गर्भावस्थामा कस्तो गल्तीले जन्मिन्छ अशक्त बच्चा ?

    गर्भावस्थामा कस्तो गल्तीले जन्मिन्छ अशक्त बच्चा ?

    गर्भमा हुर्केको बच्चालाई लिएर हरेक दम्पतीको सोच आफ्नो बच्चा स्वस्थ र तन्दुरुस्त जन्मियोस् भन्ने हुन्छ । तर गर्भावस्थामा हुने सानातिना गल्तीले बालबालिकामा अपाङ्गता निम्त्याउँछ ।

    गर्भावस्थामा महिलाको शरीरमा धेरै परिवर्तन आउँछन् । यसमा हर्मोनल परिवर्तनहरू पनि समावेश हुन्छन् । त्यसैले स्वास्थ्य बच्चा जन्माउन दम्पतीले केही कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ । बच्चा नौ महिना आमाको गर्भमा हुर्कने बुबाको तुलनामा गर्भवती आमाले अलि बढी ध्यान दिनुपर्ने हुन्छ ।

    कुनै पनि बच्चा अशक्त तथा अपांग जन्मिनु कुनै एउटा मात्र कारण हुँदैन । कतिपय अवस्थामा कारण पनि पत्ता लगाउन सकिंदैन । अशक्त बच्चा जन्मिनुमा क्रोमोजोमदेखि वातावरणीय कारणले समेत हुन्छ ।

    बच्चाको विकास हुने भनेको आमाको गर्भमा हो । त्यसैले सबैभन्दा पहिलो स्वास्थ्य अण्डा र स्वास्थ्य शुक्रकीटको समायोजन गर्भमा हुनु जरुरी छ । क्रोमोजोमको कारण बच्चा अपांग हुने कारण भनेको अण्डा तथा शुक्रकीट स्वास्थ्य नहुनु हो ।

    सुरुको तीन महिना एकदमै महत्वपूर्ण

    नौ महिनासम्म आमाको गर्भमा नै बच्चाको विकास हुन्छ । सुरुको तीन महिना एकदमै संवेदनशील हुन्छ । यस अवधिममा बच्चाको अंगहरु बन्ने बेला हो । यो बेला पोषणको कमी, चोटपटक, गर्भवतीले धूम्रपान तथा मद्यपान गरेमा, बच्चालाई असर गर्ने खालको कुनै औषधि सेवन गरेमा, प्रदूषित वातावरण, गर्भवती महिलामा शारीरिक र मानसिक रूपमा स्वास्थ्य छैन भने यसले आमा र बच्चा दुवैको स्वास्थ्यमा असर गर्छ ।

    बच्चा स्वस्थ जन्मिन गर्भवती महिला स्वस्थ हुनु जरुरी

    जन्मिने बच्चा चाहिं स्वस्थ चाहिने, तर गर्भवती महिलाको स्वास्थ्य भने जस्तो भए पनि हुन्छ भन्ने धारणा अmभै पनि समाजमा व्याप्त छ । तर गर्भवती महिला नै स्वस्थ छैनन्, उमेर नै नपुगी गर्भवती भएको छ, गर्भवती महिलाले पोषणयुक्त खाना खान पाएको छैन, उनीहरूले खाने खानेकुरामा रसायन मिसिएको छ भने बच्चा अपांग वा अशक्त जन्मिने खतरा हुन्छ ।

    स्वस्थ बच्चाको तौल

    एउटा स्वस्थ बच्चा जन्मिंदा अढाइदेखि तीन किलोसम्मको हुन्छ । बच्चा ४ केजीभन्दा माथि छ भने बच्चाको तौल बढी हो । अढाइ केजी भन्दा कम छ भने बच्चाको तौल कम भएको मानिन्छ । औसत नेपाली बच्चा तीन केजीको जन्मिन्छन् । बच्चा जन्मिंदा ३७ हप्ता पूरा भएको र अढाई केजी हुनुपर्छ ।

    स्वस्थ बच्चा जन्माउन दम्पतीले ध्यान दिनुपर्ने कुरा

    स्वस्थ बच्चा जन्माउन आमाको त झन् धेरै महत्वपूर्ण भूमिका हुन्छ । आमालाई पोषणयुक्त खाना खान दिने, खुसी राख्ने र समय–समयमा स्वास्थ्य जाँच गराउन लैजाने गर्नुपर्छ ।

    स्वस्थ बच्चा जन्माउनका लागि गर्भवती महिलाको सबैभन्दा मुख्य भूमिका हुने भएकाले उनीहरूले खानपानमा विशेष ध्यान दिनुपर्छ । शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्छ । कम उमेरमा बच्चा जन्माउँदा पनि अशक्त हुने सम्भावना हुन्छ । त्यसैले २० वर्षपछि मात्र बच्चा जन्माउनुपर्छ । गर्भवती महिलाको धूम्रपान मद्यपान गर्ने बानी छ भने त्यो बानीलाई छोड्नुपर्छ ।