सङ्क्रमण फैलिएसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल

    विगत ३ वर्षदेखि विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण दर नेपालमा शून्यको अवस्थामा झर्दै गरेका बेला छिमेकी मुलुक चीन, भारत लगायत जापान, अमेरिका जस्ता विश्वका विकसित देशहरुमा सङ्क्रमण फैलिएसँगै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आम नागरिक सामु अपिल गरेको छ ।

    एकसातामा एकाएक विश्वका विभिन्न मुलुकमा कोराना संक्रमितको संख्यामा वृद्धि हुँदा ३६ हजार भन्दा बढी सङ्क्रमित हुनुका साथै १० हजार व्यक्तिको ज्यान गएको तथ्याङ्क सार्वजनिक भएसँगै नेपाल सरकारले विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै आम नागरिक, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी लगायतका सम्पूर्ण निकायले सतर्कता अपनाउन आग्रह गरेको छ ।

    विशेष गरी चीन, भारत, जापान, अमेरिका, अर्जेन्टिना, ब्राजिल तथा जर्मन, दक्षिण कोरिया लगायतका देशहरुमा कोरोना सङ्क्रमण तीव्र भएको उल्लेख गरिएको छ । चीनको यकिन तथ्याङ्क भने यकिन नभएको बुझिएको छ । विज्ञहरुले कोभिड सङ्क्रमण दर यही अवस्था बढेर गयो र थप सतर्कता अपनाउन सकिएन भने सन् २०२३ मा कोरोनाको अर्को विस्फोट हुन् सक्ने चेतावनी दिएका छन् ।

    सरकारले छिमेकी मुलुकमा देखिएको कोभिड १९ को नयाँ भेरियन्ट बी.एफ. ७ को सङ्क्रमण नेपालमा हालसम्म नदेखिएको भएपनि यो भेरियन्ट अरु भेरियन्ट भन्दा तीव्र रुपमा सङ्क्रमण गर्ने भएकाले थप सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको खुल्ला सिमाना र मानिसको आवात जावतका कारणले नेपालमा पनि यस सङ्क्रमणको जोखिम रहेको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता डा सञ्जय ठाकुरले शनिवार जारी गरेको विज्ञप्तिमा थप सतर्कता अपनाउनुपर्ने बेला आएको भन्दै स्वास्थ्यको मापदण्ड पालना गर्न अपिल गर्नुभएको छ । विज्ञप्तिमा मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, नियमित साबुन पानी तथा सेनिटाइजरले हात धुने, बुस्टर डोज लगाउन छुटेकाहरूले लगाउन समेत आग्रह गर्नुभएको छ ।

    विज्ञप्तिमा सीमा नाका तथा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रने यात्रुको ज्वरो नाम गर्ने, शंकास्पद व्यक्तिको एन्टीजेन टेष्ट र जीन सिक्वेन्सिङ गर्ने कार्य भइरहेको समेत उल्लेख गरिएको छ ।

    कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट देखिएसँगै भारतले अन्तर्राष्ट्रिय उडानबाट आफ्नो देश छिर्ने यात्रुहरुमध्ये २ प्रतिशतलाई कोरोनाको ‘रेन्डम चेक’ गर्ने भएको छ । बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले अन्तर्राष्ट्रिय उडानबाट देशभित्र छिर्ने यात्रुहरुको ‘रेन्डम चेक’ गर्न स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलाई निर्देशन दिएको हो ।

    सो निर्देशन पछि स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले ट्राभल गाइडलाइन जारी गरेको छ । मन्त्रालयले २४ डिसेम्बरबाट यो नयाँ व्यवस्था लागू हुने बताएको छ । जारी गरिएको गाइडलाइनमा यात्रुहरुको अनिवार्य खोप प्रमाणपत्र (क्युआर कोड) साथमा लिएको हुनुपर्ने उल्लेख गरिएको छ । साथै स्वास्थ्यका निकायलाई उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन समेन दिइएको थियो । राज्य सरकारहरुलाई अक्सिजन सिलिन्डर, भेन्टिलेटर, अक्सिजन ग्यास प्लान्ट साथै जनशक्ति समेत तयारी अवस्थामा राख्न निर्देशन दिइएको भारतका सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

    नेपालमा पनि विगतमा जस्तो अक्सिजन, औषधि, खोप, जनशक्ति, अस्पताल वेड, परीक्षणमा कमी नआओस् भन्ने विषयमा स्वास्थ्य विज्ञहरुले नेपाल सरकार समक्ष आग्रह गरेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *