जाजरकोट केन्द्रबिन्दु बनाएको भूकम्प प्रभावित व्यक्तिहरू भावनात्मक पीडामा छन्। शुक्रबार मध्यरातको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा १ सय ५३ जनाले ज्यान गुमाएका छन्। ज्यान जोगाएका केही घाइते छन्। घाइतेहरूमा भूकम्पको मनोवैज्ञानिक र भावनात्मक असर देखिन थालेको छ। प्रियजन गुमाउनुको पीडाको असर तत्काल आँसुको रूपमा प्रकट भएको छ। आफन्तसँगको बिछोड र त्यसले पारेको चोट बिर्सन जो कोहीलाई सकस पर्छ।
भूकम्प प्रभावित क्षेत्रमा पटकपटक आइरहेका परकम्पले झन् सताएको छ। सम्पूर्ण पीडितमाझ अझैं राहत पुग्न सकेको छैन। आकाशमुनि बसेकाहरूको जीवन कष्टकर छ। ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती र बालबालिका बढी मारमा परेका छन्। भोकभोकै रात बिताउनु परेको छ। दीर्घरोगीहरूको अवस्था झन् नाजुक छ। त्यसैले पीडितहरूमा तत्काल र दीर्घकालमा विभिन्न स्वास्थ्य समस्याहरू असरहरू देखिन सक्छन्।
अहिले भूकम्पका घाइतेहरूको सरकारी एवं निजी क्षेत्रका विभिन्न अस्पतालमा निःशुल्क उपचार भइरहेको छ। शरीरका विभिन्न भागमा चोटपटक लागेका र हातखुट्टा भाँचिएकाहरूको शल्यक्रिया गर्नेलगायतका उपचारात्मक कार्यहरू भइरहेका छन्। यद्यपि, मनमा लागेको चोट अर्थात् पिर, व्यथाको यथाशीघ्र सम्बोधन हुन सकेको छ। मनको चोट झन् कहालिलाग्दो छ। चिन्ता, उदासीले छोइसकेको छ। भूकम्पमा परी बाँच्न सफल भएकाहरूलाई आफन्त गुमाउनेको पीडा एकातर्फ हुन्छ भने अर्कोतर्फ गाँस, बास, कपास र जीविकोपार्जनको समस्याले पिरोलिरहेको छ। अकालमा एक्लोपनको आभासले सताउँछ। त्यसलै सरकारले भौतिक क्षतिसँगसँगै पीडितको मनमा गढेको पीडालाई सम्बोधन गर्नु पर्छ।
प्रकोपको कम्तीमा दुई सातासम्म पीडितहरू असामान्य अवस्थामा नै रहेका हुन्छन्। अहिले पनि भूकम्पमा परेर बाँच्न सफल भएकाहरू तनावमा छन्। पारिवारिक सदस्य सदाका लागि गुमाएका छन्। बास भत्किएको छ। गाँसको टुंगो छैन। आफन्त गुमाउनु पर्दा असहाय महसुस गरिरहेका छन्। कतिपयलाई निद्रामा कठिनाइ भइरहेको छ। भूकम्पपछिका मानसिक असरका रूपमा कतिपयमा स्तब्धता, क्रोध, अति उत्तेजनाजस्ता लक्षणहरू देखिन सक्छन्। त्यस्तै कतिपयमा चिन्ता, शोक, निराशाजस्ता लक्षणहरू देखिन सक्छन्। कतिपयमा रिसको भाव जागृत हुन सक्छ। विपत्ति परेकोले झोक्र्याउने, एक्लै बस्न रुचाउने, थोरै बोल्ने वा झडंग रिसाउनेलगायतका लक्षणहरू देखिन सक्छन्। कुनै पनि कार्यमा मन र ध्यानकेन्द्रित हुन सक्दैन। विशेषगरी भविष्यमा कसरी जिउने ? भन्ने प्रश्नले