भूकम्प पीडितलाई भाटभटेनीको एक करोड ११ लाख एक हजार १११ सहयोग, प्रधानमन्त्रीलाई चेक हस्तान्तरण

भूकम्प पीडितलाई भाटभटेनीको एक करोड ११ लाख एक हजार १११ सहयोग, प्रधानमन्त्रीलाई चेक हस्तान्तरण

जाजरकोट र रुकुममा गएको विनासकारी भूकम्पबाट क्षति भएकाको उद्धार र राहतका लागि भाटभटेनी सुपर स्टोरले एक करोड ११ लाख एक हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेक हस्तान्तरण गरेका हुन् ।

दाहालले भाटभटेनीका अध्यक्ष गुरुङले प्रदान गरेको चेक लिँदै कर्पोरेट क्षेत्रबाट पहिलोपटक यसरी सहयोग प्रदान गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

यसअघि कोरोना कालदेखि अन्य विपदका बेला पनि भाटभटेनीका तर्फबाट सरकारले सहयोग प्राप्त गरेको प्रधानमन्त्रीको भनाई थियो ।

“जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्मा परी आफ्नो तथा आफन्तको ज्यान गुमाउने नेपाली दिदीबहिनीप्रति समवेदना व्यक्त गर्दछौँ,” सहयोग रकम हस्तान्तरणपछि भाटभटेनीका अध्यक्ष गुरुङले भने, “साथै उक्त विनासकारी भूकम्पमा परी घाइते भएका सम्पूर्णको स्वास्थ्य लाभको कामना गर्दछौँ ।

विपदको यस घडीमा हामी सबै मिलेर लड्नुपर्ने भएकाले हाम्रो संस्था भाटभटेनी सुपर मार्केट एण्ड डि। स्टोर प्रालिले मानव मात्रमा पर्न गएको यस दुखद क्षणमा राहतको लागि यथाशक्य सहयोग गर्ने पवित्र भावना राखी केही आर्थिक सहयोग गरौँ भनी निर्णय भएको हुँदा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एक करोड ११ लाख एक हजार १११ रुपैयाँ उपलब्ध गराएका छौँ । हार्दिकतापूर्वक स्वीकार गरिदिनु भई भूकम्प पीडितहरुको लागि सदुपयोग गरिदिनुहुन संस्थाको तर्फबाट विनम्र अनुरोध गर्दछौँ ।”

सहयोग रकम हस्तान्तरणपछि बाह्रखरीसँग कुरा गर्दै गुरुङले अहिले नेपाली जनतालाई परेको दुःखमा आफूहरुले सहयोगको हात बढाएको बताउँदै राज्यले आवश्यक ठानेमा अन्य खाद्यान्नसहितका सामग्री सहयोग गर्न तयार रहेको बताए ।