के तपाईंहरू चाउ-चाउ खानु हुन्छ ? ख्याल गर्नुस्

    के तपाईंहरू चाउ-चाउ खानु हुन्छ ? ख्याल गर्नुस्

    धेरैजसो बालबालिकालाई उनीहरुका अभिभावकले जङ्कफुड अर्थात पत्रु खानेकुरा दिने प्रचलन पछिल्लो समय निकै फस्टाएको छ । छोराछोरी रोए भने या भनेको मानेनन् भने फकाउनका लागि पत्रु खाना दिने चलन अहिले गाउँदेखि शहरसम्मको समस्या हो ।

    चाउचाउ, बिस्कुट, चकलेट दिएर छोराछोरी फकाउने बुवाआमालाई थाहा छ कि छैन ? दिइएको खानेकुरा कति अस्वस्थ्यकर र अखाद्य छन् भन्ने ।

    पछिल्लो समय प्याकेटिङ खानेकुरा अत्याधिक रुपमा खाइने र खुवाइने गरिन्छ । प्याकेटिङ खाना स्वस्थ्यकर छैन भन्ने थाहा हुँदाहुँदै पनि धेरैले आफ्नो तथा छाराछोरीको स्वास्थ्य प्रति खेलबाड गरको जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती बताउँछिन् ।

    डा. उप्रेतीका अनुसार जन्मदिनमा काटिने केकमा पनि गुलियोको मात्रा बढी हुँदा स्वास्थ्यका दृष्टिले खराब हो । मानव स्वास्थ्यका लागि चिनी एकदमै ठूलो शत्रु हो । चिनीले स्वास्थ्यमा ठूलो समस्या पारेको छ । चिनीले मधुमेह जस्ता दीर्घकालीन समस्या निमत्याउने गर्छ। प्याकेटिङ खानाले बच्चाको मानसिक, शारीरिक, संवेगात्मक विकासमा रोक लागउनका साथै विभिन्न रोग पनि लगाउँछ ।

    बच्चालाई मात्रै नभएर कसैलाई पनि जङ्कफुड खाना स्वास्थ्यका दृष्टिले राम्रो मानिँदैन । प्याकेटिङ खाना जस्तै चाउचाउ, बिस्कुट, चकलेट, बजारमा पाइने चिसो पेय पदार्थले मानव शरीरमा नकारात्मक असर गर्छ ।

    डा. उप्रेतीका अनुसार चाउचाउमा हुने मैदा मानव स्वास्थ्यका लागि मन्दविष हो । जसले सुस्तसुस्त रुपमा शरीरलाई कमजोर बनाउँछ । त्यस्तै चाउचाउमा हुने तेल र मसलामा पनि हानिकारक हुन्छन् । यसमा अजिनामोटो हुन्छ जसले गर्दा हाडजोर्नी कमजोर हुनुको साथै कहिँकतै हलुकासँग लडे पनि छिट्टै भाँचिने संभावना रहन्छ ।

    जङ्कफुडले विषेशगरी मस्तिष्क, मुटु, मिर्गौला खराब गर्नुको साथै शरीरका अन्य भागलाई पनि सुस्तसुस्त खराब गराउँछ र मुटु, मिर्गौलाका रोगले ग्रस्त बनाउँछ ।

    तारेका वा भुटेर खाइने खानेकुरा मासु या अन्य खानेकुरा जस्तै सेलरोटी जस्ता बढी चिल्लोमा पकाइने खानेकुरा पनि स्वास्थ्यकर हुँदैनन् किनकी एकपटक पकाइसकेको तेलमा दोस्रोपटक बनाउनु विष हुन्छ । बरम्बार तेलको प्रयोगले क्यान्सर उत्पन्न गराउँछ ।

    पछिल्लो समय बच्चाबच्चीमा कब्जियत र पाइल्सको समस्या देखिएको छ । कारण हो जङ्कफुड । स्कुल जाँदा खाजामा त्यहि प्याकेटिङ खाना र घरमा पनि त्यस्तै खानाका कारण पेट दुख्ने, हात खुट्टा कमजोर हुँदै जाने जस्ता समस्या बच्चामा देखिने गरेको छ ।

    घरको बारीमा फलाउन सकिने सस्तो ,सजिलो र स्वास्थ्यका दृष्टिले पनि रेसादार तरकारी, दाल गेडागुडी खान छोडेर जङ्कफुड खाने र खुवाउने चलनले अस्वस्थ्यकर जीवनशैली र रोग निम्त्याउँछ।