गर्भावस्था र प्रसूति आफैंमा प्राकृतिक अवस्था भएपनि कहिलेकाहीं यसमा जटिलता आउन सक्छ । गर्भावस्थाको जटिलतालाई बुझाउन शरीरले केही लक्षण वा संकेत दिन्छ ।
तल्लो पेट दुख्ने
गर्भावस्थामा पेट हल्का दुख्नु सामान्य हो । तर कडा तवरले पेट दुख्ने वा तल्लो पेट दुख्ने र छोड्ने भइरहेमा अवस्था गम्भीर भनेर बुझ्नुपर्छ । प्रसवको समयभन्दा धेरै समय अघि यस्ता समस्या भएमा ‘प्रिम्याच्योर्ड लेबर’को लक्षण बुझ्नुपर्छ ।
यस्तो पेट दुखाइ गर्भपात, समय (९ महिना) अगावै शिशुको जन्म वा अन्य कुनै गम्भीर अवस्थाको लक्षण पनि हुनसक्छ ।
अत्याधिक रक्तस्राव
कतिपय महिलाले गर्भावस्थाको सुरुका दिनमा हल्का रगत बग्ने गुनासो गर्छन्, जुन सामान्य हो । रगत बग्ने समस्या एक दिनभन्दा बढी समयसम्म रह्यो वा धेरै रगत बग्नुका साथै पेट दुख्ने समस्या भएमा सल्लाह परामर्शको लागि तुरुन्तै चिकित्सककहाँ जानुपर्छ ।
गर्भावस्थाको अन्तिम महिनातिर अत्याधिक रक्तश्राव हुन्छ भने यसलाई हल्का रूपमा लिनु हुँदैन । अत्याधिक रक्तस्राव हुनुको मतलब साल गलत ठाउँमा बसेको वा प्रसवपूर्व साल छुट्टिएको हुनसक्छ । यो आमा र बच्चा दुवैका लागि जोखिमपूर्ण हुन्छ ।
योनीस्राव
गर्भावस्थाको समयमा योनीस्राव हुनु पनि सामान्य हो । तर पातलो तरल पदार्थ बग्ने क्रम जारी रह्यो भने जोखिमपूर्ण हुनसक्छ । यो पानी फुटेको संकेत हुनसक्छ ।
गर्भमा रहेको बच्चाको वरिपरिको एम्निओटिक फ्लुड (तरल पदार्थ)ले बच्चालाई सुरक्षा प्रदान गर्छ । यस्तो एम्निओटिक फ्लुड रहेको पोकालाई बोलीचालीको भाषामा पानीको थैली भनिन्छ । यो गर्भेशिशुको वृद्धिविकासको लागि धेरै महत्त्वपूर्ण छ । यदि एम्निओटिक थैली समय भन्दा पहिले फुट्यो भने गम्भीर अवस्था आउनसक्छ ।
आँखाको दृष्टि धमिलो हुनु
गर्भावस्थाको अन्तिमतिर महिलामा शरीर कमजोर भई चक्कर आउने र दृष्टि धमिलो हुने हुनसक्छ । तर लगातार ध्यान केन्द्रित गर्न समस्या भइरहेको छ वा आँखाले हेर्दा धमिलो दृष्टि छ भने तुरुन्तै परीक्षण गराउनुपर्छ । विशेषगरी उच्च रक्तचाप भएका गर्भवती महिलामा यस्तो समस्या हुनसक्छ ।
हात–खुट्टा सुन्निने
गर्भावस्थामा हात, खुट्टा वा शरीरका अन्य अंगमा सुन्निने सामान्य कुरा हो । जुन आराम गरेसँगै बस्छ । तर सुन्निएको ठाउँमा दुखाइ भएमा वा रातोपन देखा परेमा चिन्ताको विषय हुन्छ । त्यसैले यो समयमा आफ्नो शरीरको हेरविचार गर्नु अति जरुरी छ ।
यदि हात वा खुट्टामा सुन्निएको छ र दुख्छ भने तुरुन्तै चिकित्सकलाई जाँच गराउनुपर्छ ।
बच्चा नचल्नु
गर्भावस्थाको चार महिनापछि बच्चा यताउति चलिरहनु भनेको बच्चा ठीक रहेको संकेत हो । तीन महिनापछि गर्भको भ्रूण शिशुमा विकास हुन थाल्छ । र, पेटमा महिलाले लात हानेको महसुस गर्छिन् ।
तर परिपक्व सक्रिय बच्चाले अचानक केही घण्टा वा दिनभर कुनै हलचल नै गर्दैन भने यो गम्भीर समस्याको संकेत हो ।
