र निडर स्वभावका मानिस जे काम वा परिस्थिति आए पनि त्यसका लागि अघि सरिहाल्छन् तर कमजोर आत्मबल भएका व्यक्ति पछाडि नै रहन्छन्, अगाडि आउन हिच्किचाउँछन् ।
यस्तो खासमा किन हुन्छ ? अध्ययनअनुसार यस्तो हुनुको विभिन्न कारणले हुन सक्छ । जसमध्ये पारिवारिक, सामाजिक, आर्थिक, अप्रिय घटना, बारम्बार भएको असफलताको कारणले पनि हुन्छ ।
आत्मविश्वास कमजोर किन हुन्छ ?
हिन्दीमा एक पसिद्ध उखान छ, जितनी चादर हो उतने ही पैर फैलाओ । अर्थात् मानिसले कुनै पनि काम आफ्नो क्षमता र शक्तिअनुसार गर्नुपर्छ । क्षमता र शक्ति भन्दा टाढा सोच्ने बानीले पनि कमजोर महसुस गराउँछ ।
कहिलेकाहीं आफूले गर्न खोजेको काम नजिकको मानिससँग सरसल्लाह गर्दा उनीहरुले तिमीले त्यो काम गरेर खाँदैन वा गर्न सक्दैन, त्यसको लागि तिमी सक्षम छैनौं भन्ने जवाफका कारण कमजोर भएको महसुस गर्छन् ।
शारीरिक कुरालाई लिएर बुलिङ गर्ने कुराले पनि मानिसलाई हतोत्साहित बनाउँछ । जस्तै, ‘तिमी कति काली वा कालो ?’ ‘दाग कति धेरै, कति फुच्ची तिमी त ?’, ‘हाइट पनि छैन कसैले तिमीलाई मन पराउँदैन,’ जस्ता व्यवहार नियमित भोगेको अवस्थामा बिस्तारै आत्मबल कमजोर हुँदै जान सक्छ ।
आफूलाई अरुसँग तुलना गर्ने बानीले पनि आत्मविश्वास कमजोर बनाउँछ । आफ्नै साथी, छिमेकी वा नातेदारसँग आफूले आफैंले तुलना गर्ने बानी भएपछि आत्मबल कमजोर हुँदैन जान्छ । जस्तै उसले घर, गाडी सबै जोडिसक्यो मैले एउटा साइकल पनि किन्न सकेको छैन ।
पटक-पटक जीवनमा असफल र अस्वीकार व्यवहारले पनि मान्छे आफैंलाई कमजोर ठान्छ । जस्तै, जागिरको लागि धेरै ठाउँमा आवेदन भर्दा पनि जागिर नपाउनु कारणले पनि एक हो ।
मनोविद् डा. गृष्मा पनेरु आत्मबल कमजोर हुनु कसैको जन्मजातपनि हुन सक्ने र कसैमा जन्मिसकेपछिको वरिपरिको वातावरणले हुने बताउँछिन् ।
‘प्रायजसो बच्चा जन्मिसकेपछिको वातावरणलाई मात्र नियाल्ने गरिन्छ । तर बच्चा पेटमा हुँदा आमाले कस्तो खालको वातावरण पाएको छ भन्ने विषयमा कसैले पनि चासो देखाएको हुँदैन । तर बच्चाको आत्मबल कमजोर हुनुमा गर्भावस्थामा आमाले पाएको वातावरणले धेरै असर गर्छ,’ उनी भन्छिन्, ‘किनकि चिकित्सकले पनि भन्ने गर्छन् बच्चा आमाको पेटमा हुँदा आमाको व्यवहार जस्तो हुन्छ त्यस्तै बच्चामा पनि त्यो बानी सर्ने गर्छ । त्यसैले तनाव नलिनु, सकारात्मक सोच राख्नु र स्वस्थ खानेकुरा खानु भन्ने सल्लाह दिइन्छ ।’
त्यसैले गर्भावस्थामा आमाले तनाव, डर, त्रास र एक्लोपन महसुस गरेकी छिन् भने त्यस्तो परिस्थितिमा शिशुको पनि पछि आत्मबल कमजोर हुन सक्ने पनेरु बताउँछिन् ।
अर्को कारण पारिवारिक वातावरण पनि हो । परिवारका सदस्यले अरुसँग तुलना गर्ने, अरुको अगाडि पनि कुरा काट्ने गर्दा आत्मबल कमजोर हुन सक्छ । प्राय: अभिभावकले जानी नजानी छरछिमेकी, नातागोता, इष्टमित्रको अगाडि आफ्नो छोराछोरीको कुरा काट्ने गर्छन् । ‘मेरो छोरा वा छोरीले अहिले पनि ओछ्यानमै पिसाब फेर्छ, जाँचमा फेल हुन्छ, कम नम्बर ल्याउँछ, केही गर्न आउँदैन जस्ता कुरा अरुसँग गरिदिंदा बच्चाले आफ्नो बेइज्जत भएको महसुस गर्छन् । अनि आफूले आफैंलाई कमजोर सोच्न थाल्छन्,’ पनेरु भन्छिन्, ‘त्यसैले पटकपटक यसरी तुलना गर्दा निर्डर व्यक्ति पनि बिस्तारै कमजोर महसुस गर्दै जान्छ ।’
‘म कमजोर छु‘ भनेर मान्छेले कतिबेला सोच्न थाल्छ ?
मनोविद् डा. पनेरुका अनुसार कमजोर महसुस गर्ने कुनै निश्चित उमेर वा समयावधि हुँदैन । कोही बच्चा बेलादेखि आफूलाई कमजोर ठान्छन् भने कोही किशोरावस्था र वयस्क अवस्थामा पनि आत्मविश्वासमा कमी भएको महसुस गरिरहेका हुन्छन् ।
‘कोही स्कुलमा बुलिङको सिकार भएर कमजोर महसुस गर्छन् भने कसैले आफूले गरेको व्यवसाय डुबेर वा कुनै पदमा नभएर पनि कमजोर ठान्छन्,’ पनेरु भन्छिन्, ‘तर प्राय: किशोरावस्थामा बढी आत्मविश्वास गुमाउने वा कमजोर भएको अनुभूति गर्छन् ।’
ग्लानि भावले मान्छेलाई समस्यामा पार्न सक्छ ?
आत्मविश्वास घट्दै गएमा एक्लै बस्ने, समूहमा बोल्न नसक्ने र डराउने हुन्छ । यसले भविष्यमा डिप्रेसन र एन्जाइटीजस्ता मानसिक रोग लाग्ने जोखिम हुन्छ । कसैको त पूरै बोल्न नसक्ने समस्यासमेत हुन सक्छ ।
कम बोल्ने, एक्लै बस्न रुचाउने, समाजमा घुलमिल नहुने व्यक्तिमा म कमजोर छु भन्ने भाव अरुमा भन्दा बढी हुने पनेरु बताउँछिन् ।