विवाहमा नाडी जुराउनु किन महत्वपूर्ण छ ?

    वैदिक ज्योतिषको मेलापक प्रकरणमा गणदोष, भकूटदोष र नाडीदोष – यी तीनवटा तत्त्वलाई सर्वाधिक महत्व दिइएको हुन्छ। यसलाई जम्मा मेलापक चक्रको ३६ गुणमध्ये (गणका निमित्त ६ अङ्क, भकूटका निमित्त ७ अङ्क र नाडीका नैमित्त ८ अङ्क तोकिएकाले पनि सहजै अनुमान गर्न सकिन्छ। गण, भकूट र नाडीको ६, ७ र ८ अङ्कको योग २१ हुन्छ जबकी गुणमिलानका अष्टकूट मध्ये बाँकी पाँचवटा कूट वर्ण, वश्य, तारा, योनी र ग्रहमैत्री सबैको अङ्क १५ मात्र हुन्छ। नाडी एउटैको मात्र ८ अङ्क तोकिएको छ, त्यसैले दुईजनाको आपसी सम्बन्धमा नाडीको अहम् भूमिका रहेको सिद्ध हुन्छ।

    दुई जना दम्पतिको गुणमिलान गर्दा आवश्यक १८ भन्दा बढी अङ्क प्राप्त भैकन पनि यदि नाडी दोष कायम नै हुन्छ भने पनि कुलीनहरू वैवाहिक सम्बन्ध कायम गर्न मान्दैनन्, किनभने नाडीबाट नै दुईजनाको यौन सन्तुष्टि छछैन निर्क्यौल गर्ने गरिन्छ। विवाह जैविक आवश्यकता परिपूर्तिको स्थायी बन्धन पनि हो। यौनसम्बन्धको असहजताबाट जत्तिबेला पनि दाम्पत्यसम्बन्ध टुट्ने सम्भावना पनि हुन्छ। त्यसैले नाडीलाई मानसिक र मनोवैज्ञानिक विवेचना गर्ने सूत्र हो भन्दा हुन्छ। उता नाडी दोषका कारणले सन्ततिलाभमा समस्या आउने, भएका सन्ततिमा सुस्तमनस्थिति वा अपाङ्गता देखिने सम्भावना पनि हुन्छ। त्यसैले नाडी दोष रहेका दम्पतिका बीचमा यौनसम्बन्धको सामञ्जस्य नरहँदा व्यभिचारको सम्भावना पनि देखिन सक्छ।

    नाडी दोषको दुष्परिणाम
    ज्योतिषशास्त्रमा दुबै दम्पतिको आद्य नाडी हुँदा केटाको मृत्यु हुने, दुबैको मध्यनाडी हुँदा केटीको मृत्यु हुने र दुबैमा अन्त्य नाडी हुँदा दुबैको मृत्यु हुने बताइएको भेटिन्छ।त्यसैले नाडी दोषलाई त्याग्न ज्योतिषग्रन्थले निर्देशन दिएको पाइन्छ। आद्यनाडी वरं हन्ति, मध्यनाडी तु कन्यका ।
    अन्त्यनाडी द्वयोर्मृत्यु नाडीदोषं त्यजेद्बुधः॥

    यस भनाइको तात्पर्यलाई केलाउँदा वर्तमान परिवेशमा नाडीदोषका निम्न दुस्परिणाम प्राप्त भएको देखिन्छ –

    क) आद्य नाडीलाई वात प्रकृतिको प्रतीकका रूपमा लिइन्छ। केटाको स्वास्थ्यमा यस नाडीको कुप्रभाव पर्ने गर्दछ। उसकी स्त्रीमा व्यभिचारको सम्भावना हुन्छ। पुत्र सन्तानको अभाव हुन्छ।

    ख) मध्य नाडीलाई पित्त प्रकृति मानिन्छ। वर र बधू दुबैमा मध्य नाडी हुँदा ती दुईमा परस्परमा अहम् भावना विकसित हुन्छ र राम्रो सम्बन्ध हुन सक्दैन। तिनमा आकर्षण हुने होइन विकर्षणको सम्भावना बन्छ। केटाले यौन व्यभिचार गर्न सक्छ। दुई दम्पतीको एक आपसमा लडाइ र झगडा भएर छोडपत्र समेत हुन्छ। जसैतसै असन्तुष्टिका बीचमा सामञ्जस्य गरी सँगै बस्दा पनि सन्ततिसुखको अभाव हुन्छ। गर्भपतनको समस्या पनि देखिन्छ।

    ग) अन्त्य नाडीलाई कफ स्वभावको प्रतीक मानिन्छ। यो सर्वाधिक घातक नाडी दोष हो। यस्ता दम्पत्तिमा कफ प्रधान पदार्थहरुको सेवन र चिसो वातावरण हानिकारक हुने गर्दछ। दुई दम्पत्तिको स्वास्थ्यस्थितिमा किसिमकिसिमका समस्या आउँछन्। ती निस्सन्तान हुने सम्भावना प्रबल हुन्छ। यौन व्यभिचारको सम्भावना हुन्छ।

    सङ्क्षेपमा पति र पत्नीको एउटै नाडी हुने स्थितिमा वैवाहिक सम्बन्ध गाँस्नु हुँदैन। जन्मनक्षत्र थाहा हुँदा ककसको कुनकुन नाडी हुने रहेछ थाहा पाउन सकिन्छ-

    १- आदि नाडी – अश्विनी, आर्द्रा पुनर्वसु, उत्तराफाल्गुनी, हस्ता, ज्येष्ठा, मूल, शतभिषा र पुर्वाभाद्रपद नक्षत्रमा जन्म लिने जातकको आद्य नाडी हुन्छ।

    २- मध्य नाडी – भरणी, मृगशिरा, पुष्य, पुर्वाफाल्गुनी, चित्रा, अनुराधा, पुर्वाषाढा, धनिष्ठा र उत्तराभाद्रपद नक्षत्रमा जन्म लिने जातकको मध्य नाडी हुन्छ।

    ३- अन्त्य नाडी – कृतिका, रोहिणी, अश्लेशा, मघा, स्वाति, विशाखा, उत्तराषाढा, श्रवण र रेवती नक्षत्रमा जन्म लिने जातकको अन्त्य नाडी हुन्छ।

    नाडी दोष नहुने अवस्था –

    १) ‘रोहिण्यार्द्रामृगेन्द्राग्निपुष्यश्रवणपौष्णभम्। अहिर्बुध्नर्क्षमेतेषां नाडीदोषो न विद्यते॥’ (कालीदासको मतमा केटा वा केटीको रोहिणी, मृगशीरा, कृतिका, पुष्य(तिष्य), श्रवण, विशाखा र मघा नक्षत्रमा जन्म भएको छ भने नाडी दोष लाग्दैन।)

    २) केटा र केटी दुबै माङ्गलिक योगका छन् भने तिनलाई नाडी दोष लाग्दैन।

    ३) केटा र केटी दुबैको कुण्डलीमा राहु वा केतु मध्ये कुनै ग्रह लग्नमा छ भने पनि नाडी दोष लाग्दैन।

    ४) केटा र केटी दुबै आंशिक वा पूर्ण कालसर्प योग रहेको अवस्थामा जन्मिएका छन् भने पनि तिनले नाडी दोष बार्नु पर्दैन। त्यस्तै केटा र केटी मध्ये एकजनाको पूर्ण वा आंशिक कालसर्प योग छ र अर्को एकजनाको जन्मनक्षत्र भरिणी(कालको नक्षत्र), रोहिणी/मृगशिरा (सर्प योनी हुने नक्षत्र), अश्लेषा(सर्पवाचक नक्षत्र), मूल र ज्येष्ठा नक्षत्र वा सर्प वर्ग (‘त’, ‘थ’, ‘द’,’ध’,’न’बाट नाम हुने) छ भने त्यसबाट हुने सम्बन्धमा नाडी दोष निष्क्रिय हुन्छ।

    ५) एउटै राशी वा नक्षत्र भएका केटा र केटीको विवाह गर्दा नाडी दोष लाग्दैन तर दुबैको नक्षत्रबाट आउने नाम एउटै नक्षत्रको एउटै चरणमा पर्नु हुँदैन।

    ६) माथि नाडी लाग्दा लाग्दै विवाह गर्न सकिने केही आधारहरूको विश्लेषण गरिए तापनि आद्य नाडी हुने अश्विनी र ज्येष्ठा नक्षत्र, हस्ता र शतभिषा नक्षत्र, उत्तरफाल्गुनी र पूर्वभाद्रपद नक्षत्रका बीचमा जेजस्तो परिहार देखिए पनि विवाह नगर्नु नै उचित हुने मानिन्छ। त्यस्तै मध्य नाडी हुने भरणी र अनुराधा, पूर्वाफाल्गुनी र उतराफाल्गुनी, पुष्य र पूर्वाषाढा, मृगशिरा र चित्रा, चित्रा र धनिष्ठा, मृगशिरा र धनिष्ठा नक्षत्रका माझमा पनि दम्पत्य सम्बन्ध कायम गर्नु हुँदैन। अन्त्य नाडी हुने कृतिका र विशाखा, रोहिणी र स्वाति, मघा र रेवती नक्षत्रका जोडीको समेत दाम्पत्य सम्बन्ध कुनै हालतमा पनि गराउनु बेस हुँदैन। यस्तो सम्बन्ध गाँसिन पुगेमा दुई जना मध्ये एकजनाले दीर्घरोगी भई जीवन गुजार्ने सम्भावना हुन्छ।

    नाडी दोषबाट मुक्त हुने केही उपायहरू-

    विवाह पहिले नै विधिवत् ज्योतिषीको सल्लाह प्राप्त गरेर प्राप्तसुझावका आधारमा दाम्पत्यजीवन सुरु गर्दा हुनसक्ने दोषबाट जोगिन सकिन्छ तर जसले कुण्डली मिलान नगरी विवाह गरेका छन् र नाडीदोष परेको छ, तिनीहरूको जीवनमा देखिएका विकृतिलाई शमन गरी बाँकी जीवनलाई सहज तुल्याउन पनि सकिन्छ। पछि उपाय गर्नुभन्दा विवाह गर्नु पहिले नै भरिशक्य गणितीय विश्लेषण गरी गरिएको दाम्पत्य सम्बन्धमात्र पूर्णरूपेण आनन्ददायक र सफल हुन्छ, पछि गरिने उपाय वा उपासनाले दुई जनाको समझदारी, वैचारिक सामञ्जस्य र विवेकसम्मत तालमेल भएमा मात्र माथि वर्णन गरिएका विकृति आउनबाट जोगिन सकिन्छ।

    १- वर र कन्या दुबैको एउटै नाडी छ भने नारीपुरुषको स्वास्थ्यमा प्रतिकूल असर पर्छ र प्राणान्तको सम्भावना पनि हुन्छ, त्यसैले यस्ता दम्पतिले भक्तिपूर्वक प्रत्येक वर्ष रुद्राभिषेकसहित १०८ आवृत्ति महाकाल शनिमृत्युञ्जय स्तोत्र आफैंले वा नैष्ठिक ब्राह्मणद्वारा पाठ गर्नु/गराउनु पर्दछ। दुबैको आद्यनाडी हुँदा पुरुषले, मध्यनाडी हुँदा स्त्रीले र अन्त्य नाडी हुँदा दुबैले महामृत्युञ्जय मन्त्र नैष्ठिक ब्राह्मणका मुखबाट श्रवण गरी प्रत्येक दिन १०८ पटक जाप गर्नुपर्दछ।

    २- वर र कन्या दुबैको एउटै नाडी छ भने सङ्कल्प गरी प्रत्येक तीनतीन वर्षमा विद्वान् र नैष्ठिक ब्राह्मणलाई गोदान, स्वर्णदान वा भूमिदान गर्नु पर्छ ।

    ३- प्रत्येक वर्ष आफ्नो वैवाहिक मिति(anniversory)मा आफ्नो तौलबराबरको अन्न दान गरी ब्राह्मण भोजन गराउनु पर्छ।

    ४- नाडी दोषको प्रभावलाई कम गर्न आहार, विहार र आचरणमा विशेष ध्यान दिनुपर्छ। सात्विक आहार र परोपकारी भावना एवं सदाचारी हुनु अनिवार्य छ।

    ५- वर वा कन्याको कुण्डली जाँचेर मारकेश ग्रहको महादशा र अन्तर्दशाको अवधिमा उक्त ग्रहको विशेष स्वस्तिशान्ति गर्नु आवश्यक छ।

    ‘नाडी दोषस्तु विप्राणां वर्णदोषस्तु भुभृताम्। गणदोषस्तु वैश्यानां शुद्राणां योनीदूषणम्॥’

    भन्ने प्रमाणका आधारमा ब्राह्मण वर्णका मानिसले नाडी दोषलाई, क्षत्रीय वर्णका व्यक्तिले वर्णदोषलाई, वैश्य समुदायका मानिसले गणदोषलाई र शुद्र जातिका व्यक्तिले योनीदोषलाई निवारण गर्नु पर्ने एउटा धारणा ज्योतिषीय परम्परामा पाइन्छ तर खास गरी कर्कट, बृश्चिक र मीन राशीमा जन्म लिने जातकको ब्राह्मण वर्ण हुने भएकाले ती राशीका जातकले पनि नाडीदोषलाई, मेष, सिंह र धनु राशीका जातकको क्षत्रीय वर्ण हुने भएकाले तिनले वर्णदोषलाई, बृष, कन्या र मकर राशीका व्यक्तिको नैसर्गिक वैश्य वर्न हुने भएकाले तिनले गणदोषलाई र मिथुन, तुला र कुम्भ राशीका व्यक्तिको नैसर्गिक रूपमा शुद्र वर्ण हुने भएकाले तिनले योनीदोषलाई अति नै महत्त्व दिई प्राथमिकतापूर्वक निवारण गरी गरिएको विवाहबाट सफल दाम्पत्य जीवनको आकाङ्क्षा गर्न सकिन्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *