मेनुकाको आँखामा राखियो ‘कस्मेटिक प्रोथेस्टिक’, देख्न नसकेपनि चस्मा लगाउनु नपर्ने

    काठमाडौं । गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको छ । केही दिनअघि तिलगंगा अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकार लगायतको समूहले कृत्रिम आँखा राखेको हो । ‘कस्मेटिक प्रोथेस्टिक’ राखिएपनि मेनुकाको दृष्टि चाहिं फिर्ता नआउने अस्पतालका वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले अनलाइनखबरलाई बताए । ‘यो फङ्सनल होइन, चस्मा खोलेर बाहिरबाट हेर्दा उहाँको आँखा अलि राम्रो देखियोस् भनेर कस्मेटिक प्रोथेस्टिक राख्या हो,’ उनले भने । सर्वसाधारणले बुझ्ने भाषामा यो सर्जरीलाई बाहिरबाट हेर्दा खाल्डोलाई पुरेको मात्र भन्न सकिने रुइतको भनाइ छ । ‘उहाँको दृष्टिमा सुधार आउने सम्भावना त छैन । तर कस्मेटिक प्रोथेस्टिक सर्जरी नै हो । चस्मा खोल्दा उहाँलाई सहज हुन्छ,’ उनले भने । उनका अनुसार प्रोथेस्टिक राखेपछि मेनुकालाई अब चस्मा लगाउन जरुरी छैन ।अहिलेसम्म बनेको प्रविधिले मेनुकाको आँखामा दृष्टि फिर्ता ल्याउन नसक्ने डा. रुइतले बताए । ‘अहिलेसम्मको प्रविधिले उहाँमा ज्योति फिर्ता ल्याउँदैन । प्रविधि बलियो भएर आयो भने भविष्यमा आउला,’ उनले भने, ‘उहाँको आँखामा ज्योति आउँदैन भनेर मैले पहिला पनि भनेको हुँ । यो कुरामा अहिले पनि म कायम छु ।’ यसअघि इण्डियन आइडलको सिजन १४ मा पनि मेनुकालाई एआई जडित चस्मा प्रदान गरिएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *