नीतिगत सुधार आजको भोलि नै हुने अवस्था छैन : मन्त्री भण्डारी

काठमाडौँ, ९ कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले आफ्नो मन्त्रालय नीतिगत सुधार गर्ने मन्त्रालय भएको हुनाले आजको भोलि नै सुधार हुने अवस्था नभएको बताउनुभएको छ ।

शुक्रबार मन्त्रालयले सञ्चालन गर्ने कार्यक्रमहरुको सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले विकास मन्त्रालयहरु जस्तो यति विकास भयो भनेर नीतिगत कुरामा भन्न नसक्ने भन्दै नीतिगत कुरामा समय लाग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘समस्या समाधानको बाटोमा हामी अगाडि बढेका छौ । म स्टन्ड गर्न जान्दिनँ, मैले बारम्बार के भनेको छु भने हाम्रो मन्त्रालय भनेको निर्माण विकास गर्ने, विकास मन्त्रालय होइन भएको भए यति वटा पुल बनाए भन्न हुन्थ्यो त्यो होइन, यहाँ नीतिगत कुरा हुन्छ । नीतिमा परिमार्जन गर्दै जाने, नीतिबाट आएका असरहरु समाधान गर्न पनि समय लाग्छ आजको भोलि नै हुने अवस्था छैन ।’

यसको साथै उहाँले महिला कामदारको हकमा वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि कम्तिमा १ वा २ महिना तालिमको व्यवस्था हुनुपर्ने भन्दै त्यसको लागि पनि व्यवस्था गर्न खोजिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘महिला कामदारको हकमा बाहिर रोजगारीको लागि जानुभन्दा पहिला कम्तिमा १ वा २ महिना उता गएर जे काम गर्ने हो त्यही खालको तालिमको व्यवस्था हुनुपर्छ । त्यसका लागि पनि हामीले व्यवस्था गर्न खोजिरहेका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *