महिलाहरू महिनावारी कप प्रयोग गर्न किन हिच्किचाइरहेका छन् ? के यसका असर छन् ?

    महिलामा प्रत्येक महिनाको २६ देखि ३५ दिनभित्रमा महिनावारी पक्रिया हुन्छ । महिनावारीको समयमा विभिन्न सामग्रीहरु जस्तैः प्याड, कपडा, महिनावारी पेन्टी टेम्पोन र महिनावारी कप आदि प्रयोग गर्ने गरिन्छ ।

    कपडा प्रयोग गर्ने प्रचलन शताब्दीऔं देखिकै हो । तर अहिले पछिल्लो समय नयाँ–नयाँ विधिहरु बजारमा आइरहेका छन् । यसैमध्यको एक हो महिनावारी कप ।

    यो एक आधुनिक विधि हो । विशेषगरी पछिल्ला पुस्ता अर्थात् गृहिणी, स्कुल कलेज अध्ययन गर्ने  टिनेजर्सहरुलाई लक्षित गर्दै महिनावारी कप बजारमा भित्रिएको हो । तर पछिल्लो पुस्ताले यसलाई प्रयोग गर्न झन्जटिलो मानिरहेका छन् ।

    कतिपय भने यो कसरी प्रयोग गर्ने भन्ने विधिमै निकै अन्योलपूर्ण छन् । यौनीभित्रै राखेर प्रयोग गर्नुपर्ने भएकाले धेरैको मनमा डर र भय पनि उत्पन्न हुन्छ । यसकारण महिनावारी कप के हो ? यसको प्रयोग विधि, फाइदा र आखिर किन पछिल्ला पुस्ता यसको प्रयोग गर्न हिचकिचाइरहेका छन् भन्ने सन्दर्भमा स्त्रीरोग विशेषज्ञ डा. अर्चना शाक्यसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले लिएको अन्तर्वार्ताको सम्पादित अंश:

    के हो महिनावारी कप ?

    यो महिलाहरु महिनावारी हुँदा पहिलाका दिनहरुमा सुतिको कपडा, प्याड, टेम्पोन हुँदै पछिल्लो पुस्ताहरुलाई लक्षित गर्दै बनाइएको महिलाहरुको यौनीभित्र राखेर प्रयोग गर्न मिल्ने सानो कप सेपमा बनेको महिनावारी कप हो । यो मूख्यगरी सिलिकनबाट बनाइएको हुन्छ । अहिले भने रबरको र डिस्पोजेबल कप पनि बजारमा आइसकेको छ ।

    हामीले प्याड हरेक ३ देखि ४ घण्टाको फरकमा परिवर्तन गर्नुपर्दछ भन्ने गरिन्छ । यस्तै, यो महिनावारी कप एकपटक राखेर प्रयोग गरेपछि कतिघण्टाको अन्तरालमा निकाल्नुपर्छ ?

    यो लगातार १२ घन्टा सम्म राख्न मिल्छ । तर अर्को कुरा रक्तश्राव कत्तिको हुन्छ भन्ने कुरामा पनि भर पर्छ । कसैलाई त यो कप भरिन २४ घण्टा लाग्न सक्छ भने कसैकसैलाई अत्यधिक रक्तश्राव हुने हुन्छ र १२ घण्टाको समय नपुग्दै भरिन पनि सक्छ । तर निरन्तर १२ घण्टासम्म प्रयोग गर्न मिल्ने गरी बनाइएको हुन्छ ।

    यसको प्रयोग अवधि कति समयको हुन्छ ?

    महिनावारी कप तपाईंले राम्ररी सफा गरेर उपयुक्त ढङ्गले प्रयोग गर्नुभयो भने १० वर्ष सम्म प्रयोग गर्न मिल्छ ।

    मूल्यको हिसाबले कत्तिको महङ्गो छ ?

    अहिले बजारमा विभिन्न प्रकारका महिनावारी कपहरु उपलब्ध छन् । यसअनुसार यसको मूल्यमा पनि असमानता आउन सक्छ । सामान्यतया ५ सयदेखि यसको मूल्य शुरु हुन्छ ।

    महिनावारी कप सम्बन्धी भ्रमहरू पनि छन् भनिन्छ । कस्ता खालका प्रतिक्रियाहरू आइरहन्छन्?

    पहिलो भनेको यो कप यौनीभित्र राखेर प्रयोग गर्नुपर्ने भएकाले यौनीभित्रै अड्किन्छ भन्ने भ्रम छ । अर्को भनेको यो कप प्रयोग गर्दा महिलाहरुको प्रजनन स्वास्थ्य अर्थात् सन्तान नहुने समस्या छ भन्ने भ्रम पनि छ, जुन विलकुल गलत हो । यसले यस्तो असर केही गर्दैन ।

