नेपाल एयरलायन्सलाई चुस्त र प्रभावकारी बनाउन अध्ययन जारी छ : मन्त्री पाण्डे

नेपाल एयरलायन्सलाई चुस्त र प्रभावकारी बनाउन अध्ययन जारी छ : मन्त्री पाण्डे

काठमाडौँ, ८ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलायन्सको बारेमा बृहत अध्ययन गरिरहेको बताउनुभएको छ ।

सरकार गठनपछिका एकसय दिनमा मन्त्रालयबाट भएका प्रमुख कार्य एवम् उपलब्धिका सम्बन्धमा पर्यटन मन्त्रालयको प्रेस ब्रिफिङ गर्दै मन्त्री पाण्डेले नेपाल एयरलाइन्सलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउनका लागि मन्त्रालय प्रयास गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल एयरलाइन्सका सम्बन्धमा बृहत् अध्ययन गरिरहेका छौँ । अनौपचारिक रुपमा यसको बृहत्तर हुँदै छ । नेपाल एयरलाइन्सका सम्बन्धमा विगतमा बनेका समितिहरु, समितिले दिएका प्रतिवेदनहरु र निकालिएका निष्कर्षहरुमा देखिएका चुनौतीहरुलाई मुख्य अध्ययनको विषय बनाएका छौँ । कुनै साधारण समिति बनाएका छैनौँ । असाधारण तरिकाले हामी अध्ययन गरिरहेका छौँ । कार्यकारी अध्यक्षलाई स्पष्टीकरण पनि सोधेका थियौँ । विविध विषयहरु समेटेर स्पष्टीकरण सोधेका थियौँ र जवाफ पनि प्राप्त भइसकेको छ । हाम्रो अध्ययनको विषय उहाँको स्पष्टीकरणको जवाफ पनि हो ।’

साथै उहाँले नेपाल एयरलाइन्सलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउनको लागि कानुनी, संरचनागत कमजोरी, प्राविधिक समस्या र प्रशासनिक समस्याकोे निचोड निकालिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल एयरलाइन्सलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउन चाहन्छौँ । कानुनी कमजोरी के हो ? नीतिगत कमजोरी के हो ? संरचनागत कमजोरी र प्राविधिक समस्या के हो ? प्रशासनिक समस्या के हो ? यी सम्पूर्ण कुराको निचोडमा पुगेर नेपाल एयरलायन्सलाई सुधारेरै छाड्छौँ । यस्तै अवस्थामा रहन दिने छैनौँ ।’

राज्यमन्त्री अरुणकुमार चौधरीले टीकापुरमा हवाई उडान सञ्चालनका लागि जग्गाको व्यवस्थापन र स्थानीय सरकारसँग सहकार्यमार्फत काम अघि बढेको बताउनुभयो । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले पर्यटन क्षेत्रका लागि हवाई र सडक सुरक्षा प्रमुख हुने भएकाले त्यसको विश्वसनीयताका लागि काम गर्नुपर्ने बताउनुभयो । सम्बन्धित निकायले त्यसका लागि गम्भीरताकापूर्वक काम गर्नुपर्ने औँल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *