जब हामी जन्मन्छौं, सग्लो हुन्छौं । स्वस्थ्य हुन्छौं । हाम्रा अंग-प्रत्यांगले सही ढंगले कार्य-संचालन गरिरहेका हुन्छ । न मानसिक तनाव हुन्छ, न शारीरिक समस्या । अपवाद बाहेकको अवस्थामा हामी स्वस्थ्य र तन्दुरुस्त हुन्छौं ।
तर, जति जति उमेर बढ्दै जान्छा, हाम्रो शरीरमा समस्याहरु देखापर्दै जान्छ । एक पछि अर्को रोगले च्याप्छ । एकपछि अर्को समस्या थपिदै जान्छ । हाम्रो खानपान, जीउने शैली, वातावरण सबै कुराले हाम्रो सग्लो शरीरलाई कमजोर र जिर्ण बनाउँदै लान्छ ।
उमेरसँगै रोग देखापर्छ । हुन त एउटा निश्चित उमेरसम्म हामी बाँच्ने हो । जतिसुकै गरेपनि हामी मृत्युलाई जित्न सक्दैनौं । तर, जति समय बाँच्छौं त्यसबेलासम्म निरोगी र स्वस्थ्य भने हुन सकिन्छ । यसका लागि शरीरलाई रोग प्रतिरोधी बनाउनु पर्छ ।
शरीरलाई कसरी रोग प्रतिरोधी बनाउने त ?
यसका लागि हाम्रो दिनचर्या अनुशासित हुनुपर्छ । खानपान, जीवनशैली सबै कुरा सन्तुलित र स्वस्थ्यकर हुनुपर्छ । सन्तुलित, सुपाच्य खानेकुरा सेवन गर्ने । व्यायाम गर्ने । सकारात्मक सोंच राख्ने । सधै खुसी रहने हो भने, आफ्नो उमेरभर स्वस्थ्य र तन्दुरुस्त भइन्छ ।
यसका साथै संभावित रोगप्रति सधै सचेत र सर्तक हुनुपर्छ । अक्सर विभिन्न उमेर चरणमा हामीलाई भिन्न भिन्नै किसिमको सामस्याले सताउन सक्छ । त्यसैले यस्ता संभावित समस्याका बारेमा सचेत हुन जरुरी छ ।
जन्मदेखि १ बर्षको उमेरसम्म
यदि भर्खरै जन्मिएको बच्चाको शारीरिक तथा मानसिक स्तर सही छ /छैन भन्ने कुरा जान्नका लागि थाइराइड टेस्ट गर्नुपर्छ । यदि बच्चा पूर्ण रुपले स्वस्थ्य छ भने, उसको कुनै मेडिकल टेस्ट गर्नु आवश्यक छैन ।
२ देखि ३ उमेरको बीचमा
जब बच्चा २ बर्षको हुन्छ, केहि किसिमको खानेकुरा खान थाल्छन् । खानपानकै कारण पेटमा जुका पर्न सक्छ । वा ब्याक्टेरिया पर्न सक्छ । यदि उक्त उमेर समूहमा बच्चाको पेटमा ब्याक्टेरिया छ/छैन भन्ने जान्नका लागि स्टूल टेस्ट गर्न सकिन्छ ।
४ देखि ५ बर्षको उमेरमा
बच्चाको उचाई, मोटाइ, तौल समुचित ढंगले बढिरहेको छ कि छैन ? यसबारे जान्नुपर्ने हुन्छ । बच्चाको आँखा, दाँतको स्वस्थ्यबारे पनि जान्नुपर्छ । यदि त्यसो हो भने सामान्य मेडिकल चेकअप गर्न सकिन्छ । यसले बच्चाको मानसिक तथा शारीरिक अवस्था सही छ/छैन भन्ने जानकारी लिन सकिन्छ ।
१० देखि १४ बर्षको उमेरमा
यस उमेरमा बच्चाको नियमित चेकअप गराउन सकिन्छ । त्यसबाट उनीहरुमा कुनै गडबडी छ/छैन भन्ने जान्न सकिन्छ ।
१५ देखि १९ बर्षको उमेरमा
किशोरवयमा प्रवेश गरिसकेपछि उनीहरुमा शारीरिक तथा मानसिक परिवर्तन देखिन्छ । शरीरका अंगहरु थप विकासित र बृद्धि हुने अवस्था पनि यहिबेला हो । यो उमेरमा उनीहरुलाई मानसिक रुपले पनि सही राख्नुपर्ने हुन्छ । साथै एक्स रे, लिपिड प्रोफाइल टेस्ट, ब्लड शुगर वा थाइराइड टेस्ट गर्नुपर्छ । किशोरीहरुको मासिक श्राव यहिबेला सुरु हुने भएकाले उनीहरुलाई यौन स्वास्थ्यबारे जानकारी दिलाउनुपर्छ ।
२० देखि ३९ को उमेरमा
यो उमेरमा पनि कतिपय शारीरिक समस्या देखापर्न सक्छ । खासगरी महिलाको मासिक श्रावलाई लिएर समस्या हुनसक्छ । उनीहरुमा मासिक श्राव सही समयमा भइरहेको छ/छैन भन्ने जान्का लागि पिसिओडी टेस्ट गराउनुपर्छ । यदि गर्भ रहेमा ब्लड सुगर, थाइराइड, युरिन टेस्ट, थैलिसिमिया, हेमोग्लोबिन र एचआइभी टेस्ट गर्न सकिन्छ ।
४० देखि ५० बर्ष उमेरमा
यो उमेरमा विभिन्न किसिमको समस्या देखापर्न सक्छ । जस्तो कि, उच्च रक्तचाप, मधुमेह, थाइराड, कोलोस्टोर । त्यसैले नियमित रुपमा स्वास्थ्य परीक्षण गराउनुपर्छ । मोटोपन नियन्त्रण गर्ने, खानपान नियन्त्रण गर्नुपर्छ ।
५० बर्षभन्दा बढी उमेरमा
५० बर्ष पार गरेपछि केहि दीर्घ रोगले सताउन सक्छ । मधुमेह, उच्च रक्तचाप, कोलोस्टोर, दम जस्ता समस्याहरु देखापर्न सक्छ । त्यसैले नियमित रुपमा यस्ता रोगहरुको परीक्षण गराउनुपर्छ । ५० बर्षपछि शारीरिक शिथिलता पनि बढ्ने भएकाले प्राणायाम, योगलाई बढी महत्व दिनुपर्छ ।