बिहानको खाना, दिउँसोको खाजा र रातिको खाना खाएको एक घण्टा देब्रेतर्फ कोल्टिएर सुत्दा तीन-तीनपटक चल्नुपर्छ, दिनभरिमा कम्तीमा १० पटक चल्नुपर्छ । यसरी यी अवधिमा बच्चा चल्दैन भने तुरुन्तै परामर्श लिनुपर्छ ।
एकदिन भन्दा बढी ज्वरो आउनु
गर्भावस्थामा सामान्य रुघाखोकी लाग्नु ठीकै हो । किनकि गर्भावस्थाको बेला प्रतिरोधात्मक क्षमता कम हुने भएकाले महिलामा रुघाखोकीको मौसममा फ्लु छिट्टै सर्न सक्छ । तर पनि यस्तो बेलाको ज्वरो, खोकीलाई हल्का रूपमा लिनु हुँदैन । १०० डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आएमा तुरुन्त अस्पताल जँचाउन जानुपर्छ ।
गर्भावस्थामा चिकित्सकको सल्लाह बिना कुनैपनि औषधि सेवन गर्नुहुँदैन ।
छाला चिलाउनु
धेरैजसो महिला गर्भवतीको समयमा छाला चिलाउने समस्या लिएर आउँछन् । शरीर सुक्खा हुने कारण गर्भावस्थामा यो समस्या देखिन्छ । तर अत्याधिक चिलाइरहने समस्या भएमा कलेजोमा समस्या भएको हुनसक्छ ।
अत्याधिक टाउको दुखाइ
शरीरमा हुने परिवर्तन र हार्मोनजन्य परिवर्तनका कारण गर्भावस्थामा टाउको दुख्नु सामान्य कुरा हो । धेरै महिलालाई गर्भावस्थाभर टाउको दुख्ने समस्या रहन सक्छ । तर यदि औषधि खाएर, आराम गरेर र पानी पिएर पनि टाउको दुख्ने समस्या निको हुन सकेको छैन भने यो लक्षणलाई बेवास्ता गर्नु हुँदैन । चिकित्सकसँग सल्लाह लिनु उपयुक्त हुन्छ । अत्याधिक टाउको दुख्नु प्रि-इक्लेम्पसियाको संकेत हुनसक्छ ।
हार्मोनको गडबडी, मोटोपन, उच्च रक्तचाप, मधुमेहका कारण प्रि-इक्लेम्पसियाको समस्या गर्भावस्थाको २० हप्तापछि देखिन्छ । जसकारण रक्तचाप अचानक बढ्ने, हातखुट्टा सुन्निने, अत्याधिक टाउको दुख्ने, छाती पोल्ने, बान्ता हुने र पिसाब कम हुन थाल्ने हुन्छ । यी गर्भावस्थाका गम्भीर लक्षण हुन् । जसको समयमै उपचार नभए आमा र बच्चाको ज्यान जोखिममा पर्न सक्छ ।
गर्भावस्था उच्च जोखिममा पार्ने कारक तत्व
-गर्भावस्था आउने डिप्रेसन
-गर्भावस्था अनियन्त्रित मधुमेह र उच्च रक्तचाप
-असामान्य आकारको गर्भाशय
-सालमा समस्या
-प्रिक्लेम्पसिया रोग
-पाठेघरमा मासु पलाउनु
-गर्भावस्थामा रक्सी तथा धुम्रपान गर्नु
-अनावश्यक औषधि प्रयोग
-पोषणको कमी
-जुम्ल्याहा वा तिम्ल्याहा बच्चा
-वंशाणुगत रोग
-मोटोपन
-१८ वर्षमुनि वा ३५ भन्दा माथि उमेर
-क्यान्सर
जोखिमको रोकथाम
दीर्घकालीन स्वास्थ्य अवस्था र आनुवंशिक रोगलाई पहिले नै रोकथाम गर्न सकिंदैन । तर अन्य बेला जस्तै नियमित हेरचाह, जीवनशैलीमा परिवर्तन र स्वस्थ गर्भावस्थाको लागि योजनामा ध्यान दिंदा गर्भावस्था उच्च जोखिमपूर्ण हुनबाट रोक्न वा कम गर्न सकिन्छ ।
-लागूपदार्थ, धुम्रपान र रक्सीको प्रयोग नगर्ने
-परिवार र व्यक्तिगत स्वास्थ्य नियमित परीक्षण गराउने
-सुरक्षित यौनसम्पर्क गर्ने
-वजन नियन्त्रण गर्ने
-पोषणयुक्त खानेकुरा खाने र नियमित व्यायाम गर्ने
-विद्यमान स्वास्थ्य अवस्था ताजा राख्ने
-२० देखि ३५ वर्षभित्र सन्तान जन्माउने
-वर्षमा एकपटक स्वास्थ्य जाँच गर्ने ।