कोलेस्ट्रोल बढेको कसरी थाहा पाउने ? डाक्टरलाई कहिले देखाउने ?

    कोलेस्ट्रोल बढेको कसरी थाहा पाउने ? डाक्टरलाई कहिले देखाउने ?

    कोलेस्ट्रोल पनि शरीरका लागि अति आवश्यक तत्त्वहरूमा समावेश हुन्छ । यदि यो शरीरमा २०० एमजी/डिएल भन्दा कम छ भने यसको स्तर राम्रो मानिन्छ तर यदि यो स्तर भन्दा बढी छ भने खतरनाक मानिन्छ । जसका कारण हृदयघात र स्ट्रोक जस्ता खतरनाक रोग लाग्न सक्छन् । उच्च कोलेस्ट्रोलको रोग अचेल तीव्र गतिमा बढिरहेको छ । सबै उमेरका मानिसहरू यसको सिकार भइरहेका छन् । त्यसैले सधैँ सचेत रहनुपर्छ । यदि कोलेस्ट्रोलको स्तरलाई ध्यान दिएन भने अवस्था गम्भीर हुन सक्छ । तर, सानातिना काम गरेर पनि कोलेस्ट्रोलको जोखिम भने कम गर्न सकिन्छ ।

    आउनुहोस् जानौँ यो उच्च कोलेस्ट्रोल कसरी चिन्ने र यसबाट बच्ने उपायहरू… कोलेस्ट्रोलमा लक्षण नदेखिए कसरी चिन्ने ? मेयो क्लिनिकको रिपोर्ट अनुसार, कोलेस्ट्रोल (एलडिएल कोलेस्ट्रोल) बढेको कुनै लक्षण नदेखिने भएकाले यो पहिचान गर्न त्यति सजिलो छैन । यही कारण यो रोगलाई साइलेन्ट किलर पनि भनिन्छ । यो बिस्तारै बढ्छ र सही समयमा उपचार नगरे घातक हुन सक्छ ।

    डाक्टरलाई कहिले देखाउने ?

    स्वास्थ्य विज्ञहरूका अनुसार कुनै पनि व्यक्तिको पहिलो कोलेस्ट्रोल परीक्षण ९ र ११ वर्षको उमेरमा गर्नुपर्छ । यो प्रत्येक पाँच वर्षमा जाँच गर्नुपर्छ । ४५ देखि ६५ वर्षका पुरुष र ५५ देखि ६५ वर्षका महिलाले प्रत्येक एकदेखि दुई वर्षमा आफ्नो कोलेस्ट्रोल जाँच गराउनुपर्छ । अर्कोतर्फ, उमेर ६५ वर्षभन्दा बढी भएमा यो परीक्षण हरेक वर्ष गर्नुपर्छ । परीक्षण गर्दा कोलेस्ट्रोल बढेको पाइएमा डाक्टरले पटक पटक परीक्षण गराउने सल्लाह दिन सक्छन् ।

    यदि परिवारमा पहिले देखि नै उच्च कोलेस्ट्रोल, हृदय रोग, मधुमेह वा उच्च रक्तचाप जस्ता समस्या छ भने, डाक्टरले पनि लगातार धेरै परीक्षण गर्न सल्लाह दिन सक्छन् । कोलेस्ट्रोललाई यसरी नियन्त्रण गर्नुहोस् -दैनिक कम्तीमा ३० मिनेट व्यायाम गर्नुहोस् । -जङ्क फुडबाट बच्नुहोस् र स्वस्थ आहार लिनुहोस् । -धूम्रपान र मद्यपानबाट बच्ने प्रयास गर्नुहोस् । -तौललाई नियन्त्रण गर्नुहोस् । -समय–समयमा रगत परीक्षण गराइरहनुहोस् ।