गर्भावस्थामा अल्ट्रासाउन्डको महत्त्व के छ ?

    गर्भावस्थामा अल्ट्रासाउन्डको महत्त्व के छ ?

    गर्भवती भएपछि महिलाको स्वास्थ्य अवस्थाबारे थाहा पाउन विभिन्न जाँच गरिन्छ । यसबाट आमा र बच्चाको स्वास्थ्य अवस्था र सम्भावित जोखिमबारे आँकलन गर्न सकिन्छ । त्यस्तै गर्भावस्थाको समयमा बच्चाको विकासको सही मूल्यांकन गर्न चिकित्सकहरुले समय-समयमा अल्ट्रासाउन्ड गर्न सिफारिस गर्छन् ।

    गर्भावस्थाको समयमा बच्चाको विकास जाँच गर्न समय–समयमा अल्ट्रासाउन्ड गरिन्छ । यस प्रक्रियामा अल्ट्रासाउन्ड किरणहरू मार्फत, पेटभित्र बढ्दै गरेको बच्चाको विकास र सही स्थिति कस्तो छ भन्ने कुरा पत्ता लगाइन्छ ।

    गर्भमा रहेको शिशुको वृद्धि विकास कस्तो छ ? कुनै स्वास्थ्यसम्बन्धी समस्या छ कि छैन ? लगायतका कुरा अल्ट्रासाउन्डबाट थाहा पाउन सकिन्छ । समयमै अल्ट्रासाउन्ड गर्दा भविष्यमा बच्चामा आउन सक्ने समस्याको बेलैमै पहिचान गरी समाधान गर्न सकिन्छ । त्यसैले गर्भावस्थामा महिलाले कम्तीमा तीनदेखि चार पटक अल्ट्रासाउन्ड गर्नु राम्रो हुन्छ ।

    पहिलो अल्ट्रासाउन्ड

    पहिलो अल्ट्रासाउन्ड गर्भावस्थाको पहिलो त्रैमासिकमा गरिन्छ । यसबाट बच्चा पाठेघरभित्र बसेको छ कि बाहिर बसेको छ भन्ने कुरा थाहा हुन्छ ।

    यस क्रममा पेटमा बढ्दै गरेको बच्चाको मुटुको धड्कनका बारेमा जानकारी लिइन्छ र यससँगै भ्रूणको विकास ठीकसँग भइरहेको छ कि छैन भन्ने पनि थाहा हुन्छ । साथै डेलिभरी हुने मिति पनि थाहा हुन्छ । नाकको हड्डी राम्ररी बनेको छ कि छैन, गर्दनको मोटाइ कति छ भन्ने कुरा हेरिन्छ, जसले बच्चामा डाउन सिन्ड्रोम छ कि भन्ने कुराको पनि संकेत गर्छ । त्यसपछि डाउन सिन्ड्रमको थप जाँच गर्न सकिन्छ ।

    दोस्रो अल्ट्रासाउन्ड

    दोस्रो अल्ट्रासाउन्ड गर्भावस्थाको पाँचौं महिना १८ देखि २२ हप्तामा गर्नुपर्छ । यस अवधिमा बच्चाको छिटो विकास हुन्छ र उसको शरीरका अंगहरु बन्न थाल्छन् । अङ्गहरूको राम्ररी विकास भएको छ कि छैन भन्ने कुरा अल्ट्रासाउन्ड मार्फत पत्ता लाग्छ । यो अल्ट्रासाउन्डमा बच्चाको मुटुको धड्कनसँगै मस्तिष्क र मिर्गौलाको स्थिति पनि हेर्न सकिन्छ । यसमार्फत बच्चामा सम्भावित जन्मदोषहरू पत्ता लगाउन सकिन्छ ।

    तेस्रो अल्ट्रासाउन्ड

    गर्भावस्थाको सातौं महिना, २८ औं हप्ता र ३२ औं हप्ताको बीचमा तेस्रो अल्ट्रासाउन्ड गराउनु राम्रो हुन्छ । यो अल्ट्रासाउन्डमा बच्चाको मुटुको धड्कन, साल ठीक ठाउँमा छ कि छैन, पाठेघरमा पानीको मात्रा ठीक छ कि छैन र बच्चाको बढ्दो तौलको बारेमा जानकारी लिइन्छ । यससँगै बच्चाको विकास र गतिविधि पनि देख्न सकिन्छ ।

    चौथो अल्ट्रासाउन्ड

    चौथो र अन्तिम अल्ट्रासाउन्ड गर्भावस्थाको ३४ देखि ३६ औं हप्ता अर्थात् गर्भावस्थाको अन्तिम अवधिसम्म गरिन्छ । यस अल्ट्रासाउन्डमार्फत बच्चाको स्थिति देख्न सकिन्छ । यो अल्ट्रासाउन्ड धेरै महत्त्वपूर्ण छ र यसमार्फत थाहा हुन्छ कि यो कस्तो प्रकारको डेलिभरी हुनेछ र यसले कति समस्या निम्त्याउन सक्छ ।

    बच्चा उल्टो बसेको छ, बच्चाको तौल बढी छ, पेटको पानी कम भएको छ भने सिजरियन डेलिभरी गर्नुपर्ने हुन्छ । यस्तो कुनै समस्या छैन भने नर्मल डेलिभरी हुन्छ ।