खसी-बोका परीक्षणमा सरकारको कडाइ: स्वस्थ खसी-बोकाको सिङमा हरियो, रोगीलाई रातो रङ लगाइने

खसी-बोका परीक्षणमा सरकारको कडाइ: स्वस्थ खसी-बोकाको सिङमा हरियो, रोगीलाई रातो रङ लगाइने

सरकारले खसी-बोका र च्याङग्रा परीक्षण गरी शुद्ध र स्वस्थ्य खसी-बोकाको सिङमा ‘हरियो’ रङ लगाउने भएको छ। यस्तै रोगी खसी-बोकाको सिङमा भने रातो रङ लगाइने भएको छ।

उपत्यकाका विभिन्न ११ वटा स्थानबाट खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने प्रक्रिया सुरु भएको पशुसेवा विभागका महानिर्देशक उमेश दाहालले बताए। विभागले पशु र मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै स्वस्थ्य खसीबोकाको सिङमा ‘हरियो’ र रोगीलाई ‘रातो’ चिह्न लगाउने अभियान आइतबारदेखि सुरु गरिएको दाहालको भनाई छ।

कलंकी खसी बजार, बल्खु, कालीमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल, रांगाबजार, टुकुचा खसी बजार र खाद्य संस्थान, लोकन्जली खसीबजार, सल्लाघारी च्याङग्राबजार, बालाजु वाइपास नाका, लगनखेल, धापाखेल अकाशे धारा र सुकेधारा र चन्द्रागिरी(थानकोट) दाउरा डिपो, दहचोक मूलपानी चौर खसी बजारस्थित होल्डिङ तथा संकलन केन्द्रमा ल्याइएका खसीबोकाको स्वास्थ्य परीक्षण गर्न थालिएको छ।

खसीबोकाको स्वास्थ्य परीक्षणका लागि पशु स्वास्थ्यकर्मी र प्राविधिक गरी ५ देखि ७ जनाको टोली पठाएको उनले जानकारी दिए। टोलीले बजारमा आएका खसीबोकाको स्वास्थ्य कात्तिक ६ गते अर्थात् नवमीसम्म परीक्षण गर्नेछ। पशु चिकित्सकले बाहिरबाट ल्याइएका खसीबोकाको बाहिरी रूपमा देखिने रोगका लक्षण,मुटुको ढुकढुकी र शंका लागेमा रगतको नमूनाको आधारमा अध्ययन गरेर स्वस्थ्य ठहरिएकाको सिंहमा हरियो र अस्वस्थ्य ठहरिने खसीबोकाको सिङमा रातो चिह्न लगाउने व्यवस्था गरिएको छ।

उपभोक्तालाई दशैंमा स्वस्थ मासु उपयोग गर्न सिङमा हरियो रंग लगाइएका खसीबोका मात्र खरिद गर्न सरकारले सुझावसमेत दिएको छ। बिक्री स्थलमा हरियो र रातो चिह्न हेरेर खसीबोका खरिद गर्ने व्यवस्था पनि गरिएको छ।

रोगी खसीबोकामा देखिन्छन् यस्ता लक्षण
खसीबोकाको नाक र मुखबाट सिंगान र स्याल बगेको, पातलो दिसा भएर शरीरको पछाडीको भागमा यत्रतत्र टाँसिएका खसीबोकामा देखिने रोगका लक्षण हुन्।

यस्तै चोटपटक लागेर वा संक्रमण रोगबाट कानमा घाउ भएको वा रगत बगेको, शरीरको तापक्रम, गिजा र खुट्टाको खुरमा घाउ, झोक्राउने, सुस्त, दुब्लो, आँखामा चिप्रा र रातो आँखा, छिन छिनमै दिसा गर्ने, खुट्टाले भुइँ खोस्रिने, छिनछिनमा आकाशतर्फ फर्केर घुम्दै कराउने र लड्नेजस्ता लक्षण भएका खसीबोका रोगी मानिन्छन्।

परीक्षणको क्रममा यस्ता कुनै लक्षण नभेटिने खसीबोकालाई स्वस्थ्य ठहर गरेर सिङमा नखुइलिने विशेष खालको हरियो रंग लगाएर व्यापारीलाई बिक्री गर्न अनुमति दिइने छ। निमोनिया, ज्वरो र डायरियाजस्ता सामान्य तथा खोरेत, पीपीआर, क्षयरोग, रेविज र घुमाउने रोग लागेका खसीबोकाको सिङमा रातो चिह्न लगाएर विशेष निगरानी गरी उपचार गरिनेछ।

निमोनिया, ज्वरो र डायरियाबाट प्रभावित भएर उपचारपछि निको भएमा खसीबोकालाई बिक्रिका लागि बजार पठाइने छ। तर खोरेत, पीपीआर, रेबिज, घुमाउने र क्षयरोग लागेका खसीबोकालाई बिक्रीमा रोक लगाइने दाहालको भनाई छ। यी रोग लागेका खसीबोकाको मासु मानवस्वास्थ्यका लागि अत्यन्त घातक मानिन्छ।

यस्ता रोगबाट प्रभावित खसीबोकाको मासु सेवन गर्दा मानिसको शरीरमा पनि त्यस्तै खालको रोग सर्ने जोखिम रहेको उनको भनाइ छ। विभागका अनुसार उपत्यकामा गरिएको एक अध्ययन अनुसार यहाँ भित्रिने पशुपन्छीमध्ये ११.४ प्रतिशतमा साल्मोनेल्लाको जीवाणु र ८० प्रतिशतमा कोलिफर्म भेटिएको छ। यस्ता जीवाणुले मानव स्वास्थ्यमा असर पुर्‍याउँछन्।

मानिसमा लाग्ने सरुवा रोगमध्ये ७५ प्रतिशत पशुपन्छीबाट सर्छ। गत वर्षको दसैंमा खसीबोका ५१ हजार, च्याङग्रा २ हजार ५ सय तथा रांगा ५ सयको संख्यामा उपत्यकामा भित्रिएको थियो। यो वर्ष निजी र सरकारले गरी झण्डै ५३ हजार खसीबोका र १५ हजार च्याङ्ग्रा ल्याउने तयारी भएको छ।

तर सरकारी स्वामित्वको खाद्य व्यापार तथा व्यवस्था कम्पनीले खरिद गरेको खसीबोका अझै नआइनपुगेको कम्पनीका सूचना अधिकारी सर्मिला न्यौपानेले जानकारी दिइन्। ‘अहिलेसमम आइपुगेका छैनन्। सोमबार बिहानसम्म आइपुगे त्यसै दिन मूल्य तोकी बिक्री थालिने छ,’ उनले भनिन्।

तर निजी कम्पनीले भने खसीबोका ल्याएर बिक्री थालेको छ भने मूल्य समेत तोकिसकेको छ। चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष दीपक थापाले दशैंका जिउँदो खसीको मूल्य प्रतिकिलो ६६० देखि ६८० रुपैयाँसम्म तोकिएको बताए।
संघका व्यवस्थापक जीवनराज खतिवडाले भने खसी बोका तथा च्याङ्ग्राको मूल्य दैनिक रुपमा फरक–फरक पर्ने बताए। ‘हाम्रो सधैं एकै नासको मूल्य हुँदैन। दिनदिनै फरक–फरक स्थानबाट फरक–फरक मूल्यमा ल्याइएको हुन्छ कहिले भाउ बढ्न जान्छ। कहिले सस्तो पर्छ,’ खतिवडाले भने। आइतबार जिउँदो खसी प्रतिकिलो ६२० देखि ६५० रुपैयाँसम्म रहेको थियो।