    यसको प्रयोगका सन्दर्भमा स्पष्ट बनाइदिनुहोस् न ।

    कपको माथिल्लो भागलाई ‘सी’ आकारमा पट्याएर बिस्तारै योनीभित्र पठाउनुपर्छ । भित्र पसेपछि त्यो आफै खुल्छ । सही तबरले महिनावारी कप प्रयोग गर्न जानेमा बाहिरबाट देखिँदैन र रगत पनि चुहिँदैन । निकाल्नका लागि सबैभन्दा पहिला कपको तलको भागमा दुईवटा औंलाले च्यापेर बिस्तारै तल तान्नुपर्छ । तान्नेबेला जबरजस्ती गर्नुहुँदैन । यस्तो कप सकेसम्म घरमा नै निकाल्नु उपयुक्त हुन्छ । किनभने निकालेपछि राम्ररी धुने, पखाल्ने गर्नुपर्छ ।

    महिनावारी कपको प्रयोग अपेक्षाकृत जस्तो त्यति धेरै भएको पाइँदैन, तपाईंको विचारमा के कारणले पछिल्ला पुस्ता यसको प्रयोगमा हिचकिचाइरहेका छन् जस्तो लाग्छ ?

    पहिलो कुरा त महिनावारी कपबारे धेरैलाई थाहा छैन जनचेतनाको कमी छ । महिनावारीको बेला सेनिटरी प्याड वा कपडा प्रयोग गरिरहेकामध्ये अधिकांशले यस कपबारे जानकारी नै पाएका छैनन् । साथै महिनावारी कप कसरी प्रयोग गर्ने, प्रष्ट रुपमा धेरैलाई थाहा छैन ।

    कतिले महिनावारी शुरु हुनुअघि नै यसको परीक्षण गर्छन्, जब कि त्यसबेला पाठेघरको मुख कडा हुन्छ । कपलाई सजिलै लगाउन सकिँदैन । महिनावरी कपबारे धेरैजसो विश्वस्त छैनन् । उनीहरुलाई लाग्छ यो कप प्रयोग गर्दा असहज पो हुने हो कि, रगत चुहिने पो हो कि, भित्र नै अड्किने पो हो कि भन्ने लाग्छ । अर्को कुरा भनेको कति महिलाले त महिनावारी कप खरिद गरेर पनि लगाउन सकिरहेका छैनन् ।

    सही ढंगले प्रयोग नगर्दा कतिले यसबाट पूर्णलाभ लिन सकेका छैनन् । अनुपयुक्त आकारको कप बलपूर्वक लगाउँदा यौनाङ्ग दुख्ने, चिलाउने भएकाले पनि कतिपयले यस्तो कप लगाएका छैनन् । यस्तै, मुख्य कुरा किशोरीहरु यौनाङ्ग खुकुलो हुने भयले पनि कपको प्रयोग गर्दैनन् । यौनाङ्गमा कप छिराउँदा त्यसले यौनाङ्गको आकारलाई असर गर्ने डर धेरैमा छ ।

    यसका फाइदाहरु के–के छन् ?

    महिनावारी कपले यौनाङ्गमा त्यस्तो नराम्रो असर गर्दैन । यसले पटक–पटक प्याड किन्नुपर्ने झन्झटबाट मुक्ति दिन्छ भने अर्कोतिर खर्च पनि कटौती गर्छ । एक पटक किनेपछि लामो समयसम्म प्रयोग गर्न सकिन्छ । यसमा रगत भरिएपछि निकालेर खाली गर्न सकिन्छ । त्यसपछि सफा पानीले धोएर पुनः प्रयोग गर्न सकिन्छ । शौचालय जाँदा, नुहाउँदा यसलाई निकाल्नुपर्ने बाध्यता हुँदैन । महिनावारी सकिएपछि भने कपलाई सुरक्षित र उचित ढंगले राख्नुपर्छ । कप सफा गरेर उमालेको पानीमा पाँच मिनेट राख्नुपर्छ ।

    सबै महिलाहरुलाई एउटै कप हुन्छ कि फरक हुन्छ ?

    महिनावारी कप सबै एकनासको हुँदैन । यसको गुणस्तर र आकारमा पनि फरक हुन्छ । यो सानो, मध्यम र ठूलो आकारमा पाइन्छ । आफूलाई कुन सहज हुन्छ, त्यही अनुसार छनोट गर्न सकिन्छ । शुरुवातमा नरम र सानो आकारको कप प्रयोग गर्न सकिन्छ । अविवाहितले सानो अकारको प्रयोग गर्नु उपयुक्त हुन्छ भने विवाहित वा ३० वर्षभन्दा माथिकाले मझौला वा ठूलो कप प्रयोग गर्न उपयुक्त हुन्छ ।

    अन्त्यमा के सुझाव दिन चाहनुहुन्छ ?

    पछिल्लो समय प्रचलनमा आएको महिनावारी कप अर्थात् महिनावारी कपमा भने रगत छिचोलिने भय छैन । साथै यो एकपटक किने पश्चात् पटक–पटक प्रयोग गर्न सकिने भएकाले किफायती पनि छ । महिनैपिच्छे प्याड किन्नुपर्ने झण्झट पनि हुँदैन । न त संक्रमणको डर नै हुन्छ । महिनावरी कप सस्तो, दिगो र सुरक्षित छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *