मिर्गौलाले रगतको फोहोर छानेर बाहिर फाल्छ । शरीरलाई नचाहिने पानी छानेर पिसाब बनाउने काम पनि मिर्गौलाले गर्छ । मिर्गौला कमजोर भयो भने रगतमा भएको विषाक्त पदार्थ छान्न सक्दैन । शरीरमा बढी हुने पानी पिसाब बन्न पनि कठिन हुन्छ । यो अवस्थालाई मिर्गौला फेल भएको भनिन्छ ।
जब मिर्गौलाले काम गर्न छोड्छ वा मिर्गौलामा समस्या देखा पर्छ, यसले गर्ने सम्पूर्ण काममा असर पुग्छ । मिर्गौलाले काम गर्न छोड्नु भनेकै मिर्गौला फेल हुनु हो । दुवै मिर्गौला फेल भएको अवस्थामा दुई तरिकाले उपचार गर्नुपर्ने हुन्छ । एउटा कृत्रिम तरिकाबाट रगतको शुद्धीकरण गर्न डायलाइसिस गर्ने र दोस्रो तरिका मिर्गौला प्रत्यारोपण हो । मिर्गौला प्रत्यारोपण भन्नाले अर्को व्यक्तिको एउटा मिर्गौला झिकेर बिरामीमा जोड्नु हो ।
स्वस्थ महिला वा पुरुष जो कसैले मिर्गौला दिन सक्ने भए पनि मिर्गौला दान दिने व्यक्तिहरूलाई मिर्गौला दानपछि सामान्य जीवनमा फर्कन कति समय लाग्छ, मिर्गौला दानपछि केही समस्या पो निम्तिन्छ कि भन्ने हुनसक्छ ।
कसले गर्न मिल्छ मिर्गौला दान ?
मिर्गौला दान लिनुअघि दातालाई कुनै गम्भीर रोग (जस्तै मधुमेह, हृदयघात वा क्यान्सर) भए-नभएको र उसको दुवै मिर्गौलाले राम्ररी काम गरिरहेको छ भनी सुनिश्चित गरिन्छ । जसले गर्दा एउटा मिर्गौला दान गरेपछि पनि एउटा मिर्गौलाले सामान्य जीवन जिउन सकोस् ।
चिकित्सकको निगरानीमा दाताबाट मिर्गौला फेल भएको व्यक्तिमा मिर्गौला हस्तान्तरण हुन्छ । यो प्रक्रिया अन्तिम चरणको मिर्गौला रोग र शरीरको फोहोर नियन्त्रण गर्ने क्षमता कमजोर र गम्भीर मिर्गौला समस्या भएका व्यक्तिका लागि उपयुक्त हुन्छ ।
यो पनि पढ्नुहोस
मिर्गौला पीडित मुश्किलले बाँच्छन्, घरबार उठीवास लाग्छ
एउटा मिर्गौलाले दुवै मिर्गौलाको जस्तो काम गर्न सक्छ ?
नेसनल अर्गन एण्ड टिस्यु ट्रान्सप्लान्ट अर्गनाइजेसनका अनुसार सामान्य जीवन जिउनका लागि एउटा स्वस्थ मिर्गौला पर्याप्त हुने भएकाले जिउँदो व्यक्तिले सबैभन्दा बढी दान गर्ने अंग मिर्गौला हो । एउटा मिर्गौलाले दुवै मिर्गौलाको कार्यलाई नियन्त्रण गर्न सक्छ । दुवै मिर्गौलाले ५० देखि ५० प्रतिशतसम्म काम गर्छ, तर एउटा मात्र मिर्गौला लिएर जन्मिएमा वा कसैले दोस्रो मिर्गौला दान गर्दा उसको मिर्गौलाले ७५ प्रतिशतसम्म काम गर्न सक्छ । त्यसैले एउटा मिर्गौला भए पनि जीवन सामान्य हुन्छ ।
मिर्गौला दान गरेपछि जीवनमा परिवर्तन
मिर्गौला दान गर्नुअघि दाताको शरीरको सम्पूर्ण परीक्षण गरिन्छ । यसले दाता स्वस्थ छ र मिर्गौला दान गर्दा उनको स्वास्थ्यमा कुनै असर नहोस् भनी सुनिश्चित गर्न सकिन्छ । दाताले केही दिनको शल्यक्रिया बाहेक अन्य जीवन सामान्य तरिकाले बिताउन सक्छन् ।
मिर्गौला दान महत्त्वपूर्ण र उपयोगी कार्य हो, जसले व्यक्तिको जीवनमा परिवर्तन ल्याउन सक्छ । तर मिर्गौला दानपछि केही सावधानीहरू पनि अपनाउनुपर्छ । मिर्गौला दानपछि जीवनमा यी परिवर्तन आउन सक्छन् ।
स्वास्थ्य : मिर्गौला दान गरेपछि, शरीरलाई पूर्ण रूपमा काम गर्न केही समय लाग्न सक्छ । केही हप्ता वा १-२ महिनाको लागि थकान, कमजोरी र व्यक्तिगत समस्याको सामना गर्नुपर्ने हुनसक्छ ।
उचित हेरचाह : मिर्गौला दान गरेपछि, आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ । डाक्टरको सल्लाह र निर्देशनहरू पालना गर्नुपर्छ । हरेक वर्ष डाक्टरले तोकेबमोजिम मेडिकल चेकअप गराउनुपर्छ ताकि भविष्यमा कुनै स्वास्थ्य अवस्था देखा परेमा त्यसको उचित उपचार गर्न सकिन्छ ।
आहार र शारीरिक गतिविधि : स्वस्थ शरीरका लागि स्वस्थ जीवनशैली र स्वस्थ खानपान महत्त्वपूर्ण हुन्छ । साथै शारीरिक गतिविधि र सामान्य व्यायामबाट पनि स्वास्थ्यमा सुधार हुन्छ ।
काम : मिर्गौला दानपछि काममा कुनै परिवर्तन गर्नु पर्दैन, तर आफ्नो शारीरिक अवस्थाअनुसार काम गर्नु पर्छ । काम र आराम दुवैको समय मिलाउनुपर्छ ।
मानसिक स्वास्थ्य : मिर्गौला दान गरेपछि मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ । चिन्ता र तनाव लिइयो भने यसले शरीरमा पनि असर गर्न सक्छ । त्यसैले मिर्गौला दानपछि मानसिक स्वास्थ्य सुधार गर्ने तरिकाहरू सिक्न जरुरी छ ।
मिर्गौला दानपछि कुनै पनि सामान्य रोगका लागि औषधि लिनुअघि डाक्टरसँग परामर्श लिनुपर्छ । चिकित्सकको निर्देशनअनुसार फलोअपमा जानुपर्छ । यी सुझाव अपनाएर मिर्गौला दानपछि स्वस्थ जीवन जिउन सकिन्छ ।