भूकम्प पीडितहरूलाई पिरोलिरहेको हुन्छ। पीडितहरू तीन सातापछि मात्र क्रमशः सामान्य जीवनमा फर्कन सुरु गर्छन्। यतिबेला परिवारजन गुमाएकाहरू पीडितका लागि मनोसामाजिक परामर्शको खाँचो छ। बेलैमा समस्याको सम्बोधन नभएमा धेरैमा मानसिक समस्या निम्तिन सक्छ। भूकम्पपछि बालबालिकामा डराउने, तर्सिने, सपनामा चिच्याउनेजस्ता समस्या पनि देखिन सक्छन्। त्यसैले भूकम्प प्रभावित क्षेत्रमा मनोसामाजिक सेवा सञ्चालन गर्न सरकारका साथै सरोकारवालाहरूले तत्काल अग्रसरता लिनुपर्छ।
हरेक व्यक्तिको जीवनमा तनाव हुन्छ। अझ भूकम्पजस्ता प्राकृतिक प्रकोपको बेला आफन्त गुमाउनु पर्दाको पीडाले तनाव व्यवस्थापनमा सकस पर्छ। यस्तो अवस्थामा पीडितलाई मानसिक परामर्शलाई पहिलो प्राथमिकता दिँदै राहत, पुनस्र्थापनालगायतका पक्षमा संवदेनशील हुनुपर्छ। पीडितलाई तनाव व्यवस्थापन गर्न सहज बनाउँदै आफ्नो पेसालाई प्रभावकारी रूपमा निरन्तरता दिलाउनेतर्फ ध्यान दिनुपर्छ। त्यसका लागि स्थानीय सरकारले मनोपरामर्श टिम परिचालन गर्न सक्छ। अहिले मुलुकमा मनोचिकित्सकको संख्या अपर्याप्त छ। त्यसैले मनोचिकित्सकहरूको दरबन्दी सिर्जना गरेर भए पनि पर्याप्त व्यवस्था गर्नु जरुरी छ। मनोपरामर्श एवं मनोचिकित्सकको सहयोगबाट पनि पीडितको पीडालाई समयमै सम्बोधन गर्न सकिन्छ।
भूकम्पलगायतका प्राकृतिक प्रकोपले पार्ने असर बहुआयामिक हुन्छन्। मानवीय मात्र नभई भौतिक क्षतिले परिवारलाई गरिबीतर्फ धकेल्छ। भूकम्पजस्ता प्राकृतिक प्रकोपले तत्काले सम्बन्धित घरपरिवार, समाजलाई असर पारेको देखिए पनि दीर्घकालीन रूपमा समग्र मुलुकलाई नै प्रभावित पारेको हुन्छ। राज्यको तर्फबाट पुनस्र्थापनामा ढिलाइ हुँदा त्यसले पीडितको मानसिक स्वास्थ्यमा प्रभाव पार्छ। भूकम्पले शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिकलगायतका क्षेत्रमा प्रभाव पार्दा स्थानीयवासीको जीवनमा झन् ठूलो प्रभाव पर्नेछ। पीडितमा पर्न सक्ने दीर्घकालीन असरको न्यूनीकरणको लागि बेलैमा सरोकारवाला पक्षहरू संवेदनशील हुनुपर्ने जरुरी छ।
पीडितहरूलाई विस्तारै दैनिक जीवनमा फर्काउने कार्यमा सरोकारवाला सबैले ध्यान दिनु जरुरी छ। भूकम्पको मनोवैज्ञानिक प्रभावलाई न्यूनीकरण गर्न जोखिमको मूल्यांकन गरी न्यूनीकरण, व्यवस्थापनमा ध्यान दिनुपर्छ। प्रभावित समुदायलाई प्राथमिकता दिनुपर्छ। यस्तो प्राकृतिक प्रकोपको सही व्यवस्थापन गर्न नीति निर्माताहरूले योजना बनाई रोकथाम, तत्परता, पुनस्र्थापना र पुनर्निर्माणमा तीव्रता दिनुपर्छ।