अमेरिकी दूतावास घेर्ने अभियन्ताहरुको चेतावनी यदि सन्दीपलाई भिसा नदिए

    काठमाडौं, १५ जेठ । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछानेलाई टी–ट्वान्टी विश्व कप खेल्न जान नेपालस्थिति अमेरिकी राजदूतावासले भिसा नदिएको भन्दै अभियन्ताहरुले विरोध जनाएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियन्ताहरुले क्रिकेटर लामिछानेलाई भिसा नदिइनु अन्याय भएको बताएका छन् । उनीहरुले लामिछानेलाई भिसा दिलाउन दवाब दिनका लागि भोलि दिउँसो १ बजे काठमाडौंको माइतीघरबाट नेपालस्थित अमेरिकन राजदूतावाससम्म शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरिएको बताए । अभियन्ताहरुले लामिछानेलाई भिसा दिलाउन नेपालस्थित अमेरिकन राजदूतावासमा धर्ना दिने बताए ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अन्तर्राष्ट्रिय जगतले पत्याएको खेलाडी लामिछानेलाई अमेरिकन राजदूतावासले भिसा नदिएकोप्रति आपत्ति जनाए । उनले भिसा नदिएको कारण सन्दीपले अभ्यास खेलहरु छुटाउन परेको बताए । उनले सन्दीपलाई भिसा नदिएको खण्डमा अमेरिकी राजदूतलाई नेपालका परराष्ट्रमन्त्रीले अमेरिका नै फिर्ता पठाइदिनुपर्ने उनको भनाइ छ ।

    ‘अमेरिकाले अहिलेसम्म भिसा दिएको छैन । अमेरिकामा भइरहेका अभ्यास खेलहरु सन्दीपले छुटाउनु भएको छ । भिसा नदिएर नेपाललाई टी–ट्वान्टी क्रिकेटबाट हराउने र नेपालीको बेइज्जत गर्ने काम अहिलेको सरकारले गरेको छ र अमेरिकाले पनि गरेको छ ।’ उनले भने, ‘सन्दीप लामिछानेलाई पाटन उच्च अदालतले निर्दोष ठहर गरिसक्यो । क्यानले उ नेपालको राष्ट्रिय खेलाडी हो, विश्वकप खेल्नुपर्छ भनेर सूचीकृत गरिसक्यो । आईसीसीले पनि ऊ नेपालको अन्तरार्राष्ट्रिय खेलाडी हो । विश्वकप खेल्न पाउनुपर्छ भनेर सूचीकृत गरिसक्यो । तर, अमेरिका भन्छ म भिसा दिन्न । म स्पष्ट के भन्छु भने यदि त्यो अमेरिकाले भन्छ भने नेपाल सरकारको परराष्ट्रमन्त्रीलाई अमेरिकी राजदूतलाई नेपाल नराखेर अमेरिका फिर्ता पठाउने अधिकार छ ।’

    अमेरिकाले वर्डकप आयोजना गरेकाले नेपालको खेलाडी रोक्ने अधिकार नरहेको उनले बताए । काठमाडौं उपत्यकाभित्र रहेका क्रिकेट खेलाडीहरुलाई भोलि दिउँसो १ बजे माइतीघर मण्डलामा आइदिन उनले अपिल गरे ।

    त्यसैगरी, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले नेपालको राष्ट्रिय खेलाडीप्रति अपमान नगर्न अमेरिकी सरकारलाई आग्रह गरे । सन्दीप लामिछानेलाई विश्वकप खेल्न पठाउन सक्ने शक्ति जनतासँग रहेको बताउँदै उनले सबै जनतालाई भोलिको धर्ना कार्यक्रममा सहभागी हुन आग्रह गरे ।

    त्यस्तै, अर्का वक्ता डा.निकोलस भुसालले अमेरिकाले नेपालीको स्वाभिमान र वीरतामाथि प्रहार गरेको बताए । सन्दीपलाई टी–ट्वान्टी विश्व कप खेल्न अमेरिका पठाउन दवाब दिने सन्दर्भमा कुनै पनि राजनीतिक दल, नेता र मन्त्रीहरुले केही नबोलेको उनले बताए । सन्दीपको पक्षमा नबोलेको भन्दै उनले नेताहरुलाई गद्धार र युवाको नाममा कलङ्कको संज्ञा दिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *