गर्मी याममा रोग सङ्क्रमणको जोखिम र कसरी जोगिने ?

गर्मी याममा रोग सङ्क्रमणको जोखिम र कसरी जोगिने ?

गर्मीयाम सुरु भएसँगै मानव स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखिन्छन् । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमसविद् शान्ति कँडेलका अनुसार पछिल्लो समय देशभर तापक्रम बढेको छ । ‘आइतबारकै कुरा गर्ने हो भने काठमाडौँको अधिकतम तापक्रम २७ डिग्री सेल्सियस पुगेको छ,’ उनले भनिन्, ‘देशभर तापक्रम बढ्दै गएको छ ।’

चिकित्सकहरूका अनुसार गर्मी बढेसँगै विभिन्न रोग सङ्क्रमणको जोखिम पनि बढ्छ । खानेकुरा तथा पानीमा जीवाणुहरू मिसिइ प्रदूषित भएमा झाडापखाला, हैजा, हेपाटाइटिस (जन्डिस), डेंगु लगायतका रोग फैलिन सक्ने सङ्क्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुनले बताए ।

‘गर्मी महिना बढ्दै जाँदा झाडापखाला, टाइफाइट, खाने पानीबाट सर्ने रोग, भाइरल हेपाइटिस ए र ई जस्ता समस्या तत्काल देखिनसक्ने सम्भावना हुन्छ,’ उनले भने, ‘यो समयमा बाहिरी खाना खाँदा रोगको जोखिम बढी हुन्छ ।’ गर्मी याममा लाग्ने रोग खाना र पानीसँग सम्बन्धित हुने जनरल फिजिसियन डा. भुपेन्द्र कुमार बस्नेतको भनाइ छ । ‘गर्मी सिजनमा मान्छेलाई प्यास बढी लाग्छ, पानी खाँदा दूषित पानी प¥यो भने रोगको सम्भावना बढी हुन्छ,’ उनले भने, ‘अर्को खाना हो, जाडोभन्दा गर्मी सिजनमा खानामा ब्याक्टेरियाको सक्रियता बढ्छ ।’

चिकित्सकका अनुसार यो मौसममा दूषित खाना तथा पानीजन्य टाइफाइड ज्वरो, आउँ, झाडापखाला, हैजा, हेपाटाइटिस आदि रोगका जीवाणु बढी सक्रिय हुन्छन् । साथै लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, मलेरिया, जापानिज इन्सोफलाइटिस, किट तथा भुसुनाको टोकाइबाट सर्ने रोग स्क्रवटाइफस, कालाजार पनि यही मौसममा सक्रिय हुने डा. बस्नेतले बताए ।

कसरी जोगिने ?

गर्मी याममा खानेकुरा चाँडै सड्ने हुन्छ । झिङ्गा, साङ्ला, लामखुट्टे लगायत किरा बढी सक्रिय हुन्छन् । यी किराका कारण स्वस्थ्यमा विभिन्न सङ्क्रमणको जोखिम हुन्छ । गर्मी बढेसँगै अस्पतालमा विभिन्न किसिमका बिरामी आउन थालेको डा.पुनले बताए । हालको मौसममा ब्याक्टेरिया बढी सक्रिय हुने उनको भनाइ छ । ‘शुद्ध पानी र ताजा खानामा बढी ध्यान दिनुपर्छ,’ उनले भने, ‘हात धुने, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।’

पुनले गर्मी समयमा विभिन्न सरुवाजन्य रोगले प्रकोपको रूप लिन सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने सुझाए । डा. बस्नेत खानपानमा ध्यान दिन सुझाउँछन् । ‘बासी खान बेच्न भएन, त्यस्तो पाइएमा कारबाही गर्नु प¥यो,’ उनले भने, ‘जारको पानीमा अनुगमन गर्नु प¥यो ।’

गर्मीमा देखिने स्वास्थ्य समस्या र बच्ने उपाय

(क) झाडापखाला : डा. पुनका अनुसार दूषित पानी तथा खानाले झाडापखाला लाग्छ । दूषित खाना तथा पानीमा कोलिफर्म तथा इकोलाई भिब्रियो कलेरा, कलेरा लगायत सङ्क्रमण गराउने जीवाणु हुन्छ । खाना तथा पानीको प्रयोग गर्ने क्रममा यो पेटभित्र प्रवेश गर्छ र झाडापखाला लाग्छ ।

लक्षण

–पातलो दिसा बारबार हुनु,

–दिसामा सिँगानजस्तो चिप्लो पदार्थ तथा रगत आउनु,

–शरीर शिथिल हुनु,

–आँखा गाडिने, मुख सुक्ने,

–बढी मात्रामा तिर्खा लाग्ने,

–कमजोर एवं बेहोस हुने,

(ख) हैजा : हैजा भिब्रियो कोलेरा नामक ब्याक्टेरियाको सङ्क्रमणबाट लाग्ने डा. पुनले उल्लेख गरे । यो ब्याक्टेरिया पेटमा प्रवेश गरेपछि सानो आन्द्रामा पुगेर आफ्नो सङ्ख्या बढाउँछ । यसले कुनै निश्चित भागमा नभइ व्यापक रूपमा सम्पूर्ण भागमा असर पु¥याउँछ । गर्मी याममा ब्याक्टेरिया, भाइरस फैलिन सजिलो हुने भएकाले यो रोग गर्मी मौसममा बढी लाग्ने उनले सुनाए ।

लक्षण

–दिसा पातलो र चौलानी पानीजस्तो हुनु,

–दिनमा ३०–४० पटकभन्दा बढी झाडापाखला हुनु,

–बान्ता हुनु,

–पेट नदुख्नु,

–शिथिल एवं बेहोस हुनु

झाडापखाला र हैजाको उपचार

–दूषित खाना तथा पानी नखाने,

–पानी उमालेर या शुद्ध गरेर मात्र खाने,

–खाना खानुअघि अनिवार्य हात धुने,

–शौचालय या सार्वजनिक स्थलबाट आएपछि अनिवार्य हात धुने,

–बाहिर खानै परे भरपर्दो ठाउँमा मात्र खाने,

–सडेगलेको तथा बासी खाने कुरा नखाने,

–व्यक्तिगत सफाइमा ध्यान दिने,

(ग) हेपाटाइटिस (जन्डिस) : दूषित पानीमा बस्ने हेपाटाइटिस ‘ए’ र ‘ई’ भाइरस कुनै पनि माध्यमबाट मानिसको पेटमा प्रवेश गर्ने डा. बस्नेतले सुनाए । पानीमा पाइने हेपाटाइटिस ए र ई भने गर्मीमा बढी सक्रिय हुने रोग हो । उनका अनुसार गर्मी तथा मनसुनमा पानीको स्रोत दूषित हुने र सफाइमा कमी भए यो भाइरस मानिसको पेटमा प्रवेश गरी स्वस्थ्यमा असर हुन्छ ।

लक्षणहरू

–आँखा पहेँलो हुने,

–शरीर पहेँलो हुने,

–पेट दुख्ने,

–खान मन नलाग्ने,

–वाक–वाक लाग्ने,

कसरी बच्ने ?

–सफा पानी पिउने,

–सफा खाना खाने,

–व्यक्तिगत सफाइमा ध्यान दिने ।

(घ) डेंगु सङ्क्रमण : डेंगु गर्मी मौसममै बढी देखिने सङ्क्रामक रोग हो । ‘एडिस एजिप्टाई’ नामक प्रजातिको लामखुट्टेले टोक्दा डेंगु सर्ने इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गोकर्ण दाहालले बताए । जमेको पुरानो तथा सफा पानी, एसी, गमलाको पानी, गाडीको टायर, खुला भाँडालगायत ठाउँमा यो लामखुट्टे फैलिने गर्छ ।

सङ्क्रमित लामखुट्टेले टोकेको ५ देखि १० दिनभित्र बिरामीमा लक्षण देखिन्छ । यो जातको लामखुट्टे बिहान र दिउँसो बढी सक्रिय हुने डा. दाहालले उल्लेख गरे ।

लक्षणहरू

–शरीर धेरै दुख्ने,

–कडा ज्वरो आउने,

–कसैलाई ज्वरो नआउने,

–शरीरमा रातो र नीलो धब्बा देखिने,

–बान्ता हुने,

–आन्तरिक रक्तश्राव हुने,

–शरीरमा पानीको मात्रा कम हुने,

कसरी बच्ने ?

–शरीर छोप्ने गरी लुगा लगाउने,

–लामखुट्टेलाई असर गर्ने मलम शरीरमा दल्ने,

–सफा पानी जम्ने भाँडा खुला नराख्ने ।

–बेलैमा लामखुट्टेको लार्भा नष्ट गर्ने ।

गर्मी याममा स्वस्थ्यमा केही जटिल समस्या देखिएमा स्वास्थ्य संस्थामा स्वस्थ्य परीक्षण गराउन चिकित्सकको सुझाव छ ।