नेपाली समाजमा मंसिर महिनालाई विवाह लग्नको महिनाको रुपमा लिइन्छ । यो उमेर पुगेका युवायुवतीबीच मायाको लगनगाँठो कस्ने महिनामध्येको एक हो ।
विवाह व्यक्तिको स्वभाव र रुचि, संस्कृतिमा मात्र नभइ कुण्डली अनुसारको ग्रहदशामा पनि निर्भर रहन्छ भन्ने शास्त्रीय मान्यता छ ।
ज्योतिषशास्त्रको मान्यताअनुसार ग्रह नै व्यक्तिको जीवनमा कारक बन्दछ । जसमा व्यक्तिको कुण्डली अनुसार एक भन्दा बढी विवाहको योग बन्न पुग्दछ ।
यो योग महिला तथा पुरुष दुवैका लागि बनेको हुन्छ । पहिले विवाह भइसकेको पुरुष वा महिलाको पत्नि वा पतिको निधनपछि हुने विवाह पनि यही कुण्डली र ग्रहदशा अनुसार नै हुने गर्दछ । यसलाई कुण्डलीमा रहेको ग्रहदशाको परिणामका रूपमा विश्वास गरिन्छ ।
कस्तो कुण्डली भएका व्यक्तिको बहुविवाह हुने योग हुन्छ ?
ज्योतिष शास्त्रको मान्यताअनुसार जुन व्यक्तिको कुण्डलीमा चन्द्र अथवा शुक्र एकै भावमा रहन्छन् र उसको अवस्था बलियो हुन्छ भने त्यस्ता व्यक्तिको एकभन्दा बढी विवाह हुनसक्छ ।
यसका साथै कुण्डलीको लग्नेश उच्च वा स्वराशिगत केन्द्र भावमा विराजमान हुन्छ भने यस्ता व्यक्तिको एक भन्दा बढी पति वा पत्नी हुन सक्छन् ।
कुण्डलीमा सप्तमेश भावमा शनि विराजमान हुन्छ र त्यो कुनै पाप गृहबाट प्रभावित हुन्छ भने पनि यस किसिमका व्यक्तिको बहुविवाह हुने योग हुन्छ ।
कसैको कुण्डलीको लग्न एक उच्च गृह राशिमा हुन्छ भने बहुविवाह हुने सम्भावना रहन्छ ।