रेबिजविरुद्धको खोप अभाव

    सरकारले निःशुल्करूपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ।

    जंगली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।

    रेबिजविरुद्धको खोप लगाउन आउनेको संख्या बढ्दै गएको भए पनि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा समेत उक्त खोपको अभाव रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताएका छन्।

    जथाभावी रूपमा छोडिएका कुकुर र जंगली जनावर स्याललगायतका जनावरले टोकेका बिरामी रेबिजको ओप लगाउन आउने गरेका भए पनि खोप नभएपछि अन्य जिल्लामा पठाउनुपरेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख जनस्वास्थ्य अधिकृत चन्दले बताएका छन्।

    जिल्लामा रहेका जिल्ला अस्पताल बाजुरा, टाँटे स्वास्थ्य चौकी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त खोप नभएको पाइएको छ। खोप अभावका कारण बिरामीले लगाउनुुपर्ने समय खोप पाउन सकेका छैनन्।

    रेबिजविरुद्धको खोप लगाउन लक्षित वर्ग नहुने र लक्ष्य पनि नहुने भएकाले खोपमा समस्या भएको जनस्वास्थ्य अधिकृत चन्दले भने।

    अन्य खोपको लक्ष्यअनुसार खोप खरिद हुने भए पनि रेबिजको कुनै तार्गेट नहुने भएकाले खरिद गर्दा समस्या हुने गरेको हो। रेबिजको खोप लगाउन कहिले आउने कहिले नआउने भएकाले एक मिलिलिटरको खोप भाइल पाँचजनालाई लगाउनुपर्ने हुँदा एक जना मात्र आएमा चार डोज खोप खेर जाने भएकाले रेबिजविरुद्ध लगाइने खोप अभाव हुने गरेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।

    यस्तै पूर्वी उत्तरी भेगको कोल्टीमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा छिमेकी जिल्लाबाट पनि रेबिजविरुद्धको खोप लगाउन आउन थालेकाले उक्त स्वास्थ्य केन्द्रमा खोप नभएको स्वास्थ्यकर्मीले बताएका छन्।

    कोल्टीमा कर्णाली प्रदेशका हुम्ला, मुगु र कालीकोटलगायतको सेवा केन्द्र बनेको स्वास्थ्य केन्द्र कोल्टीमा रेबिजविरुद्ध लगाइने खोपको अभाव भएको हो। स्वास्थ्य केन्द्र कोल्टीमा एक सातादेखि खोपको अभाव भएको स्वास्थ्यकर्मीले बताएका छन्।

    घरपालुवा जनावरले टोकेर स्वास्थ्य केन्द्रसम्म पुग्ने गरेका सेवाग्राही खोप नपाएर फर्किनुपरेको गुनासो सुनाउने गरेका छन्। वैशाख पहिलो हप्तामात्र घर पालुवा जनावर बिरालोले टोकेर मुगुको खत्याड गाउँपालिका–९ नखर्जीकी देवु शाही स्वास्थ्य केन्द्र पुगे।

    उनले स्वास्थ्य केन्द्र पुग्दा दुई वटा मात्रा खोप लगाए। पहिलो मात्रा खोप वैशाख ७ र दोस्रो मात्रा १० गते लगाएका थिए। बाँकी एक मात्रा लगाउनका लागि शुक्रबार स्वास्थ्य केन्द्र पुग्दा उनले खोप लगाउन नपाएको गुनासो गरेका छन्।

    रेबिजविरुद्धको खोप जनावरले टोकेको सात दिनभित्र लगाइसक्नुपर्ने भए पनि स्वास्थ्य केन्द्रमा अभाव छ।

    स्वास्थ्य कार्यालय बाजुराका प्रमुख जनस्वास्थ्य अधिकृत चन्दका अनुसार रेबिजविरुद्धको खोप खरिदका लागि प्रदेशसँग माग गरेको बताए। खोप खरिदका लागि प्रदेशले पनि केन्द्रमा माग गरेको र वैशाख मसान्तभित्र रेबिजविरुद्धको खोप जिल्लामा आइपुग्ने जनस्वास्थ्य अधिकृत चन्दको भनाइ रहेको छ।

    स्थानीय तहका स्वास्थ्य शाखाले पनि खोप खरिदका लागि आवश्यक बजेटको व्यवस्था नहुँदा खोप खरिद र औषधि खरिदमा समस्या भएको छ ।