पोर्चुगलमा किन बढ्दो छ नेपालीको आकर्षण ? यस्तो छ रहस्य जन्नुहोस

पोर्चुगलमा किन बढ्दो छ नेपालीको आकर्षण ? यस्तो छ रहस्य जन्नुहोस

युरोपियन युनियनमा सेनजेन समूहमा रहेको देश पोर्चुगल, नेपालभन्दा सानो छ। जनसंख्या पनि नेपालको भन्दा आधा नै कम छ। विगत सन् २०१५ देखि त यहाँको जनसंख्या वृद्धिभन्दा घट्ने क्रम बढी छ।युरोपमा मात्र नभएर विश्वमै पोर्चुगल आप्रवासीको लागि उदार नियम भएको मानिन्छ। यहाँ नेपाल लगायत दक्षिण एसियाली राष्ट्र, अफ्रिकी राष्ट्रका साथै युक्रेन ब्राजिललगायत देशका आप्रवासी श्रमका साथ यहाँको कार्ड र पासपोर्टको लागि आउने गर्छन्।विगत केही वर्षदेखि नेपालीको आकर्षणको केन्द्र र गन्तव्य पोर्चुगल भएको छ।

के छ आप्रवासीको लागि पोर्चुगलमा ?
पोर्चुगलको मुख्य आम्दानी पर्यटक र कृषि नै हो। यहाँ आप्रवासीको लागि खुकुलो नियम त छँदै छ, यसको साथै लगानी गर्नेको लागि सहज र सरल छ।यहाँ घर जग्गा किन्न यहाँको कार्ड या यहाँको भिसा नै हुनुपर्दछ भन्ने छैन। यहाँ आएर फिनान्स नम्बर (व्यक्तिगत राजश्व नम्बर या ट्याक्स नम्बर) बनाएपछि पोर्चुगलमा आएको १-२ हप्तामा नै घर जग्गा किन्न सकिन्छ भने आफूले चाहेको व्यवसाय गर्न पनि सकिन्छ।सामान्य कागजात पुर्‍याएपछि यहाँको अस्थाइ बसोबास अनुमति पत्र दिने सँगै ५ वर्षमा पासपोर्टको लागि आवेदन दिन मिल्ने सरल नियम छ।

नेपालीको आकर्षण पोर्चुगल नै किन ?
पोर्चुगल नेपालीको रातो पासपोर्ट लिने सपना साकार पारीदिने देश हो। यहाँ १८ वर्षका युवादेखि ५० वर्षका नेपाली पनि आएर कार्ड बनाउन सक्छन्। यहाँ कार्ड बनाउन कुनै योग्यता, दक्षताको परिधि छैन। यहाँ वर्कपरमिटमा आउने होस् या भिजिटमा आउने होस् अथवा अन्यत्र सेनजेन देशमा भिजिटमा आउनेले पनि यहाँ कार्ड बनाउने गरेका छन्।हिँडेर आउनेहरुदेखि अन्य युरोपियन देशमा विधार्थी भिसामा आउनेको अन्तिम गन्तव्य पोर्चुगल हो। किनकि, यहाँ कमाइ थोरै भए पनि कार्ड बन्न सहज छ।

आम्दानी कम, आकर्षण बढी किन ?
पोर्चुगलको न्यूनतम मासिक तलब ७०५ युरो छ। हालसम्म यदि कसैले ७०५ को कन्ट्र्याक पाउँछ भने उसले ११% ट्याक्स कटाएर खातामा आउने ६२७ युरो ५० सेन्ट हो। आउने वित्तिकै यहाँ यहीँ काम पाउन पनि धेरै गाह्रो छ।समग्रमा, अन्य युरोपियन देशः डेनमार्क, नर्वे, जर्मन, बेल्जियम, स्वीडेन जस्ता देशको तुलनामा यो तलब अति नगन्य हो। तर यहाँ न भिसाको समस्या हुन्छ, न त नेपाल नै डिपोर्ट हुने डर न त शरणार्थी नै बन्नु पर्ने पिर।

यहाँ नियम सहज छ। साथै परिवारसहित अन्यत्रबाट आउनेको बालबच्चालाई यहाँ बिना भिसा, बिना कार्ड स्कुल पढाउन पाइने नियम तथा स्वास्थ्य र शिक्षा निःशुल्क छ। कार्ड बन्ने बित्तिकै आफ्नो परिवारलाई आफ्नो डिपेन्डेन्टमा स्थायी रूपमा बोलाउन सकिन्छ।अनि कार्ड बनेको ५ वर्षमा पासपोर्ट पाइने र पासपोर्ट पाएपछि नर्वे, डेनमार्क, जर्मन, बेल्जियम लगायत आफूले चाहेको देशमा काम गर्न र बस्न पाइने भएकोले नै पोर्चुगलमा कमाइ कम हुँदा पनि यहाँको आकर्षण बढी छ।

अन्त्यमा, आप्रवासीको लागि पोर्चुगल जस्तो सहज र सरल कही छैन भने पनि हुन्छ। बिरामी परेर विस्तारामा छ, यदि भिसा सकियो भने नर्वे, डेनमार्कले कुनै हालतले बस्न दिदैनन्। ८ महिनाको गर्भ छ तर विधार्थी भिसा सकियो भने मानवीय नाताले पनि डेनमार्कले भिसा थप्दैन।

विद्यार्थी भिसा वा वर्कपरमिटमा डेनमार्क जस्ता देशमा आइयो, आउँदा आउँदै दीर्घ रोग लाग्यो, मिर्गौलामा समस्या आयो अनि काम गर्न विभिन्न कारणले सकिएन भने त्यहाँ कुनै अपिल र अनुरोध गरेर बस्न पाइदैन। आफ्नो जनतालाई जति अधिकार दिएको छ, त्यतिनै कठोर आप्रवासी भिसा नभएकोप्रति युरोपका विकसित र धनी देशहरू हुन्छन्।

तर पोर्चुगल यस्तो देश हो जहाँ तपाईँ आउनुभयो। आएकै दिन बिरामी हुनुभयो। तपाईँलाई यहाँ स्वास्थ्यको कारण १२२ को धाराले कार्ड बन्छ। कार्ड बनेपछि धेरै थोरै भत्ता त पाउनु हुन्छ नै, आफ्नो परिवारलाई पनि बोलाउन सकिन्छ।

युरोपियन मुलुकमा घुम्दै फिर्दै पोर्चुगल आउनुभयो। यहाँ भिसा सकियो, यहीँ बस्न मन लागे पनि तपाईँ बस्न सक्नुहुन्छ। नेपाल फर्कन मन लागे पनि डिपोर्ट भनेर छाप हानिँदैन। त्यसैले, पोर्चुगलमा कम आम्दामी हुँदा पनि आकर्षण बढी छ नेपालीको।